काठमाडौं । नेकपा एमालेले विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे निर्णय गर्दै मन्त्रीहरूको बर्खास्ती माग गरेको हो ।
केन्द्रीय कमिटीको बैठकले गठबन्धन सरकार र गलत प्रवृत्तिका पात्रको राष्ट्रिय हितमा आघात पुर्याएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । ‘मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फस्दै गएको छ । सञ्चारमन्त्री टेरामक्स खरिद प्रक्रियाको अनियमिततामा मुछिएका छन् । बालकुमारी घटना छानविन आयोगले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री निर्लज्जतापूर्वक झण्डा हल्लाएर हिँडिरहेका छन् । सरकारको भ्रष्टाचार नियन्त्रणको नारा स्टण्टबाजीमा परिणत भएको छ’, उहाँले भन्नुभयो ।
गठबन्धनमा आबद्ध भएकै कारण ललितानिवास काण्डका मुख्य निर्णयकर्ताहरूलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै उहाँले सुन तस्करीमा मुछिएका आफ्नो पार्टीका नेतालाई सफाइ दिइएको आरोप लगाउनुभयो । ‘विभिन्न काण्डहरूको छानविनमा व्यवसायीहरूपिच्छे दोहोरो मापदण्ड अपनाइएको छ र आफ्ना मान्छेहरूलाई अपराधबाट उन्मुक्ति दिन न्यायालयलाई प्रभावित र महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरिएको छ । गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्याय निरूपण आमविषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत् समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व संकलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र शाख खस्किँदै गएको छ । यो बैठक तस्करी र भ्रष्टाचारलाई संरक्षण गर्ने सरकार र शासन सञ्चालनमा उसको द्वैध चरित्रको विरोध गर्दछ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विभिन्न विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गर्दछ’, उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो ।
एमालेले प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक युवाको अनाहकमा ज्यान गएको छ । उक्त घटनाप्रति खेद व्यक्त गर्दै दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकहरूको जीवनमा यसरी खेलबाड नगर्न सरकारलाई चेतावनी दिएको छ ।
त्यस्तै, एमालेले सरकारका गलत नीति र भ्रष्ट क्रियाकलापका कारण मुलुकको अर्थतन्त्र मन्दीमा फस्दै गएको आरोप लगाएको छ । आर्थिक वर्षको सात महिना बित्दा पुँजीगत खर्च २१ प्रतिशतमा सीमित भएको र राजस्वले चालु खर्चसमेत धान्न सकेको अवस्था नरहेको भन्दै एमालेले सरकारको चर्को आलोचना गरेको छ । ‘सरकार आर्थिक वर्षको पहिलो महिनादेखि नै आन्तरिक ऋण उठाइरहेको छ । विकास निर्माणका काम ठप्प छन् । निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका कामको भुक्तानी पाउन सकेका छैनन् । चर्को ब्याजदर, झन्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरू हतोत्साही अवस्थामा छन् । धेरै व्यवसायहरू बन्द भएका छन् र व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् । यो बैठक गहिरिँदो आर्थिक संकट र बिग्रँदो व्यावसायिक वातावरणप्रति गहिरो चिन्ता व्यक्त गर्दछ,’ निर्णयमा भनिएको छ ।
‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उहाँले दुई तिहाइको पार्टी फुटाएकोमा पश्चात्ताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चात्ताप नगर्नेहरूलाई एमालेमा प्रवेश नगराउने धारणा राख्नुभयो । अध्यक्ष ओलीले अहिले एमाले प्रवेशको लहर तीव्र गतिमा बढिरहेको पनि जिकिर गर्नुभयोे । ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् । किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चात्ताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ,’ उहाँले भन्नुभयोे ।
पार्टी प्रवेश गर्नेहरूमा पूर्व-प्रदेशसभा सदस्य तथा आमजनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आमजनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरू हुनुहुन्थ्यो ।
कोशी अपनत्व लिएर जनतामाझ जाने
बैठकमा कोशी प्रदेशको समूहगत प्रस्तुतिमा प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशको नाम संवैधानिक विधि र प्रक्रियाबाट कोशी राखिएकोमा अपनत्व लिएर जनतामाझ जाने बताउनुभएको थियो । छलफलमा सहभागीले प्रदेश सभाले राखेको प्रदेशको नाम कोशीलाई एकमतले समर्थन गरेका थिए । यसैगरी, वर्तमान सरकारले देश संकटमा फसाउँदै लगेको निष्कर्षसहित सरकारका कदमको भण्डाफोर गर्न जनतामाझ जाने निष्कर्ष निकालिएको छ । सहभागी एक केन्द्रीय सदस्यका अनुसार वर्तमान गठबन्धनको सरकारले देशलाई अधोगतिमा लगेकाले यो सरकारले गरेका गलत कदमको बारेमा कार्यकर्तामार्फत तल्लो तहसम्म भण्डाफोर गर्ने उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशको टोलीले सीमा अतिक्रमणदेखि जनजीविकाका विषयमा सदन र सडकमा बलियो रूपमा प्रस्तुत हुन सुझाव दिएका थिए । अध्यक्ष कृष्णप्रसाद जैशीले सुदूरपश्चिम प्रदेशको तर्फबाट सुझावहरू प्रस्तुत गर्नुभएको थियो । एमाले नेतृत्वको सरकारले भारतले अतिक्रमण गरिरहेको लिपुलेक लिम्पियाधुरा र कालापानीको भूगोल नक्सामा राखेपछि वर्तमान सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको बताउनुभएको थियो । कञ्चनपुरको दक्षिणी भूभागमा पनि सीमा अतिक्रमण भइरहेको भन्दै भारतीय हस्तक्षेपका विरुद्धमा आवाज उठाउन सुझाव दिइएको थियो । मंगलबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सम्पन्न भएको छ । अध्यक्ष ओलीले सबैका सुझाव सुनेपछि निष्कर्ष सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच