अमेरिकाप्रति गरम र चीनप्रति नरम माधव नेपाल एमसीसीमा किन मौन ?

चिन्तन क्षेत्री
Read Time = 7 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न सहभागी भएको एक राजनीतिक दलका नेतृत्वकर्ता हुनुहुन्छ ।

सुरुमा खुलेरै विरोध गरेपछि व्याख्यात्मक टिप्पणीको नाममा जनतालाई उल्लु बनाउन सफल हुलमा मिसिएर नेपाल नेतृत्वका दल नेकपा एसका सांसदहरूले एमसीसी पारित गराउन भूमिका खेलेको थिए । उनै नेपाल अहिले अमेरिकासँग निकै गरम देखिएका छन् । उहाँले भारतलाई साथमा लिएर अमेरिकाले चीनलाई घेर्न लागेको समेत भन्न भ्याउनुभएको छ ।

पार्टीको केन्द्रीय परिषद् बैठकमा अध्यक्ष नेपालले चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले हिन्द प्रशान्त क्षेत्र रणनीति अख्तियार गरेको भन्दै उहाँले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । अमेरिकाले भारत तथा अन्य क्षेत्रीय शक्तिसँग चीन लक्षित बलियो गठबन्धन गर्ने उद्देश्य लिएको उहाँको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘भारत तथा फिलिपिन्ससँग अलग-अलग सैन्य सहयोगको सम्झौता गरेको छ । भारत र अमेरिकाबीच सैन्य, प्रविधि व्यापार र आप्रवासनसँग सम्बन्धित विषयहरूमा गम्भीर प्रकृतिका सम्झौता भएका छन् । यसले भारत र अमेरिकाबीचको सम्बन्ध मात्र होइन एसिया प्रशान्त क्षेत्र र सिंगो विश्व राजनीतिमा विभिन्न समस्या पैदा गर्ने सम्भावना छ ।’

अमेरिकाप्रति चरम कडा रुपमा प्रस्तुत भएका नेपाल एमसीसीका बारेमा किन मौन रहनुभयो ? यसको जवाफ भने उहाँले नै दिनुहोला ।

उहाँको हमला अमेरिकामाथि मात्रै छैन रुस युक्रेन युद्धदेखि नेटोको विषयमा छ । साम्राज्यवादीहरुले नाटोका सदस्य राष्ट्रको संख्या वृद्धि गर्दै आफ्नो सामरिक क्षमता बढाउन उद्धत भएको उहाँको भनाई छ ।

उहाँले प्रतिवेदनमा भन्नुभएको छ, ‘त्यति मात्र होइन, युक्रेन-रुस मामलामा पश्चिमाहरूको नेतृत्वमा रहेको नेटोमार्फत हस्तक्षेप बढ्दै जाँदा स्थिति झनै गम्भीर बन्दै गइरहेको छ । साथै विश्व शक्ति सन्तुलनमा हलचल आउने, विश्व शान्ति र आर्थिक विकासमा बाधा पुग्न जाने देखिन्छ ।’
उहाँले इजरायलले हमासको हमलाको प्रतिक्रियामा गाजामा गरेको बमबारी गरेको विषयमा पनि आफ्नो प्रतिक्रिया जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘दक्षिण अफ्रिका, इण्डोनेशियालगायतले युद्ध र नरसंहारका विरुद्ध उठाइरहेका कदमहरूलाई हाम्रो पार्टी समर्थन गर्दछ । यसमा अमेरिका र युरोपियनहरुले गरेको भूमिका निन्दनीय छ ।’

प्रज्ञा भवनमा दुई दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो दस्ताबेज प्रस्तुत गर्नुका साथै विधान संशोधनको प्रक्रिया पनि थालनी भएको छ । संशोधन विषयसहित पार्टी नेताहरू समूहगत छलफलमा जुटेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दल समेत बन्न नसकेको नेकपा एस नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बुई चढेर सरकारमा छ । राष्ट्रियसभामा पनि केही सिट थप गर्न सफल भएको छ ।

राप्रपासँगको गठबन्धनबाट एमाले शून्य हुनबाट जोगिएको बताउने नेकपा एसका अध्यक्ष नेपालले आफ्नो अस्तित्व कसरी रह्यो भन्ने बिर्सिनुभएको भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूलाई अलग गर्न एमालेले विभिन्न हरकत गरिरहेको उहाँको आरोप छ । एमालेको सो कदमलाई राष्ट्रियसभा निर्वाचनमा कोशीले परिणामले पुष्टि गरेको उहाँले बताउनुभयो । तर राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभएको छ, ‘नेकपा (एमाले) ले गठबन्धनमा रहेका दलहरूसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको थियो । राष्ट्रियसभाको उक्त निर्वाचनमा गठबन्धनसँग सहकार्यका लागि एमालेले वार्ता, छलफल र संवाद गरे पनि सहमति हुन सकेन । सत्ता गठबन्धनका दलहरू एकजुट भएर उभिन पुगेपछि नेकपा (एमाले) को प्रयत्न असफल भयो ।’

अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा अहिले समाजवादी पार्टीहरुबीच एकताको आवश्यकता रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खलबल्याउन र देशलाई प्रतिगमनको दिशातर्फ धकेल्न भइरहेको षडयन्त्रलाई परास्त गर्नुपर्ने उहाँको भनाई छ ।

प्रतिवेदनमा भनिएको छ, ‘यति वेला मुलुकमा राजनीतिक स्थिरता र सरकारको स्थिरताको प्रश्न पनि उठिरहेको छ । यसको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणतन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमनकारी, अग्रगामी र पश्चगामी, संघीयता पक्षधर र संघीयताविरोधी, धर्म निरपेक्षतावादी र धर्मसापेक्षतावादी आदि विभिन्न चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् । यी शक्तिहरूबीच अनेक प्रकारले द्वन्द्व चलिरहेको छ । यसरी चलिरहेको द्वन्द्वले गर्दा मुलुकमा राजनीतिक अस्थिरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?