काठमाडौं । १ फागनुदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको विधान अधिवेशन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौदा परिमार्जनसहित पारित गर्दै सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले तत्काल पार्टीको नाम र चुनाव चिहृन नफेर्ने भएको छ । पार्टीको विधान अधिवेशनमा २० समूहबाट प्राप्त सुझावको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष प्रचण्डले तत्काल चुनाव चिहृन र पार्टीको नाम नफेर्ने निष्कर्ष सुनाउनुभएको हो ।
विधान सम्मेलनमा सहभागीहरूले पार्टीको नामसँगै चुनाव चिहृन बदल्नुपर्ने माग गरेका थिए । मंगलबारदेखि सुरु विधान अधिवेशनको क्रममा सहभागीहरूले उठाएको प्रश्नको बिहीबार जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अहिले पार्टीको नाम र चिहृन नबदल्ने बताउनुभएको हो । आवश्यक परे यसबारे पछि निर्णय दिने भन्दै अध्यक्ष प्रचण्डले तत्काल पार्टीको नाम र चुनाव चिहृन (नेकपा माओवादी केन्द्र र गोलाकारभित्र हँसिया हथौडा) यथावत् रहने स्पष्ट पार्नुभएको हो । केही समूहले सबै माओवादी मोर्चाहरूबीच एकताको पहल गरेर दुवै कुरा फेर्ने कुरा उठाएका थिए । माओवादी नाम फेरेर केही समूहले नेकपा समाजवादी राख्नसमेत सुझाएका थिए । तर, तत्काललाई ती सुझाव लागू नहुने भएका हुन् । पार्टीको नाम फेर्न सकिने भए पनि विधान सम्मेलनको हलबाट निष्कर्षमा पुग्नु वस्तुवादी नहुने स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टीको नामबारे साथीहरूले सुझबुझ तरिकाले विषय राख्नुभएको छ । मुख्य कुरा पार्टीको पहिचान हो । नाम पहिला अनेक भए । कहिले मसाल, एकीकृत माओवादी, नेकपा चौम थियौँ । नाम आवश्यकताअनुसार बदल्ने हो ।
देशको हितमा के हुन्छ त्यही गरिन्छ । चुनाव चिहृन पनि फेर्न नसकिने कुरा होइन । तर, जसरी मनलाग्यो त्यसरी फर्ने पनि होइन । नामको विषयमा केही समयअगाडि कार्यालयको बैठकले अरू पार्टीसँग एकताको सन्दर्भमा कुरा चलिरहँदा नेकपा शब्द छाड्न सकिँदैन तर, त्यसपछि समाजवादी, समाजवादी केन्द्र राख्न सकिन्छ । फेरि पनि पार्टीहरूबीच एकता हुने भयो भने त्यतिबेला नामका बारेमा सोच्न वा फेर्न सकिन्छ । यही हलबाट नाम फेर्ने निष्कर्ष निकाल्नु वस्तुवादी हुँदैन ।’
केन्द्रीय समिति मात्रै प्रत्यक्ष प्रणालीबाट चुनिने
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनबाट पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली अस्वीकृत भएको छ । स्थानीय, प्रदेश र केन्द्रीय कमिटी प्रत्यक्ष निर्वाचित प्रणालीमार्फत चयन गर्ने निर्णय गरे पनि पदाधिकारीको हकमा भने तत्काल यो प्रणाली अवलम्बन नगर्ने निर्णय भएको हो । माओवादीको विधान अधिवेशनले प्रत्यक्ष प्रणालीबाट निर्वाचित कमिटीले पदाधिकारी चयन गर्ने निर्णय गरेको छ ।
अधिवेशन हलमा बहुमत प्रतिनिधिले पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखे पनि त्यस्तो प्रस्ताव अस्वीकृत भएको हो । यसको पक्षमा उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव नै ल्याउनुभएको थियो । प्रतिनिधिहरूले उठाएको सवालमाथि जवाफ दिने क्रममा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले सबै सवालमाथि पार्टी र नेतृत्वको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो । आजको आजै पदाधिकारीसहितको प्रत्यक्ष निर्वाचन प्रणाली सम्भव नभएको जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भन्ने नै अहिलेको लागि ठूलो कदम हो । प्रत्यक्ष निर्वाचन प्रणालीमा गयो भन्ने नै ऐतिहासिक निर्णय हो । यसबाटै पार्टीलाई गति दिन सकिन्छ । तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न हुँदैन । प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एकठाउँमा भए पनि पदाधिकारी नै पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्छ । प्रत्यक्ष निर्वाचित कमिटी र प्रत्यक्ष निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने निर्णयमा हामी पुगेका छौँ ।’
अहिले आफू अध्यक्ष मात्र नभएर देशको प्रधानमन्त्रीको हैसियतमा समेत रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘म अध्यक्ष मात्रै होइन प्रम पनि हो । धेरै कुरा त मैले पनि विचार गरेको छु नि । प्रत्यक्ष निर्वाचित पदाधिकारीको विषयमा महाधिवेशनबाट बहस हुँदै जान्छ । जनवादी केन्द्रीयताको बारेमा पनि विचार गर्नुपर्छ । अहिलेलाई हामीले नयाँ निर्णय गरिसक्छौँ ।’ प्रचण्डले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाँदा समावेशी समानुपातिकको प्रावधानलाई पनि विशेष प्राथमिकता दिइने बताउनुभयो । प्रचण्डले विधान अधिवेशनमा २० वटा समूहबाट टोली नेताले आफ्नो सुझाव पेस गरेपछि संश्लेषणसहितको सम्बोधन गरेसँगै प्रतिनिधिहरूले पूरक प्रश्न राखेका थिए । सो क्रममा नेता सरल सहयात्रीले प्रत्यक्ष निर्वाचित प्रणालीको विषय स्पष्ट ढंगले पारित गरिनुपर्नेमा जोड दिनुभएको थियो । सहयात्री जस्तै बोल्ने अन्य प्रतिनिधिले पनि सोही आवाज उठाए पनि अहिलेलाई पदाधिकारीसम्म पुग्ने अवस्था नरहेको प्रचण्डले स्पष्ट पार्नुभयो ।
१९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय
नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो । यस्तै, कार्यालय अर्थात् पदाधिकारी ११ जनाको बनाउने, स्थायी कमिटी केन्द्रीय समितिको एकतिहाइ सदस्य संख्याको बनाउने निर्णय भएको छ । पार्टी अध्यक्ष प्रचण्डले कार्यकारीको पदावधि विधानमा उल्लेख नगरी नियमावली बनाएर तोक्ने जानकारी दिनुभएको छ । माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ जना छन् ।
कारबाही नगरिए माओवादी बन्न नसक्ने निष्कर्ष
अध्यक्ष प्रचण्डले नराम्रो काम गर्नेलाई कारबाही नगरिए पार्टी नबन्ने बताउनुभएको छ । पार्टी विधान अधिवेशनमा छलफलबाट आएका सुझावहरूमाथि निष्कर्ष सुनाउने क्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी निर्माणका लागि राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारबाही नगरे पार्टी बनाउन सकिँदैन ।’
१८ वर्ष पुगेकालाई सदस्यता दिने
नेकपा माओवादी केन्द्रले १८ वर्ष उमेर पुगेकालाई मात्र पार्टीको सदस्यता दिने भएको छ । त्यसभन्दा कम उमेर भएकालाई पार्टीले सदस्यता दिनेछैन । अधिवेशनले पार्टीको साधारण सदस्यता र संगठित सदस्यता १८ वर्ष पुगेपछि मात्रै दिने निष्कर्ष निस्किएको एक नेताले जानकारी दिए । माओवादीमा अहिलेसम्म साधारण र संगठित सदस्यताको लागि उमेरहदको व्यवस्था थिएन ।
चैत र वैशाखमा दुईवटा अभियान सञ्चालन गर्ने
नेकपा माओवादी केन्द्रले आगामी चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताउनुभएको हो । जसअनुसार आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेश जनजागरण अभियान चलाइनेछ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि-पश्चिमसम्मको अभियान चलाइनेछ । त्यहाँबाट संगठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरू र सांस्कृतिक टिमसमेत रहने जानकारी दिनुभयो । त्यसैगरी, हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने प्रचण्डको भनाइ छ । उत्तर-दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने प्रचण्डले जानकारी दिनुभयो ।
‘माओवादी व्यवस्थित हुन लाग्यो भनेर बैरीहरू छट्पटिए’
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी व्यवस्थित भएर आउन लागेकोमा बैरीहरू छट्पटिएको टिप्पणी गर्नुभएको छ । विधान सम्मेलनपछि पार्टी अझ सशक्त बन्ने उहाँको दाबी छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी व्यवस्थित भएर आउँदै छन् भनेर बैरीहरूमा तरंग पैदा हुन्छ भन्ने नै मलाई लाग्छ । हामी पार्टी बनाउने प्रक्रियामा जहाँ आएका छौँ, अब सशक्त ढंगले अगाडि बढ्छ । छलफल र बहस खुलेर भयो, विभिन्न कोणबाट विचार प्रस्तुत पनि भयो व्यवस्थित, अनुशासित र संयमित ढंगले प्रस्तुत भयो, म खुसी भएको छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच