![जाडो मौसममा गुडको चिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Guud-ko-chiya.jpg)
गत वर्ष निकै समस्यामा रहेको देशको अर्थतन्त्र चालु आर्थिक वर्षको पछिल्ला महिनामा सुधारोन्मुख बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आर्थिक सूचांकहरूले अर्थतन्त्र क्रमिक रूपमा सुधार हुँदै गएको देखाएको हो । तथ्यांक अनुसार पुसमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति.९२ अर्ब १५ करोडमात्रै बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ भने असारमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेर पुसमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
त्यस्तै चालु खाता पनि एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा थियो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।
त्यस्तै मूल्यवृद्धि नियन्त्रणमै रहेको देखिएको छ । पुसमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । सरकारी खर्च र राजस्व संकलनमा समेत सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको पुससम्म सरकारले ४ खर्ब ५८ अर्ब ९९ करोडबराबर राजस्व संकलन र ५ खर्ब ७६ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सरकारले ४ खर्ब ९६ अर्ब ५० करोड राजस्व संकलन र ५ खर्ब ६६ अर्ब ६२ करोड खर्च गरेको छ । तर अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राजस्व संकलनमा केही सुधार देखिए पनि बजेट खर्चको अवस्था भने सुुस्त देखिएको छ ।
समीक्षा अवधिमा आन्तरिक कर्जामध्ये निजी क्षेत्रमा प्रवाहित कर्जाको आकार चार प्रतिशतले बढेर एक खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा करिब तीन प्रतिशतले मात्र बढेको थियो । अर्थतन्त्रको ऐनाकै रूपमा हेरिने पुँजी बजारको अवस्था पनि त्यत्ति नकारात्मक छैन । अघिल्लो आर्थिक वर्षको पुसमा २१४९.३९ अंकमा रहेको नेप्से यस वर्षको सोही अवधिमा २१२०.६२ अंकमा रहेको छ ।
तथापि अन्य मौद्रिक सूचांकहरू सवल देखिए पनि व्यापारघाटाको गतिमा भने सुधार आउन सकेको छैन । आयात र निर्यातबीचको अन्तर अझै बढ्दै गएको छ । समीक्षा अवधिमा वस्तु निर्यात ७.२ प्रतिशतले घटेर.७४ अर्ब ९७ करोडमा झरेको छ । निर्यात व्यापारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलँैचा, रोजिनलगायत वस्तुको निर्यात घटेको छ । सो अवधिमा सात खर्ब ६८ अर्ब १७ करोडको वस्तु तथा सेवा आयात भएको छ । जसका कारण ६ महिनामा कुल वस्तु व्यापारघाटा झण्डै सात खर्ब अर्थात् ६ खर्ब ९३ अर्ब २० करोड पुगेको छ ।
कोरोना प्रभाव, रुस र युक्रेनबीचको युद्धले ल्याएको विश्व आर्थिक मन्दीको प्रभावसँगै तीव्र आर्थिक शिथिलताका कारण अझै लगानीको वातावरण बन्न सकेको छैन । खासगरी नीतिगत अस्थिरता, बढ्दो उत्पादन लागत, बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरलगायत कारण निजी क्षेत्र कर्जा लिन र थप लगानी विस्तार गर्न डराइरहेको अवस्था छ । किनभने अघिल्लो वर्ष वाणिज्य बैंकहरूको औसत व्याजदर १०.९१ प्रतिशत रहेकोमा समीक्षा अवधिमा ९.३५ प्रतिशतमा झर्दा पनि कर्जाको बढ्न सकेको छैन । अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने पुँजीगत बजेट सरकारले खर्च गर्न सकेको छैन । पुससम्म ४९ अर्ब २३ करोड ५८ लाख रुपैयाँमात्रै पुँजीगत खर्च भएको छ, जुन चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यको १६.३ प्रतिशत मात्र हो । चालु आर्थिक वर्ष सरकारले ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँबराबर पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ । जसका कारण सरकारले चालु आर्थिक वर्षका लागि राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेट्ने संभावना क्षीण हुँदै गएको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ), विश्व बैंकले पनि सन् २०२४/०२५ को नेपालको आर्थिक वृद्धिदर चार प्रतिशत हाराहारीमात्र रहने प्रक्षेपण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने मौद्रिक नीतिको समीक्षासँगै पछिल्लो समय सबै आर्थिक सूचकमा सुधार हुँदै जाने अवस्था रहेकाले यसवर्ष आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशत हाराहारी रहने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच