काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुकुल वैज्ञानिक र व्यवहारमुखी शिक्षापद्धति रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार शुभारम्भ गर्दै पौडेलले यस्तो बताउनुभएको हो । ‘गुरुकुल एउटा वैज्ञानिक र व्यवहारमुखी शिक्षापद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ’, उहाँले भन्नुभयो ।
उहाँले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाटधाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउनुभयो । ‘देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरूपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा गार्गी कन्या गुरुकुलले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेनैछ भन्ने मैले विश्वास लिएको छु’, उहाँले भन्नुभयो । समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद हो र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गमभूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको उल्लेख गर्नुभयोे । उहाँले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थमा पाइएको जिकिर गर्नुभयो ।
राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुशीको विषय भएको बताउँदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको धरणा राख्नुभयो ।
गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि मंगलबारदेखि काठमाडौंमा सप्ताह ज्ञान महायज्ञ आरम्भ गरेको हो । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले श्रीमद्भागवत महापुराण गरेको आयोजक समितिका संयोजक गोविन्द टण्डनले बताउनुभयो ।
समाजसेवी भगवती उपाध्यायद्वारा विसं २०५२ देखि चितवनको देवघाटधाममा सञ्चालन गरेको श्रीरामजानकी वेदविद्याश्रम र प्रतिष्ठित विदुषी स्वर्गीय अंगुरबाबा जोशीको इच्छा अनुसार २०६७ सालदेखि काठमाडौंमा गार्गी कन्या गुरुकुल सञ्चालनमा छ ।
देशको पहिलो तथा समावेशी गुरुकुलमा कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ । यो गुरुकुलमा देशभरका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।
गार्गी कन्या गुरुकुलमा शास्त्रीय विषयको अध्यापन, वेद र विज्ञानको संयुक्त अध्यापन, नृत्य, वाद्यवादन र गायनको प्रशिक्षण, शास्त्रार्थ, प्रवचन, काव्यगोष्ठीजस्ता रचनात्मक क्रियाकलापमा सहभागिताको साथै ज्योतिष, कम्प्युटरलगायत विषय अध्यापन हुन्छ ।
बालविवाह अन्त्य गर्न, छोरीलाई शिक्षित बनाएर चेतना बढाउने उद्देश्यले नेपालमा गुरुकुलको आवश्यकता देखिएपछि गुरुकुल स्थापना गरिएको महायज्ञ आयोजना समितिका सहसंयोजक टेकनाथ पौडेलले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच