महिलाले वेद पढ्न हुन्छ कि हुँदैन ? यो प्रश्न लामो समयदेखि नेपालमा विवादित बन्दै आएको थियो । महिलाको वेदमा अधिकार छैन भन्नेतर्फ पनि उत्तिकै सशक्त तर्कहरू प्रस्तुत हुँदै आएका थिए भने प्राचीन कालका अनेकौं ऋषिकाहरूलाई उदाहरणस्वरूप अघि सारेर वेद अध्ययनका लागि पुरुष र महिलाका बीचमा हाम्रा शास्त्रहरूले कुनै विभेद नगरेको पनि बताइँदै आइएको थियो । लिंगविभेदी शास्त्र र महिलामाथि घोर अन्याय गर्ने संस्कृतका ग्रन्थहरू भनेर आरोप लगाउनेहरूका लागि अहिले आएर केही मनिषिहरूले कन्याहरूलाई नै वैदिक ज्ञान प्रदान गर्न भनेर कन्या गुरुकुलको स्थापना गरी यो प्रश्नको चोटिलो जवाफ प्रस्तुत गरेका छन् ।
नेपालमा मात्र नभई भारतीय उपमहाद्वीपमै आधुनिक शिक्षा पद्धतिको लहर चल्दै जाँदा पुरुषले मात्रै पढ्ने प्रचलन चलेको थियो । पछिल्ला दशकहरूमा आधुनिक धारका शिक्षा परम्पराहरूले गति लिँदै गए र ती शिक्षामा पछिल्ला समयमा महिलाको सहभागिता पनि बढ्दै गयो । अद्यापि सबै धारका शिक्षा प्रणालीमा महिला र पुरुषको संख्या समान हुनसकेको छैन र पनि तिनका बारेमा आलोचना हुन छाडेको छ तर संस्कृत अध्ययनमा छात्राहरू निकै कम सहभागी हुने गरेकाले संस्कृत शिक्षाकै खारेजीका माग गर्दै समेत विरोधका स्वरहरू उब्जिए । पढ्न कसैले रोकेको थिएन तर विभिन्न कारणवश ब्राहृमणहरूको संख्या अधिक हुनेगरेका कारण बाहुनको भाषा र शिक्षाका उपनाम दिई राज्यको लगानी गर्न नहुनेसम्मका भनाइहरू आएका थिए ।
ब्राहृमणेतर समाजले लगाउँदै आएका सबै आरोपहरूलाई खण्डन हुनेगरी कन्याहरूको मात्रै पहुँच रहेको गुरुकुल स्थापना गरिएको छ । यसले वैदिक ज्ञान प्राप्त गर्नका लागि लिंग, जात, धर्म आदि अवरोधक होइनन् भन्ने प्रमाण पनि दिएको छ ।
मान्छेले पढेर, जानेर र बुझेरमात्रै समर्थन र विरोध गर्नुपर्ने हो तर संस्कृतका विरुद्धमा कसैले जानीजानी र कसैले हौवाका भरमा विरोध गर्न थालेका थिए । नेपालमा असन्तुलन, विद्रोह र विभेद चाहने शक्तिहरूले लगानी गर्ने र तिनका क्षणिक स्वार्थका पैसाका लोभमा केही मै हुँ भन्ने तथाकथित पढेकाहरूले संस्कृतका विपक्षमा नारा लगाउने गर्नाले संस्कृत शिक्षालाई संकटको घेराभित्र घेराबन्दी गरिँदै आइएको छ । त्यस्तै छद्मभेषीहरूका गुलिया नारामा भुलेर बुझ्दै नबुझी लगाइएका आरोपहरूका पछिपछि कुद्नेहरूको संख्या बढ्दै जाँदा नेपाल र नेपालीले पढ्नै पर्ने शास्त्र र संस्कृतका ग्रन्थहरू पढ्न नहुने कित्तामा पर्दै आएका छन् ।
सात आठ दशकअघिका नेपालका पुस्ताले पढ्ने भनेकै संस्कृत थियो । भारतमा अंग्रेजहरूको शासन रहेको र संस्कृत शिक्षालाई विस्थापित गर्दै अंग्रेजी शिक्षा विस्तार गर्ने अंग्रेजहरूको योजना सफल हुँदै जाँदा संस्कृत शिक्षाको प्रभाव खस्किन पुग्यो । नेपाल र नेपालीको चाहनाभन्दा पनि अंग्रेज र अंग्रेजहरूबाट प्रभावितहरूको योजना सफल हुँदै जाँदा नेपालमा संस्कृत शिक्षाको परम्परामा धमिरा लाग्ने क्रम सुरु भएको थियो । समयको चक्र घुम्दै जाँदा संस्कृत शिक्षाको पुनर्जागरण हुँदै जाने क्रम पुनः आरम्भ हुनपुगेको छ । सयका हाराहारीमा मात्रै संस्कृतका विद्यार्थी पाइने गरेको नेपालमा अहिले हजारौं विद्यार्थी भेटिन्छन् ।
पूर्वमेचीदेखि पश्चिम महाकालीसम्ममा संस्कृत शिक्षा प्रदानार्थ सयौँ गुरुकुल स्थापना गरिएका छन् तर ती सबै पुरुषहरूका लागि मात्रै थिए । देवघाटमा स्थापित गार्गी कन्या गुरुकुलम्ले भने एउटा बेग्लै नयाँ अध्यायको आरम्भ गरेको छ । ब्राहृमणेतर समाजले लगाउँदै आएका सबै आरोपहरूलाई खण्डन हुनेगरी कन्याहरूको मात्रै पहुँच रहेको गुरुकुल स्थापना गरिएको छ । यो जात र त्यो जात भन्ने विभेद पनि त्यस गुरुकुलमा गरिँदैन भन्ने जानकारीमा आएको छ । यसले वैदिक ज्ञान प्राप्त गर्नका लागि लिंग, जात, धर्म आदि अवरोधक होइनन् भन्ने प्रमाण पनि दिएको छ ।
देवघाटमा स्थापित कन्या गुरुकुल हालै स्थापना भएको भने होइन । विसं २०६७ ताका नै विदुषी अंगुरबाबा जोशीको सदीक्षा बमोजिम काठमाडौंमा गार्गी कन्या गुरुकुल स्थापना गरिएको थियो । अर्की संस्कृतप्रेमी उदारमना भगवती उपाध्यायले आफ्नो समेत लगानीमा देवघाटमा विसं २०५२ मा श्रीराम जानकी वेदविद्याश्रम खोल्नुभएको थियो । नेपालमा चलेको आन्तरिक द्वन्द्व लगायत विविध कारणहरूले गर्दा ती दुबै गुरुकुलहरू सुसञ्चालन हुन सकिरहेका थिएनन् । हाम्रा परम्परागत ज्ञानहरूको विस्तार हुनपर्दछ भन्ने मान्यता राख्ने सत्पुरुषहरूको सक्रियतामा ती दुबै गुरुकुलहरूलाई विसं २०७५ मा समायोजन गरी गार्गी कन्या गुरुकुलका नामबाट चितवनको देवघाटमा सञ्चालन गरिँदै आइएको छ ।
नेपाल सरकारले तोकेको पाठ्यक्रम बमोजिम वैदिक ज्ञानसहित अंग्रेजी, विज्ञान, सामाजिक आदि सबै विषयकै पढाइ त्यहाँ हुने गर्दछ । त्यसका अलावा दैनिक जीवनलाई सहज बनाउने योग ध्यान, संगीत, नृत्य, पाककलादेखि सदाचार, सद्विचारसम्मका वैदिक ज्ञानहरू अतिरिक्त रूपमा पढाइने कुरा संस्कृत शिक्षाको प्रचारप्रसारमा सक्रिय रूपमा सहभागी प्रा.डा.गुरुप्रसाद सुवेदी बताउनुहुन्छ । नेपालका ५० जिल्लाका ८० जना कन्याहरूले अहिले त्यस गुरुकुलबाट वैदिक ज्ञान प्राप्त गरिरहेका छन् । हाल कक्षा ६ देखि ११ सम्मको पठनपाठन चलिरहेको छ र आगामी शैक्षिक सत्रमा कक्षा १२ को पढाइ सुरु हुनेछ । क्रमशः शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर तह)को पढाइ सञ्चालन गर्ने लक्ष्य गुरुकुलले राखेको छ । आवासदेखि भोजनसम्मका सबै वृत्तिहरू त्यहाँ अध्ययनरत छात्राहरूले निःशुल्क रूपमा प्राप्त गर्दछन् ।
प्राविधिक शिक्षाको धारलाई सरकारले अलि बढी नै उदार भएर खर्च गर्दछ । आधुनिक शिक्षा प्रदान गर्ने संस्थाहरू सरकारबाट लाभान्वित हुन त्यति धेरै मिहिनेत गर्न पर्दैन तर संस्कृत धारका पाठशालाहरूले भने अलि बढी नै परिश्रम गर्नुपर्ने अवस्था विद्यमान छ । निःशुल्क पढाउने चलन परापूर्वकालदेखि चलिआएकाले संस्कृत पाठशालाहरूलाई धानिन नै मुस्किल पर्ने गर्दछ । पाँच वर्षअघिदेखि जसोतसो गुजारा हुँदै आए तापनि छात्रा संख्या बढ्दै गएपछि कन्या गुरुकुलले पनि अतिरिक्ति स्रोतको खोजी गर्नुपर्ने भएको छ ।
अर्थका अभावमा भविष्यमा आफ्ना विद्यार्थीहरूले बीचैमा पढाइ छाड्नुपर्ने अवस्था नआओस् भनेर गार्गी कन्या गुरुकुलले अर्थ संकलन र गुरुकुलको प्रचारप्रसारको उद्देश्य राखी फागुन १ गतेदेखि पाशुपत क्षेत्रमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ ।
नेपालमा हाम्रा धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्व ध्वस्त बनाउन जति सक्रिय छन्, तीभन्दा बढी जोगाउन उति नै उद्यत छन् । हाम्रा ज्ञानका राशी संस्कृत ग्रन्थहरू जलाउन सक्रिय हुनेहरू भन्दा तिनको संरक्षणमा जुट्ने हातहरू नै बलिया भएका कारण आजसम्म नेपालमा संस्कृत शिक्षा जीवित छ र यो कसैगरी बिलाउने छैन । आर्थिक संकट त आइपर्दछ तर त्यसको समाधानार्थ जुट्दा निवारण हुनेगरेको पनि छ । मात्र असली संस्कारयुक्त ज्ञानी उत्पादन गर्नुपर्ने दायित्व संस्कृत शिक्षालयहरूले पूरा गर्नुपर्ने हुन्छ ।
अर्थका अभावमा भविष्यमा आफ्ना विद्यार्थीहरूले बीचैमा पढाइ छाड्नुपर्ने अवस्था नआओस् भनेर गार्गी कन्या गुरुकुलले अर्थ संकलन र गुरुकुलको प्रचारप्रसारको उद्देश्य राखी फागुन १ गतेदेखि पाशुपत क्षेत्रमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरेको छ । समाजसेवी मन भएकाहरू त्यहाँ गई श्रवण गरेमा कान पवित्र हुने र केही दान गरेमा भगवत् कृपा प्राप्त हुनुका साथै अध्ययनमा संलग्न जीवित आत्माहरूको आशीर्वादसमेत प्राप्त हुने योग छ । यो सप्ताह सफल भएमा अन्य स्थानहरूमा समेत कन्या गुरुकुलहरू स्थापना गर्न प्रेरणासमेत मिल्नेछ ।
सरकारबाट पर्याप्त स्रोतसाधन नहुने संस्थाले जीवन धान्ने भनेको उदारमनाहरूको मन जितेर नै हो । आफ्नो कमाइको दशांश दान गर्नुपर्दछ भन्ने हाम्रो समाजमा त्यस्ता समाजसेवीहरूको संख्या पनि पर्याप्त नै छ । त्यसैले यो गुरुकुलले पाँच हजार रुपैयाँमा साधारण सदस्यता, २५ हजार रुपैयाँमा आजीवन सदस्यतादेखि लिएर दश लाख रुपैयाँमा कोठा निर्माणसम्मको सहयोगको अपेक्षा गरेको छ । जसको जस्तो क्षमता छ, त्यस्तै सहयोग गर्दा गुरुकुलले हृदयतः धन्यवाद ज्ञापन गर्दछ । आफ्नै नाम चम्काउने रहर भए आफ्नै नाममा दिन पाइने र पितृहरूको नाम उजागर गर्ने रहर भए पितापुर्खाका नाममा पनि सहयोग गर्न पाइने भएकाले केही न केही सहयोग गर्दा धर्मको मार्गमा चलेकै ठहर्छ ।
प्राचीनकालमा पनि नारी चेतना र नारी शिक्षा प्राथमिकतामा थियो नै । गार्गी, मदालसा, घोषा, अपालाजस्ता नारीहरू उदाहरणका लागि पर्याप्त छन् । विविध कारणले हराएको त्यो चेतना गार्गी गुरुकुल र अब स्थापना हुने यस्तै गुरुकुलहरूले पूरा गर्दै जाने नै छन् । हाम्रै माटोबाट सिर्जित ज्ञानका माध्यमद्वारा संस्कारयुक्त शिक्षित नारी उत्पादन गर्ने लक्ष्य प्रशंसनीय छ । आफैंले पुण्यकर्म गर्न नसके पनि अरूले आरम्भ गरेका यस्ता पवित्र कदमहरूमा होस्टेमा हैँसे गर्नु सबैका निम्ति कल्याणकारी नै हुन्छ । म, मेरो, हामी र हाम्रो भन्ने पहिचान खोज्ने यो युगमा हामी सबै नेपालीको पहिचान जोगाउने यस्ता गुरुकुलहरूलाई सबै नेपालीले सहयोग गर्नु श्रेयष्कर नै हुनेछ ।
धेरै राम्रो कार्य सबैले आफ्नो परम्परालाई संररक्षण र संम्वर्धन गर्न केही न केही परोपकार गरि आफु र आफ्ना सन्ततीको संरक्षण गर्नु सबै सनातनिको कर्तव्य हो।