सुरुवालको इँजार घुँडामुनि पुग्यो

प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 16 mins

डा.शर्मा-हेलो, हजुर भन्नुस् डा.साहेब,
नमस्कार, आराम हो ?
के के-हजुर, आजसम्म आरामै छु । त्यता पनि त सबै सकुशलै हुनुहोला । अनि, आज धेरै दिनपछि टेलिफुनको कान निमोठ्नु भयो नि सर ? यसपटक पानी परेन, लेकाली, मध्यपहाडी र समथरवासी तीनवटै भूप्रदेशका सर्वसाधारणका जीवनचक्रलाई नै बदल्ने अभियानमा प्रकृति लागेको जस्तो पो देखियो ! हामीले प्रकृतिलाई नास गर्‍यौँ अब प्रकृतिले हाम्रो जिउने अवस्थामाथि नै हमला गरिदियो । वन मासिएपछि वनका जीव गाउँमा पस्छन् ।

ती निहत्त्ता छन् । मान्छे सशस्त्र नै नभए पनि उसका हातमा खुकुरी भाला, अगुल्टा चिर्पट भाटा, घोचाघारा त छन् अनि नास त विचरा तिनै वासस्थान खोसिनेमा परेका वन्यजन्तुकै नास त हो । ‘व्याघ्रं नैव गजं नैव हस्तिं नैव च नैव च, अजापुत्रो बलिर्दद्यात् देवोदुर्बलघातकः’ । मारिने, मासिने र दुःख पाउने निर्बल गरिबले मात्रै हो । हाम्रा राजनीतिक आन्दोलनमा पनि त बाबुराम, प्रचण्ड त मारिएनन् होइन र ?

डा.शर्मा-हो सर, एउटाले बिरायो शाखा पिरायो भयो विश्वमा नै । शक्ति उद्योगी राष्ट्रले आणविक भट्टी चलाएर ओजोन तह बिगारे । आफ्नो कुटोकोदालो गरेर प्रकृतिका कृपाको जीवन जिएका हाम्राजस्ता देशका मान्छे तिनले मझेरीमा लाजै नमानी उत्सर्जन गरेका मलका दुर्गन्धमा बस्नुपरेको छ । कतै बेमौसमी वर्षा र बाढी, कतै खडेरी खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टि । आजको विश्व यस्तै अनेकौंं अवस्था खेप्न विवश भएको देखिन्छ । हामीले के बिगारेका थियौँ र ? जड प्रकृति भनेर हाम्रा पुर्खाले भनेको ठीक रहेछ । जडले दोष र निर्दोष छुट्याउँदैन सर्वत्र एकनासको व्यवहार गर्दछ ।

त्यस चक्रमा जो जो लपेटिए पनि उसलाई केही फरक पर्दैन । मान्छेका निमित्त पहिलो आवश्यकता बाँच्नु, बाँचेपछि मात्रै अरू कुरा उसलाई आवश्यक पर्छ । हाम्रा देशमा त सर्वसाधारणको बाँच्न पाउने अधिकार पनि हाम्रो सरकारले खोस्न लागेको देखिन्छ हो, के के साहेब । यस्तै हो सर, चक्रवत् परिवर्तन्ते दुःखानि च सुखानि च । धेरै पहिले हामी सुखी थियौँ उनीहरू दुःखी थिए । अहिले परिस्थिति उल्टिएको छ फेरि कुन दिन उल्टन्छ ।

विश्वविद्यालयका कक्षाकोठा खाली छन् । देशका प्राज्ञिक संस्थालाई जातजाति र दलका कार्यकर्ता भर्तीकेन्द्र बनाइएको छ । विधासाधनामा लागेर देशलाई, सभ्यतालाई चिन्तन, लेखन र प्रवचन आदिका माध्यमले महत्वपूर्ण योगदान दिएका व्यक्ति आउनुपर्ने ठाउँ जातजातिका र दलदलका भागबण्डाले ध्वस्त गरेको कसले देख्यो ?

के के-डा.साहेब, प्रकृतिलाई जोगाउने नारा दिन सकिन्छ तर विश्वका शक्त्यिुन्मत्त राष्ट्र सञ्चालकहरूलाई ब्युँझाउन सकिँदैन । यी उन्मादी न अस्ति ब्युँझे नि हिजो न आज ब्युँझलान् । तपाईं हामीले सारा आफ्ना वसन्त लगाएर हुर्काएका राजनीतिक दल आज के गर्दैछन् ? तपाईं हिजो देशमा प्रजातन्त्र नहुँदा जसरी जेल, नेल भोगेर आफ्ना पढाइ लेखाइसँगसँगै देशको पनि चिन्ता गर्नुहुन्थ्यो, सलग्नता प्रदर्शन गर्नुभयो तर आज तपाईंले अबलम्बन गरेको पेशा, व्यवसायलाई यिनले चुस्तदुरुस्त र न्याययुक्त बनाए त ?

आज लोकसेवा आयोग कहिलेदेखि बन्द छ ? विश्वविद्यालयमा बेलाबेलामा विज्ञापन भएर योग्य सक्षम प्राध्यापक आएका छन् ? विश्वविद्यालयका कक्षाकोठामा । मैले विगत २५ वर्षदेखि करारमा रहेको मान्छे अब करारबाटै ६३ पुगेर विश्वविद्यालयबाट निक्लँदै गरेको एकजना साथी भेटेँ । भएका विज्ञानपनबाट पनि पर्याप्त योग्य उम्मेदवार नभएको पनि देखियो ? हामी कस्तो शिक्षा दिँदै छौं ? शिक्षाक्षेत्रमा रहेको विसंगत प्रथा हेर्नुस् । सरकार एकातिर माध्यमिक तहसम्म निःशुल्क गर्ने भनेर घाँटीका नसा फुलाएर बोल्छ तर सहरका गल्लीगल्लीमा चारजना बस्ने खालका घरघरमा प्राइभेट विद्यालय खुलेर २००-५०० सम्मको विद्यार्थी संख्या कोचिएका छन् ।

चर्को शुल्कका भारले अभिभावक थिचिएका छन् । नेपाली भाषा बोल्यो भनेर छात्रछात्रालाई चहुरमा कुखुरा बनाएर घण्टौं ठिंग्याइन्छ । यो बेइमानीतिर कसैको ध्यान गएको छ ? एक लाखभन्दा बढी उच्च शिक्षाका लागि विद्यार्थी बाहिर गएका छन् । हाम्रा विश्वविद्यालयका कक्षा कोठा खाली छन् । यसको चिन्तन गर्ने कसले ? देशका प्राज्ञिक संस्थालाई जातजाति र दलका कार्यकर्ता भर्तीकेन्द्र बनाइएको छ । विधासाधनामा लागेर देशलाई, सभ्यतालाई नै चिन्तन, लेखन र प्रवचन आदिका माध्यमले महत्वपूर्ण योगदान दिएका व्यक्ति आउनुपर्ने ठाउँ जातजातिका र दलदलका भागबण्डाले ध्वस्त गरेको कसले देख्यो ? यसरी मुलुक कतिन्जेल धानिने ? भन्नुहोस् त ?

डा.शर्मा-के के सर ? तपाईंले भनेका कुरालगायत जे जति पनि समस्या आज मुलुकले, जनताले भोगेका, व्यहोरेका छन् तिनलाई हेर्दा त व्यवस्था नै असफल भएको हो ? व्यवस्था नै अनुपयुक्त हुँदा हुने अभिलक्षण देखिएका छन् । संसद् भवन अगाडि एउटा व्यवसायी आत्मदाह गर्छ, देश लजाउँदैन, शायद भित्र दुःखेको पनि छ कि छैन ? किनभने प्रधानमन्त्रीदेखि कसैले ऐया भनेको सुनिएन । यातायात मजदुर भड्किएर प्रहरी भ्यान जलाउँछन् ।

प्रहरी रमिते बन्छ र एकजना वृद्धको मृत्यु प्रहरी परिसरभित्रै हुन्छ । राजनीतिक दाउपेचमा जति रोमाञ्चक खेल खेलिन्छ, त्यसका तुलनामा काहीँ कतै त्यस्ता कारागार काम भएको देखिँदैन । लाग्छ मुलुक र मुलुकवासी नै चेतनाविहीन भए । सुनका कोपारामा भात खान पनि तयार त हुँदैनन् ? सुनका डोरीले झुण्ड्याएर तिमीलाई मार्ने र त्यो सुनको डोरी चाहिँ तिम्रै परिवारलाई दिने भनेर घोषणा गरे कति जना लाम लाग्थे होला ? मन्त्री बनेर यो संविधानको नाममा शपथ खाएर यसका विरुद्ध संसद्भित्रै बोल्नेजस्ता विचारविहीन काम भएका पनि देखिन्छन् ।

एउटा छापामार विद्रोही सम्झौता गरेर सत्तामा आउँछ र कत्लेआम निरीह जनता मार्ने काम प्रारम्भ गरेका दिनलाई जनविद्रोह दिवस भनेर बिदा दिइन्छ । अदालतले दोषी करार गरेर जेल तोकेको व्यक्ति जेलै नबसी भागी-भागी आएर पक्राउ परेपछि राम्रो आचरण भनेर राष्ट्राध्यक्षले आममाफी दिएका खबरले नेपाली जाति नै लज्जित भएको छैन र ? यी क्रियाकलापलाई हेर्दा देशकै मनमस्तिष्क असन्तुलित त भएको छैन भन्ने खालको प्रश्न उठ्दैन र ? आफ्नो हात जगन्नाथ गर्न मिल्ने नमिल्ने के हो ? कतै काहीँ विचार विमर्श हुँदैन ।

बहुदलीय व्यवस्था ल्याउन जुन-जुन दलले भूमिका खेले तिनले लाएका सुरुवालको इँजार खुस्केर घुँडामुनि झर्दा पनि होस् आएको देखिँदैन । प्रजातन्त्रको मखुण्डो लाएर सर्वसत्तावादको अभ्यास गरिँदै छभन्दा पनि कानमा बतास लाग्दैन । देशभरि भएका भेडा, बाख्रा, बिराला, स्याल, चितुवा, सर्प, गँगटा, बिच्छीहरू एकै भवनमा बस्न आएका छन् । बाख्रा र बाघलाई जोडी बाँधेर यात्रा गर्ने उद्योगमा देशले कसरी गति पाउला ? भर्खरै सम्पन्न भएको आमनिर्वाचन सर्वथाविपरीत चरित्रका बीचको लगनगाँठो थिएन र ?

के के-डा.साहेब, देशको चिन्ता, मूल्यको चिन्ता, पद्धतिको चिन्ता, संस्कार संस्कृति र नैतिक अनैतिकताको चिन्ताको युग नै होइन यो युग जुन युगमा तपाईं र म बाँचेका छौं । ‘अयं तु युगधर्मो हि वर्तते कस्यदूषणम्’ ? यो त युगकै धर्म हो, तपाईं कसरी त्यसबाट बाँच्न सक्नुहुन्छ डा.साहेब ! यो मान्छे मारेर जेल भोग्दा पनि प्रजातन्त्रका लागि जेल गएको भनेर जनता ढाँट्ने युग हो । जीवनमा नराम्रा मात्रै काम गरेर पनि सातपटक प्रधानमन्त्री बन्छ यो मान्छे भनेर घोषण गराउने युग हो ।

यो मोहनचन्द्र अधिकारीको युग हो, यो राजेन्द्र लिङ्देन, रवि लामिछाने, प्रचण्ड र अग्नि सापकोटा या रोशनीरमणको युग हो । मान्छे काट्ने अनि रामनामी ओढेर आश्रममा बस्ने । यो युगका मान्छे कालनेमि चरित्रका हुन्छन् । तपाईं हामीले प्राचीन पद्धतिको शिक्षा लियौँ त्यसैले हामी धेरै दुख्छौँ । अहिलेको पुस्ता त्यति दुःखेको छैन । अहिलेको पुस्ता दुख्नथाल्यो भने नो, नट, अगेन तत्काल सुरु हुनसक्छ । अनि भने बाली पकाउने, खेप गन्ने र मान्छे काटेर प्रजातन्त्र ल्याउन जेल गएको थिएँ भनेर गुड्डी हाँक्नेका दिन जान पनि सक्छन् है ।

हिजो राजा छउन्जेल कत्रा-कत्रा आन्दोलन भए ? तिनलाई पञ्च र राजा मिलेर जसरी पदचापमा दबाएका थिए, आज सर्वस्वार्थवादीहरू मिलेर त्यसैगरी तपाईंहाम्रा छट्पटीलाई पैतालामुनि राखिदिन्छन् । ‘सहु सहु सहु बाबु सहनै नसके पनि’ बालकृष्ण समले आफ्नो नाट्यको पात्रलाई बोलाएका छन् ।

हिजो राजा छउन्जेल कत्रा कत्रा आन्दोलन भए ? तिनलाई पञ्च र राजा मिलेर जसरी पदचापमा दबाएका थिए, आज सर्वस्वार्थवादीहरू मिलेर त्यसैगरी तपाईं हाम्रा छट्पटीलाई पैतालामुनि राखिदिन्छन् । ‘सहु सहु सहु बाबु सहनै नसके पनि’ भनेर बालकृष्ण समले आफ्नो नाट्यको पात्रलाई बोलाएका छन् । यसले त्यो बेलाका युगको देशविदेशको मानवीय सभ्यता, संस्कृति र प्रचलित सहष्णिुता र संक्रमित हुँदै गरेको असहिष्णु प्रवृत्तिको चित्रण गरेको थियो । तपाईं हाम्रा आदर्श गान्धी, बीपी थिए । दुजाङ सेर्पाको आदर्श को हो ? तिम्रो चरित्रनायक को हो भनेर कहिल्यै हामीले सोधेका छौं ?
दुजाङलाई जसले यो हैसियतमा ल्यायो उसको आदर्श त्यही होला भनेर अनुमान लगाउनसम्म सकिएला । पृथ्वी सुब्बा गुरुङ आफैंमा असल मान्छे छन् तर उनको चरित्रनायक त भात खान लागेको मान्छे कटुवा नै हुन् नि त । अरुन चौधरी सांसद बन्न आउँदै छन् । रेशम नआउलान् भनेर कसरी भन्न सक्नुहुन्छ डा.साहेब तपाईं ? यसपटक कांगे्रसका तालुमा आलु फलेर शेरबहादुरजी राष्ट्रपति बन्नुभयो भने आघौं या पराघौंतिर अफ्ताव आलम पनि तपाईं हाम्रा चरित्रनायक बन्दैनन् भन्न सकिएला र ? जीवनभरि टेबुलमुनिबाट भनेर गनेर बनेका अख्तियारमा, संसदमा, न्याय दिने ठाउँमा पुर्‍याउन थालिएको छँदैछ ।

अब यसमा अझै वृद्धि भयो भने हामी किन दुख्ने यार । ‘सम्मिलने नयनयोर्नहि किञ्चिदस्ति’ । आँखा चिम्लनोस् केही देखिँदैन । जसरी हाम्रा चरित्रनायकले पैसा, सुन, आफन्त, स्वास्नी, सालासाली, आफ्नो पिछलग्गुको गुटलाई देखेर सबै बिर्सने अभ्यास गरे । हामी पनि त्यसै गरौं । काना देशमा पुगे आँखो चिम्लँनु, खोराण्डाका देशमा पुगे खुट्टो खोच्याउनु भनेर हाम्रा पुर्खाले पनि त भनेका थिए । आँ गर्‍यो अलंकार बुझ्यो कि कसो हो ?

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
devibhakta dhakal
devibhakta dhakal
2023-02-22 10:58 am

एउटा छापामार विद्रोही सम्झौता गरेर सत्तामा आउँछ र कत्लेआम निरीह जनता मार्ने काम प्रारम्भ गरेका दिनलाई जनविद्रोह दिवस भनेर बिदा दिइन्छ । अदालतले दोषी करार गरेर जेल तोकेको व्यक्ति जेलै नबसी भागी-भागी आएर पक्राउ परेपछि राम्रो आचरण भनेर राष्ट्राध्यक्षले आममाफी दिएका खबरले नेपाली जाति नै लज्जित भएको छैन र ? यी क्रियाकलापलाई हेर्दा देशकै मनमस्तिष्क असन्तुलित त भएको छैन भन्ने खालको प्रश्न उठ्दैन र ? आफ्नो हात जगन्नाथ गर्न मिल्ने नमिल्ने के हो?
लेख लेख्न विषयवस्तु नयाँ खोज्न पर्दैन आफैभित्रै छ भन्ने शिक्षा प्राप्त गरेको अनुभूति दिने लेखकलाई बधाई छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?