अधिकारको पक्षमा संघर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सोनाम ल्होछार-२८६० का अवसरमा शनिबार टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उहाँले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभएको हो ।

‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस्’, प्रधानमन्त्रीले भन्नुभयो, ‘फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।’ आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा सात सय ५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, संघीयताअनुरूप कार्यालयको स्थापनामा महत्वपूर्ण काम भएको स्मरण गर्दै उहाँले अहिले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयोे ।

यस अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘संघीयतालाई सुदृढ गर्न प्रदेशलाई बलियो बनाउनलाई उच्च प्राथमिकतामा राखिएको छ, मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’

पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार वीर योद्धाले बलिदान गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले अबको संघीय मन्त्रिपरिषद् पुनर्गठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गर्नुभयोे । सोनाम ल्होछार पर्व मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने बताउनुभयो ।

उहाँले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभयोे । उहाँले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभयो ।

महोत्सवका अवसरमा तामाङ समुदायको भेषभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएको थियो । महोत्सवमा कुलागी, लुकुनी, स्यान्थाप लगायतका पराम्परागत पोसाकमा सजिएका युवायुवती डम्फू र टुङ्नाको धुनमा नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्रधानमन्त्रीलाई तामाङ समुदायले लगाउने टोपी र कोट लगाइदिएर सम्मान गरिएको थियो । समारोहमा प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेशका मन्त्री तीर्थ लामालगायत तामाङ समुदायको विभिन्न विधाका अगुवा व्यक्तित्वलाई सम्मान गर्नुका साथै विश्व कीर्तिमानी मोहन घिसिङलाई पनि सम्मान गर्नुभएको थियो । लामा गुरुहरूले मन्त्रोच्चारण गरी शुभारम्भ भएको समारोहमा चिनियाँ सांस्कृतिक टोलीले ड्रयागन नृत्यसमेत प्रस्तुत गरेका थिए ।

‘चीनसँगका नाका सञ्चालनका लागि सरकारले विशेष काम गरेको छ’
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारले चीनसँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गर्नुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल-चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको दाबी गर्नुभएको हो । उहाँले आफू तेस्रोपटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरू सुरु र व्यवस्थित गर्न सबैभन्दा धेरै प्राथमिकता दिएको दाबी गर्नुभयो । परिणामस्वरूप तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *