![सरकारी जग्गामा चौधरी ग्रुपको रजाइँ](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Jagga-Hinamina-Case-of-Bansbari-Challa-Shoe-Factory.jpg)
काठमाडौं । सत्तारूढ गठबन्धनकै नेताहरूले सरकार परिवर्तनको चर्चा गर्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष एक महिनापछि सत्तारूढ दलकै जिम्मेवार नेताहरूले एक्कासि सरकार फेरबदलको चर्चा गर्न थालेका हुन् । गठबन्धनमा भएको भनिएको पूर्व-सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डको कार्यकाल अझै १० महिना बढी बाँकी छ । गत फागुनमा नेपाली कांग्रेस र माओवादी लगायतका दलहरूबीच सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको भनिएको थियो । तर, प्रचण्डको कार्यकाल बाँकी छँदै नेताहरूले सरकार फेरबदल गर्ने सार्वजनिक भाषणबाजी गर्न थालेका हुन् । प्रमुख सत्ताघटक कांग्रेसकै संस्थापन पक्षका नेताहरूले प्रचण्ड सरकार फेर्नुपर्ने आवाज उठाउन थालेका छन् । संस्थापनइतर समूहका नेताहरूले यसअघि नै सरकार फेरबदलबारे आवाज उठाउँदै आएका थिए ।
कांग्रेस नेता शशांक कोइरालाले प्रचण्ड सरकार असफल भएको दाबी गर्नुभयो । सरकारको काम गराईबाट कोही पनि सन्तुष्ट नरहेको भन्दै कोइरालाले अब कुनै ढिलो नगरी सरकार परिवर्तन गर्नुपर्ने बताउनुभयो । यसअघि कांग्रेसकै नेता विमलेन्द्र निधिले पनि सरकार परिवर्तनको कुरा उठाउनुभएको थियो ।
प्रचण्ड सरकार फेर्ने चर्चासँगै अबको प्रधानमन्त्री को ? भन्नेसमेत चर्चा हुन थालेको छ । कांग्रेसकै नेताहरूले प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठाएका छन् । कांग्रेस नेता कोइराला र निधि दुवैले प्रचण्डपछि नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । तर, गठबन्धनमा यसअघि भएको भनिएको सहमितअनुसार प्रचण्डपछि प्रधानमन्त्री हुने पालो कांग्रेस सभापति शेरबहादुर देउवाको हो । गत फागुनमा प्रचण्ड, देउवा र नेपालबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उहाँहरूबीच गत चुनावमै पनि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, पहिला को ? भन्नेमा विवाद हुँदा एमालेको साथ लिएर प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो । पछि राजनीतिक कोर्स पुरानै अवस्थामा फर्किएको थियो ।
गठबन्धन भत्काउने एमालेको निरन्तर असफल प्रयास
प्रमुख प्रतिपक्षी एमालेले निरन्तर गठबन्धन भत्काउने प्रयास गरिरहेको छ । त्यसका लागि एमालेले विभिन्न ‘कार्ड’ प्रयोग गरिरहेको छ । कोशी सरकार गठन र राष्ट्रियसभा निर्वाचनमा कोशीमै आएको परिणाम एमालेको गठबन्धन भत्काउने प्रयास थियो । कोशी सरकार गठनमा एमालेले कांग्रेसकै शेखर कोइराला पक्षका केदार कार्कीलाई समर्थन गरेर गठबन्धनको सरकार बनाउने योजना असफल बनाइदिएको थियो । यद्यपि, पछि गठबन्धन दलहरूले पनि बाध्य भएर कार्कीलाई नै विश्वासको मत दिएका थिए । त्यसले गठबन्धनमा व्यापक असन्तुष्टि पैदा भएको थियो । तर, सहकार्यमा भने खासै ठूलो असर गरेन । त्यसपछि माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पनि एमालेले कोशी गठबन्धन भत्काउने अर्को प्रयास गर्यो । कांग्रेसकै इतर समूहसँग साँठगाँठ गरेर गठबन्धनका उम्मेदवार हराउन एमाले सफल भयो । गठबन्धनका उम्मेदवार माओवादीकी चम्पा कार्की पराजित हुँदा एमालेकै रुक्मिणि कोइराला विजयी हुनुभयो । यद्यपि, कोशीमा गठबन्धनको जित निश्चित थियो । तर, गठबन्धनकै केही जनप्रतिनिधिले कोइरालालाई क्रसभोट गरेर कोइरालालाई जिताइदिए । कोशीको परिणामले पनि गठबन्धनमा असन्तुष्टि बढेको छ । जनमत पार्टी पहिलेदेखि नै गठबन्धनमा असन्तुष्ट छ । यद्यपि, यसले गठबन्धनमा कुनै असर नपार्ने नेताहरूले बताउँदै आएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार २०८४ सम्म पर्खन नसकिने बताउँदै आउनुभएको छ । वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको ओलीको आरोप छ । एमाले सरकारमा जान हतार नगर्ने तर, गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने उहाँको भनाइ छ । ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । यिनीहरूले गर्न सकेनन् भने त फेरि उठ्न परिहाल्छ,’ बुधबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो ।
सरकार परिवर्तन गरेर नागरिकलाई नतिजा दिनुपर्छ : कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रचण्ड नेतृत्वको सरकार असफल भएको टिप्पणी गर्नुभएको छ । सरकारको काम गराईबाट कोही पनि सन्तुष्ट नरहेको भन्दै अब ढिला नगरी सरकार फेर्नुपर्ने उहाँको भनाइ छ । कोइरालाले अब कुनै ढिलो नगरी नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताउनुभएको हो । बिहीबार नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री नै सरकारको कामबाट सन्तुष्ट नरहेको बताउनुभयो । अब प्रचण्डलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने उहाँको भनाइ छ । ‘अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्व-सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ,’ उहाँले भन्नुभयो । मुलुकमा आर्थिक सुधारमा कुनै काम नभएको भन्दै कोइरालाले सरकार परिवर्तन गरेर नागरिकलाई नतिजा दिनुपर्ने बताउनुभयो । गठबन्धनको सरकारमा नेपालपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उहाँले बताउनुभयो ।
प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री : निधि
कांग्रेस नेता कोइरालाअघि पूर्वउपसभापति विमलेन्द्र निधिले पनि सरकार परिवर्तनबारे चर्चा गर्नुभएको थियो । उहाँले प्रचण्डपछि सरकारको नेतृत्व माधव नेपाललाई दिनुपर्ने बताउनुभएको हो । बुधबार दाङमा आयोजित पत्रकार भेटघाटमा उहाँले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । पूर्व-सहमतिअनुसार पहिलो चरणमा देशको नेतृत्व प्रचण्डले सम्हालिरहेको र यसपछि नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने उहाँले खुलासा गर्नुभयो । एक वर्षपछि नेपालको पालो आउने उहाँको भनाइ थियो । पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष भने कांग्रेस सभापति देउवाले नेतृत्व सम्हाल्ने नेता निधिको भनाइ थियो । अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसकको उहाँको स्वीकारोक्ति थियो ।
अर्को प्रधानमन्त्री हुने विषय अहिले गौण रहन दिनुस् : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सरकारको नेतृत्व फेरिनसक्ने संकेत गर्नुभएको छ । बिहीबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकार फेरिनसक्ने घुमाउरो संकेत गर्नुभएको हो । तर, पाँचै वर्ष गठबन्धनकै सरकार रहने उहाँको भनाइ थियो । कांग्रेस नेता निधिले अब सरकारको नेतृत्व माधवकुमार नेपालले गर्ने बताएको सन्दर्भमा उहाँले भन्नुभयो, ‘परदे मे रहने दो, पर्दा न उठाओ ।’ प्रचण्डपछिको प्रधानमन्त्रीबारे पनि उहाँले स्पष्ट कुरा गर्नुभएन । ‘प्रचण्डजी पछि को प्रधानमन्त्री हुने विषय अहिले गौण रहन दिनुस्, अहिले प्रचण्डजीको नेतृत्वको सरकारले कतिपय राम्रो कदम चालेको छ । राम्रो काम गर्छु भनेर भनिरहेकाले पनि अहिले उहाँको सरकारलाई सहयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो । अध्यक्ष नेपालले दरबार हत्याकाण्डको पुनः छानविन गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डले विचार नपु¥याएको बताउनुभयो । आफूसँग सल्लाह नगरी प्रधानमन्त्रीले बोलेकोमा उहाँले असन्तुष्टि जनाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच