काठमाडौं । नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्नेहरूको मत बढ्दै गइरहेको छ । गत शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा नेपाली कांग्रेसका २२ केन्द्रीय सदस्यले पूरक प्रस्ताव पेस गर्दै सनातन हिन्दूराष्ट्रको पक्षमा उभिने गरी प्रस्ताव बनाउन पार्टीको ध्यानाकर्षणसमेत गराएका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शंकर भण्डारीसहितका नेताले हिन्दूराष्ट्रको लागि अब निरन्तर महाअभियान नै अगाडि बढाउने भन्दै घोषणापत्र नै जारी गरेका थिए । यसले नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्र बनाउनुपर्ने आवाज क्रमशः ठूलो बन्दै गइरहेको देखिएको छ । केही समय पहिला कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गणतन्त्रको विकल्प सोच्न नसकिए पनि हिन्दूराष्ट्रको विषयमा भने पुनर्विचार गर्न सकिने अभिव्यक्ति सार्वजनिक मञ्चबाटै दिनुभएको थियो । जसकारण पनि कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा रहेका विचारहरू खुल्दै गइरहेको देखिएको हो ।
नेपाली कांग्रेसले हिन्दूराष्ट्रको माग गर्ने अधिकार नेताहरूलाई भए पनि महासमितिमा यो विषय एजेण्डामा नपरेको जनाएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सोमबारदेखि सुरु हुने महासमिति बैठकको तयारीबारे जानकारी दिँदै हिन्दूराष्ट्रको विषयमा छलफल नहुने बताउनुभयो । ‘हाम्रा कतिपय साथीहरू हिन्दूराज्य चाहन्छौँ भन्नुभएको छ । प्रस्ताव बनोस् भन्नुभएको छ । तर, कांग्रेसको प्रस्ताव बनेन । केन्द्रीय समिति र महासमितिमा असहज हुनेगरी यो विषय अघि बढेको छैन’, विश्वकर्माले भन्नुभयोे, ‘आधिकारिक रूपमा छलफल भएर निर्णय गरेको विषय मान्यताप्राप्त डकुमेन्ट हो । अहिले हामी कुनै पनि धार्मिक राज्यको पक्षमा जाँदैनाँै । तर, कसैले विचार व्यक्त गर्न सक्छन् ।’
सभापतिले धर्म निरपेक्षताको विषयमा छलफल हुनसक्छ भने पनि छलफल गराउन नचाहेको उहाँले बताउनुभएको थियो । ‘सभापतिले छलफल हुनसक्छ भन्नुभएको थियो । तर, यसको आधिकारिकता भने पार्टीको प्रस्ताव नबनेपछि प्रष्ट भइसक्यो’, उहाँले भन्नुभयोे, ‘सभापतिले छलफल गर्न चाहनुभएको भए धर्मको विषय प्रस्तावको रूपमा आउँथ्यो । तर, सभापतिले नै चाहनुभएन ।’ कांग्रेसले एकल धर्मका, एकल वंश, एकल जातीय र एकदलीय शासन नचाहेको पनि उहाँले बताउनुभयो ।
कांग्रेसको महासमिति बैठकका सहभागी नेतामध्ये ६० जनाले बोल्न पाउने भएका छन् । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख विश्वकर्माले भन्नुभयोे, ‘महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको छ । महासमितिमा सहभागी सदस्यमध्ये कम्तीमा ६० प्रतिशतलाई बोल्न समय दिइनेछ ।’ बैठकका सबै गतिविधि जानकारी दिने उद्देश्यका साथ मिडिया सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘फागुन ७ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक हुँदै छ । आइतबारबाट मिडिया सेन्टर स्थापना गरिएको छ ।’
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गरेको जानकारी विश्वकर्माले दिनुभयो ।
यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्न लागेको उहाँले बताउनुभयो । प्रस्तावहरूमाथि हिमाल, पहाड, तराई र मधेशको प्रतिनिधित्व हुनेगरी चारवटा समूह बनाएर समूहगत रूपमा छलफल गरिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, ‘प्रतिवेदनहरूमाथि समूहगत छलफल हुनेछ । हिमाल, पहाड, तराई र मधेश सबै क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी समूह विभाजन गरिनेछ । यसपटकको महासमितिको बैठक विगतको भन्दा अलि फरक ढंगले गर्दै छौँ ।’ बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे गर्ने कार्यक्रम छ ।
फेरि कम्युनिष्टको पछि लागेर हिँड्न नपर्ने गरी छलफल गरौँ : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरूको पछि लागेर हिँड्न नपर्ने गरी महासमिति बैठकमा छलफल र बहस गर्नुपर्ने बताउनुभएको छ । महासमिति बैठकको सम्मुखमा आफैँले आयोजना गरेको चियापान कार्यक्रममा नेता कोइरालाले देशभरिबाट आएका प्रतिनिधि र नेताहरूलाई सम्बोधन गर्दै महासमिति बैठकका अपरिहार्य कार्यभारहरूबारे जानकारी गराउनुभएको थियो । महासमिति बैठकबाट पार्टी र मुलुकलाई सकारात्मक बाटोमा अघि बढाउने गरी निष्कर्षमा पुग्न आवश्यक रहेको उहाँको जोड थियो । पार्टी संगठन निर्माण र परिचालन, समयमै महाधिवेशन, निर्वाचन प्रणालीमा सुधार, गठबन्धनका विषयमा नीतिगत स्पष्टता जस्ता विषयहरूमा महासमिति बैठकमा छलफल गर्नुपर्ने कोइरालाले बताएका छन् ।
‘म जिल्ला–जिल्ला घुम्दाखेरि साथीहरूले ‘के हामी सधैँ कम्युनिष्टको पछि लागेर हिँड्ने हो ?’ भनेर प्रश्न गर्नुहुन्छ । हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ,’ कोइरालाले भन्नुभयोे, ‘महासमिति बैठकबाट यसबारे बृहत् छलफल गरेर निष्कर्षमा पुग्नु आवश्यक छ । अहिले हामी देशभरि सरकारमा छौँ, फेरि पनि हामीप्रति जनलहर बढिरहेको छैन । भोट प्रतिशत घटिरहेको छ । यस्तो किन भइरहेको छ ? यसबारे हामीले महासमितिबाट निष्कर्षमा पुग्नुपर्छ ।’
उहाँले पछिल्ला निर्वाचनमा कांग्रेसले सात प्रतिशत भोट गुमाएकोप्रति पार्टीभित्र छलफल नै नभएको बताउनुभयो । नेता कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा समस्या रहेको भन्दै त्यसबारे पनि महासमिति बैठकले निर्णय गर्नुपर्ने बताउनुभयो । ‘हामीहरूको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ कि यो निर्वाचन प्रणालीले कुनै पनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरू संसदीय प्रणाली भन्छौँ । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौँ, हुन सक्दैन,’ उहाँले भन्नुभयोे, ‘के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच