सिटिजन्सको स्थिर ब्याजदर होमलोन योजना सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । 'सपनाको घरलाई दिनुस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेशलले १०.९९ प्रतिशत स्थिर ब्याजदरमा नयाँ होमलोन योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत पाँच करोडसम्म कर्जा लिन सकिने र कर्जा २५ वर्षमा भुक्तानी गर्नुपर्ने बै‌कले जानकारी दिएकाे छ । समान मासिक किस्ताबन्दीमा तिर्न सकिने कर्जामा धितो सुरक्षण मूल्यको अधिकतम ५० प्रतिशतसम्म कर्जा लिन सकिने पनि बैंकले जनाएको छ ।

बैंकले कर्पोरेट लोनभन्दा रिटेल लोनलाई प्राथमिकतामा राखेर होमलोन योजना ल्याएको हाे । मानिसका लागि अत्यावश्यक मानिएको घरसँग उसको सेन्टिमेन्ट जोडिने भएकोले पनि हरेक मानिससँग बैंक जोडिन नयाँ होमलोन योजना ल्याएको बैंकले जनाएको छ ।

घर कर्जामा प्रवाह भएको रकम अर्थतन्त्रको सानो सानो इकाईसम्म पुग्ने र देशको समग्र अर्थतन्त्र चलायमान बनाउन पनि सघाउने भएकोले घर कर्जामा जोड दिइएको बैंकको भनाइ छ । बैंकका अनुसार एउटा व्यक्तिले घर बनाउन लिएको कर्जा ढुंगा, ईँटा, सिमेन्ट, छड, रंगरोगन, बिद्युतदेखि कामदारसम्म पुग्छ । यसरी पैसा सबैतिर छरिँदा अर्थतन्त्र सकारात्मक प्रभाव पर्छ ।

याे याेजना अन्तर्गत नियमित आयस्रोत भएका नोकरी वा स्वरोजगार नेपाली नागरिक यस्तो कर्जा योजनामा सहभागी हुन सक्नेछन् । स्वरोजगारका हकमा, व्यापार/व्यवसाय कम्तिमा दुइ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने बै‌कले जनाएकाे छ । ऋणीले धितो राख्ने घर/जग्गा मोटर बाटोको पहुँचमा हुुनुपर्ने छ भने आवेदकको न्यूनतम उमेर १८ वर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ वर्ष ननाँघेको हुनुपर्नेछ । साथै आवेदक वा निजको संगाेलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने बै‌कले जनाएकाे छ ।

कुनै ग्राहकले डेढ करोड रुपैयाँ घर कर्जा लिएको छ र त्यस्तोे कर्जा सातवर्षे अवधिको हो भने हरेक महिना दुई लाख ५७ हजार ईएमआई (किस्ता) तिर्नुपर्ने हुन्छ । सात वर्षभन्दा बढी अवधिको कर्जा भएमा कर्जाको ईएमआई कम हुन्छ । तर कुनै पनि ग्राहकले कर्जा लिँदा लामो अवधिको कर्जा लिनुभन्दा छोटो अवधिको लिँदा ग्राहकलाई फाइदा हुने बैंकले जनाएको छ । होमलोन अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड डेविट कार्ड, पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत छुट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?