काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् झण्डै सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त लगानी महिलाद्वारा सञ्चालित व्यवसायलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा सहयोग गर्न परिचालन गरिने बताइएको छ । लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको छ । नेपालको वित्तीय क्षेत्रमा भएको आइएफसीको हालसम्मकै सबैभन्दा ठूलो उक्त लगानी सम्झौताले ग्लोबल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोरोनाबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम व्यवसायको प्र्रवद्र्धनमा सहयोग पुग्ने बैंकको अपेक्षा छ । आइएफसीको उक्त लगानीले स्वच्छ यातायात, जलवायु-स्मार्ट कृषि र सौर्य परियोजनालगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा विशेष योगदान पु¥याउने बताइएको छ ।
बैंकले उक्त ऋणको ५० प्रतिशत साना तथा मझौला र खुद्रा ग्राहकका लागि जलवायु तथा लैंगिक क्षेत्रको लगानीमा समानरूपमा विनियोजन गर्नेछ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यममा कर्जा प्रवाह गर्न प्रयोग गर्नेछ । नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदानका साथै २० लाखभन्दा बढीलाई रोजगारी दिएको छ । तर, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँच पुग्न सकेको छैन ।
उक्त ऋण लगानी सझौता कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राष्ट्र बैंक नेपालमा वैदेशिक लगानी ल्याउने विषयमा सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएफसीसँगको सहकार्यले बैंकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सहयोग पुगेको बताउनुभयो । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले विश्व जनमानस जलवायु र वातावरणीय प्रभावबारेमा सचेत हुँदै गइरहेको अहिलेको अवस्थामा भएको ऋण सम्झौताले जलवायु र लैंगिक फाइनान्सिङमार्फत् दिगोपनका लागि बैंकले प्रतिबद्धता जाहेर गरेको बताउनुभयो । नेपाल, बंगलादेश र भुटानका लागि आइएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले नेपालमा आइएफसीको रणनीतिक प्राथमिकतामध्ये वित्तीय समावेशीकरण र वित्तीय क्षेत्रको स्थायित्वलाई सहयोग गर्नु एक महत्वपूर्ण रणनीति भएको भन्दै सोहीअनुसारको उक्त लगानीले नेपालमा जलवायु–स्मार्ट सम्पत्ति र महिलाको स्वामित्व रहेका साना तथा मझौला उद्यममा निजी क्षेत्रको लगानीलाई उत्पे्ररित गर्दै लंैगिक तथा जलवायु वित्त बजारलाई सुदृढ पार्ने लक्ष्य राखेको बताउनुभयो ।
नेपालका लागि आइएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फायले आइएफसीको उक्त लगानीले नेपालका साना तथा मझौला उद्यममा फाइनान्सिङ गर्न सहयोग पुग्ने बताउनुभयो । उक्त साझेदारी आइएफसी र ग्लोबल आइएमई बैंकबीचको तेस्रो साझेदारी हो । सन् २०२२ मा आइएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी) को एक भागका रूपमा एक व्यापार वित्त सुविधा विस्तार गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच