नयाँ पुस्ताका महिलाहरुका लागि प्रेरणादायी सिडियो सुनिता नेपाल

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 11 mins

स्याङ्जा । सुनिता नेपाल बस्याल हाल स्याङ्जा जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । उहाँ आफ्नै बलबुता र सङ्घर्षले सहसचिवसम्म भइसक्नुभएको छ । उहाँको जीवनका सङ्घर्ष र उपलब्धिहरु नयाँ पुस्ताका महिलाहरुका लागि उपयोगी बन्न सक्छन् ।

काठमाडौंमा जन्मनुभएकी नेपालका ४ दिदीबहिनी थिए । ठुली दिदीले एसएलसी सक्नेबित्तिकै आफ्नै एसएलसीकै विद्यार्थीलाई ट्युसन पढाउनुहुन्थ्यो । दिदीको त्यो क्षमता देखेर बहिनी सुनितालाई पनि पढाउने रहर जाग्यो । त्यही रहरले उहाँलाई शिक्षक बनायो । अन्य दिदीबहिनीजस्तै उहाँ पनि एसएलसी पास गर्ने बित्तिकै पढ्दै पढाउँदै गर्नुभयो । पछि एमबिए पास गरेर पनि पढाउनुभयो । नर्सरीदेखि १० सम्म पढाउनुभयो भने निजी विद्यालयमा लेखा र व्यवस्थापनको काम समेत गर्नुभयो ।

यसरी उहाँले आफै कमाएर पढ्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, ‘हामी कुनै पनि दिदीबहिनीले एसएलसी पास गरेपछि घरबाट पैसा मागेर पढेनौं । दिदीबाट सिकेर होला मलाई पनि आफ्नै खुट्टामा उभिएर अगाडि बढ्ने प्रेरणा जागेको थियो ।’ यसैका कारण करिब ८ वर्ष उहाँले विभिन्न विद्यालयमा पढाउनुभयो ।

उहाँले विद्यार्थी हुँदा हिउँदे छुट्टीमा कक्षा पास भएपछि प्रयोग भएका किताब कापीबाट माडको प्रयोग गरि कागजको झोला बनाई पकेट खर्चको जोहो पनि गर्नुभयो । उहाँमा सानैदेखि काम ठुलो सानो हुँदैन र स्वाभिमानी बन्न आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने विचार रहेको पाइन्छ ।

काठमाडौंमा जन्मेकी सुनिताका साथीहरु पनि सहरी परिवेशकै थिए । उनीहरु सरकारी जागिरमा खासै रुचि राख्दैनथे न जानकारी नै राख्थे । नेपाल पनि त्यस्तै हुनुहुन्थ्यो । उहाँको परिवारमा कसैले पनि सरकारी जागिर खानुभएको थिएन ।

उहाँका बुबा क्षयरोग निवारण संस्थाका कर्मचारी हुनुहुन्थ्यो । जागिरका सिलसिलामा उहाँ पनि बुबासँग विभिन्न जिल्ला पुग्नुभयो । उहाँले बुबाले काम गरेको देख्नुभयो । यसले उहाँलाई जागिरको महत्व थाहा भयो ।

स्टाफ कलेजमा पढ्दै र गर्दा स्कुल पढाउँदै गर्दा एक पटक महिला मन्त्रालय र युएनडिपीको आयोजनामा ९ दिने तालिमको आयोजना भएको थाहा भयो । त्यो तालिममा उहाँलाई सहभागी हुने अवसर मिल्यो । तालिम कस्तो हो भन्ने थाहा नभईकन साथीको सङ्गतमा लागेर तालिममा गए पनि पछि लोकसेवाका जाँचमा आउने प्रश्नहरु सम्बन्धी जानकारी दिने तालिम रहेछ भन्ने थाहा भयो । त्यो एक प्रकारको ब्रिज कोर्स थियो । त्यो ९ दिने तालिमले उनको जीवनमा सरकारी जागिरको ढोका खोलिदिएको थियो ।

उहाँले स्कुल पढाउँदै हुनुहुन्थ्यो । प्राइभेट स्कुलमा बिदा मिल्दैनथ्यो । यसै क्रममा स्टाफ कलेजमा २१ दिनको लोकसेवा आयोगकै तालिम खुल्यो । इन्ट्रान्स पास भएकाहरुलाई यो तालिमको अवसर मिलेको थियो । यो तालिमपछि उहाँले लोकसेवा आयोगको परीक्षा दिनुभयो । सौभाग्यले पहिलो पटक २०६१ सालमा खुलाबाट उहाँले शाखा अधिकृत पदमा नाम निकाल्दै सरकारी जागिरको प्रारम्भ गर्नुभयो ।

२०६२ सालमा सामान्य प्रशासन मन्त्रालय काठमाडौंमा जागिरको सुरुवात गरेकी नेपालले जागिर खाएर आफ्ना खुट्टामा उभिएपछि मात्र विवाह गर्नुभयो । जागिर खाएर वा स्वरोजगार भएर मात्र विवाह गर्नुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘घरेलु हिंसाको मूल कारण नै महिलाहरुको परनिर्भरता हो । महिलाले आफै कमाउने नभएसम्म घरेलु हिंसा रोकिन्न ।’ त्यसैले उहाँ नयाँ पुस्ताका युवतीलाई २० वर्ष पछि सबै कुराले परिपक्व भएपछि मात्र विवाह गर्न सल्लाह दिनुहुन्छ ।

महिला सिडियोसँग महिलाहरुले धेरै कुरा खोल्दा रहेछन् । महिलाहरुलाई आरक्षण होइन अवसरको खाँचो छ । महिला नेतृत्वमा आउन परिवारको सपोर्ट चाहिन्छ । महिला सिडियो भएर काम गर्दा पुरुष साथीहरुबाट नराम्रो व्यवहारको सामना गर्नुपरेको छैन ।

जागिरको सिलसिलामा उहाँले शाखा अधिकृत भएको ९ वर्षपछि वि.सं. २०७० सालमा खुलाबाट उपसचिवमा नाम निकाल्नुभयो । २०७७ सालमा आन्तरिक परीक्षाबाट सहसचिव हुनुभयो । अन्तर्मुखी स्वभावकी नेपालले धेरै समय काठमाडौंमा नै जागिर खानुभयो। जागिरमा अधिकांश समय उहाँ राजधानीमा त्यो पनि महिला मन्त्रालयमा बस्नुभयो । कम बोल्ने र आफ्ना कुरा अरुलाई ’एक्सपोज’ नगर्ने अन्तरमुखी स्वभावकी नेपाल महिला मन्त्रालयमा जागिर खाएर विभिन्न कार्यक्रम लिएर जिल्लाहरुमा जान थालेपछि बिस्तारै ‘एक्सपोज’ हुन थाल्नुभयो । यसबाट उहाँको बोल्ने र नेतृत्व लिने क्षमता विकसित बन्दै गयो ।

फिल्डहरूमा सिकेको त्यही नेतृत्व कला पहिलो पटक सिडियो भएर प्युठान जाँदा काम लाग्यो । जागिर र अनुभवले पाको भइसकेकी नेपालले २०७९ मा प्रमुख जिल्ला अधिकारी भएर प्युठानको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुभयो । करिब १० महिना त्यहाँ प्रजिअ भएर काम गरेपछि उहाँ सिन्धुली जिल्लामा प्रजिअ हुनुभयो । त्यहाँ पनि साढे १० महिना काम गरेर हाल स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्छ ।

पुरूषको तुलनामा महिलालाई जागिर खान गाह्रो हुने तर परिवारको साथ भएमा भने सहज हुने उहाँको विचार छ । उहाँ भन्नुहुन्छ, ‘म परिवारको सपोर्ट नभएको भए यहाँसम्म आउन सक्थिन ।’ पुरुषलाई भन्दा महिलालाई जागिर खान कठिनाइ भएको उहाँको अनुभव छ । बच्चाबच्ची आमाबुबा श्रीमान् इष्टमित्रका अपेक्षा र पारिवारिक दायित्वबोधले धेरै महिलाहरु क्षमता भएर पनि अगाडि बढ्न नसकेको देख्दा उहाँको मन अमिलो हुन्छ ।

छोराछोरीलाई बराबर अवसर दिन सके छोरीले पनि छोरा सरह सबै जिम्मेवारी वहन गर्न सक्छन् । महिला प्रमुख जिल्ला अधिकारी हुँदा कतिपय पुरुषहरुलाई बोल्न व्यवहार गर्न असहजता भएको हुन सक्ने भए तापनि महिला दिदीबहिनीहरु भने निकै खुसी भएको उहाँको ठम्याइ छ । स्याङ्जा आएपछि उहाँलाई थुप्रै महिला दिदीबहिनीहरू आफ्नो जिल्लामा महिला सिडियो आउँदा गर्व लागेको भन्दै भेट्न आउनुभयो । ‘उहाँहरू आएर खुसीले अङ्कमाल गर्नुभयो । आत्मीयता प्रस्तुत गर्नुभयो । यसले मलाई धेरै उत्प्रेरित गर्यो ।’

आफूले कानुन अनुसार काम गर्ने भएकाले कसैले अनुचित काममा हालसम्म प्रेसर नदिएको उहाँको भनाइ छ । ‘व्यावहारिक हिसाबले जति सकिन्छ त्यति सहजता गर्ने कुरा हुन्छ तर नियम र प्रक्रियालाई छोड्न मिल्दैन ।’आफूले महिला मन्त्रालयमा हुँदा फिल्डमा कार्यक्रम लिएर जाँदा महिला, बालबालिका तथा अपाङ्गहरुका समस्यालाई नजिकबाट देख्ने बुझ्ने अवसर प्राप्त गरेको उहाँको भनाइ छ । उहाँमा भविष्यमा ज्येष्ठ नागरिक महिला, बालबालिका तथा अपाङ्गहरुका क्षेत्रमा अझै महत्वपूर्ण काम गर्ने इच्छा छ ।

महिला सिडियोसँग महिलाहरुले धेरै कुरा खोल्दा रहेछन् । महिलाहरुलाई आरक्षण होइन अवसरको खाँचो छ । महिला नेतृत्वमा आउन परिवारको सपोर्ट चाहिन्छ । महिला सिडियो भएर काम गर्दा पुरुष साथीहरुबाट नराम्रो व्यवहारको सामना गर्नुपरेको छैन । ‘पुरुष वा महिला जोसुकै भए पनि सिडियो पद हो । यसको कुनै जेन्डर हुँदैन ।

हाल स्याङ्जा जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर स्याङ्जा आउनुभएकी सुनिता नेपालले यसभन्दा अगाडि प्युठान र सिन्धुली जिल्लामा प्रजिअ भएर अनुभव हासिल गरिसक्नुभएको छ । घरको कामकाज र पितृसत्तात्मक समाजका दायित्वहरूले महिलाहरू पीडित भइरेहका बेलामा प्रजिअ नेपालको सङ्घर्ष र कथा प्रेरणादायी बन्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?