काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेसनमा जोड दिइने बताउनुभएको छ । ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैले पहल गर्नुपर्ने बताउनुभयो । समग्र भन्सार प्रशासन सुदृढ बनाई राजस्वको लक्ष्य हासिल गर्न व्यवसायको यथार्थ मूल्यांकनका आधारमा करको दायरामा ल्याउन भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुनुपर्ने मन्त्री महतको भनाइ थियो ।
भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार क्षेत्रमा व्यावसायिक तथा प्रशासन इमान्दारिता आवश्यक रहेको भन्दै भन्सार प्रक्रिया अन्तर्राष्ट्रिय असल अभ्याससँग सामञ्जस्यता मिलाउन, भन्सार पूर्वाधार सुधार गर्न, पेपरलेस, फेसलेस र कन्ट्याकलेस कार्य प्रणाली अवलम्बन गर्न भन्सार विभाग तयार रहेको बताउनुभयो ।
मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भन्सार प्रशासन राजस्व संकलन गर्ने संयन्त्रमात्र नभई आन्तरिक तथा वैदेशिक व्यापार मर्यादित एवं व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यमसमेत रहेको भन्दै अन्तर्राष्ट्रिय असल अभ्यास अनुशरण गर्दै भन्सार प्रशासनमा थप सुधारमा जोड दिनुभयो । अर्थसचिव डा. कृष्णहरि पुष्करले मन्त्रालयले भन्सार प्रशासनको लगानीलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको सहकार्यमा विभागले सुधार गर्दै आएको बताउनुभयो ।
भन्सार विभागका पूर्वमहानिर्देशक टंकमणि शर्माले अन्तर्राष्ट्रिय सीमामा राज्य खडा हुने पहिलो स्थान भन्सार रहेकाले थप व्यवस्थित, नियमनसँगै सम्मानित र मर्यादित हुन आवश्यक रहेको बताउनुभयो । विभागका पूर्वमहानिर्देशक कृष्णहरि बास्कोटाले भन्सार प्रशासन निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिँदै मुलुकभित्र प्रचुर सम्भावना भएको कृषि, जलविद्युत्, पर्यटनलगायतका आन्तरिक तथा बाहृय लगानी आकर्षित गरी मुलुकलाई आर्थिकरूपमा समुन्नत तुल्याउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पनि भन्सार प्रशासनमा सुधारको आवश्यकता औँल्याउनुभएको थियो । सोही अवसरमा अर्थमन्त्री डा. महतले विद्युतीय हस्ताक्षरको शुभारम्भ, भन्सार संग्र्रहालय उद्घाटन पनि गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच