भोजपुरको हतुवागढी बारीगाउँमा पुग्यो बिजुली

हिमालय टाइम्स
Read Time = 3 mins

भोजपुर । बिजुली बाल्ने चाहना पूरा भएपछि भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ८ बारीगाउँका स्थानीय खुशी देखिनु भएको छ । नेपाल विद्युत प्राधिकरणले बिद्युतीकरणसँगै घरमा बिद्युत मिटर जडान गरि दिएपछि बारीगाउँमा बिजुलीको पहुँच पुगेको हो ।

नेपाल विधुत प्राधिकरण वितरण केन्द्र भोजपुर अन्तर्गतको हतुवागढी घोडेटार फयुज सेवाले वडा नम्वर ८ को पात्लेपानी, बिध्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट बिद्युत सेवा पुर्याएकोहो ।

बिद्युतको पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ । मट्टीतेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकोमा यहाँका जनतामा पनि खुसी छाएको छ ।”

जिल्लाका ग्रामीण क्षेत्रहरुमा बिद्युत प्राधिकरण र ठेकेदारहरु मार्फत बिद्युतीकरणको क्रम चलिरहेको नेपाल बिद्युत प्राधिकरण भोजपुर बितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउनुभयो । स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलबिद्युत आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिव एक हजार चार सय घर परिवारमा मात्र बिद्युत सेवा पुगेकोमा २०६७ साल कार्तिक महिनाबाट बिद्युत प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै बिद्युतीकरणको कार्य पनि सुरु भएको थियो । भोजपुरमा हाल निजी स्तरका दुई वटा हाइड्रोपावर समेत संचालनमा रहेका छन् ।

भोजपुरमा हाल करिव ८५ प्रतिशत बिद्युतीकरण भई सकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा बिद्युतीकरणको कार्य बढी बाँकी रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?