म्याग्दीमा तात्यो निर्वाचनको माहोल : भोट माग्दै घरदैलो अभियानमा व्यस्त उम्मेदवार

Read Time = 6 mins

म्याग्दी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन अब १४ दिन मात्र बाँकी रहदा उम्मेदवारी दर्ता गरेका विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले चुनावप्रचार प्रसार अभियान लाई तीब्रता दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) लगाएतका राजनीतिक दलका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् ।
जिल्लाका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले चुनाव प्रचारप्रसार अभियानलाई तीब्रता दिएको नेपाली कांग्रेस म्याग्दीका उपसभापति के वि भण्डारीले जानकारी दिए । नेकपा एमाले म्याग्दीले पनि आफ्ना उम्मेदवारहरुलाई जिताउन चुनाव प्रचार अभियानलाई तीब्र गतिमा अघि बढाएको छ भने नेकपा माओवादी केन्द्रले पनि घरदैलो अभियान सुरु गरेको जनाएको छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरु पनि मतदाताका घरदैलोमा पुग्न थालेका छन् ।
यसैक्रममा नेपाली कांग्रेस बेनी नगर समितीले बेनी नगरपालिकाका विभिन्न वडाहरुमा मतदाता भेटघाट कार्यक्रम सुरु गरेको छ । हिजो बुधवार बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा वडा सम्पर्क समिति स्थापना गरेर कांग्रेसको तर्फबाट बेनी नगरपालिकाका मेयरका उम्मेदवार चिरञ्जीवी शर्मा पौडेल सहितको उम्मेदवारको टोलीले घरदैलो गरेको छ ।
आज बिहीबार पनि कांग्रेसले जिल्लाका ६ वटै स्थानीय तहका उम्मेदवारलाई आआफ्नो स्थानीय तह र वडामा सामुहिक रुपमा घरदैलो अभियान गरी मतदाताहरुका समस्या बुझ्न र आफ्ना कुराहरु राख्न गाउँगाउँमा खटाएको छ ।
त्यसैगरी नेकपा एमालेले पनि बेनीबजारमा बेनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा बेनपा–७ र ८ नम्बर वडाको विभिन्न पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले घरदैलो अभियान गरेका छन् । उनीहरुले घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्ष रुपमा भेटघाट गरेर आफू र नेकपा एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरेका हुन् । नेकपा एमाले बेनी नगरपालिकाका उम्मेदवार सुरत केसी सहितको उम्मेदवारको टोली बेनी नगरपालिकाका ७ र ८ नम्वर वडामा घरदैलो अभियान गरी मत मागेका छन् ।
उक्त टोलीले आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन समेत आग्रह गरेको जनाएको छ ।
घरदैलो अभियानका क्रममा मतदातासमक्ष आफू र पार्टीलाई भोट माग्दै बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार केसीले बेनी नगरपालिकालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफू चुनाबी मैदानमा होमिएको बताए ।
घरदैलो अभियान कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतमलगायत नेता तथा कार्यकर्ता सहभागी भएर बेनी नगरपालिकामा सुरत केसी नेतृत्वको एमालेको टिमलाई विजयी बनाउन मतदातालाई भोट दिन अपिल गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि बेनी नगर सहित जिल्लाका ६ वटै स्थानीय तहका वडाहरुमा घरदैलो अभियान सुरु गरेको माओवादी केन्द्रका जिल्ला नेता शेरबहादुर केसीले जानकारी दिए ।
बेनी नगरपालिका क्षेत्रमा कुल १० वटा वडा रहेका छन् । आसन्न निर्वाचनका लागि २१ हजार ८ सय ४२ मतदाता रहेको बेनीमा १७ वटा मतदानस्थल र २८ वटा मतदान केन्द्र रहेका छन् । यसैगरी आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै म्याग्दीको अन्य पालिकामा पनि एमालेका उम्मेदवारहरुले प्रचारप्रसारसँगै आफू र पार्टीलाई भोट मागेका छन् ।
आसन्न निर्वाचनका लागि जिल्लाभर कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएकोमा ४१ हजार ४ सय १४ पुरुष, ४३ हजार ९ सय ६० महिला र अन्यतर्फ एकजना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनमा ६ सय १९ जना म्यादी प्रहरी छनोट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?