पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत पाउनुभएको छ । आइतबारको प्रदेशसभामा उपस्थित कुल १०४ सांसदहरूमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिँदा विपक्षमा ३५ सांसद थिए । दोस्रोपटकसम्म विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्रीलाई प्रदेश सभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोही पनि थिएन । गठबन्धन आबद्व नौ दलमध्ये जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले एकवर्षे कार्यकालमा आइतबार तेस्रोपटक विश्वासको मत लिनुभएको हो ।
मुख्यमन्त्री यादवले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत पाऊँ भनी राखेको प्रस्तावमा बोल्दै प्रदेशको पहिलो तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता सरोज यादवले गठबन्धनमा रहेका दलहरू ‘मुटुमाथि ढुंगा राखी हाँस्नु परेको’ स्थितिमा रहेको टिप्पणी गर्नुभयो । उहाँले यथास्थितिलाई अस्वीकार गर्ने हिम्मत गरेको भन्दै जनमत पार्टीलाई धन्यवाद दिनुभयो । उहाँले मधेश सरकार मुख्यमन्त्रीभन्दा अरू कसैले सरकार चलाइरहेको आभास भइरहेको पनि आरोप लगाउनुभयो । यद्यपि, उहाँले मुख्यमन्त्री इमानदार व्यक्तित्व रहेको जिकिर गर्नुभयो । गठबन्धनकारी र राष्ट्रिय गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता कृष्ण यादवले वर्तमान सरकारको काम कारबाहीबाट आफूहरू खुसी नरहेको बताउनुभयो । ‘६ वर्षको जसपा नेतृत्वको सरकारबाट मधेशी जनता खुसी छैनन् हामी पनि खुसी छैनौँ’, उहाँले भन्नुभयो ।
अन्य पार्टीका नेताहरूले पनि मधेश सरकारको कार्यसम्पादन कमजोर हुँदा जनताको असन्तुष्टि मात्र नभई संघीयता खतरातर्फ गइरहेको भन्दै असन्तुष्टि पोखेका थिए । दलका नेताहरूबाट उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री यादवले मन्त्री हुँदा सबै ठिक र नहुँदा बेठिक जस्ता कुरा नगर्न एमाले र जनमत पार्टीका नेताहरूलाई आग्रह गर्नुभएको थियो । ‘मैले कुन मन्त्रीलाई काम नगर्नुहोस् भनेको छु ? कुन मन्त्रीसँग योजनाबारे बुझ्न खोजेको छु ? कुन मन्त्रीसँग पैसा मागेको छु,’ भन्दै प्रश्न गर्नुभयो ।
बैठकको प्रारम्भमा जनमत पार्टीका सांसदले मुख्यमन्त्रीको उपस्थितिमै सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहउपकुलपतिसमेत रहनुभएका शिक्षामन्त्रीमाथि संघातिक आक्रमण भएको भन्दै मुख्यमन्त्रीको जवाफ र माफी खोज्दै बैठक १० मिनेट अवरुद्व पारेका थिए । मुख्यमन्त्रीले अगामी बैठकमा जवाफ दिने सहमति जनाएपछि बैठक अगाडि बढेको थियो ।
गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमतका दुई मन्त्रीले राजीनामा दिएका थिए । जनमतबाट मन्त्री हुनुभएका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारबाट बाहिरिनुभएको थियो । सरकारबाट पार्टीको बहिर्गमनसँगै मुख्यमन्त्री यादवले आफू नेतृत्वको सरकारको निरन्तरताका लागि एक महिनाभित्र अर्थात् फागुन ८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता थियो । सोहीअनुसार उहाँले आइतबार विश्वासको मत लिनुभएको हो ।
मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले) को २३ सिट, नेपाली कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) पार्टीको सात, नेपाल संघीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेका छन् । मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमै छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच