काठमाडौं । नेपाल बैंकर्स संघले बैंकहरूको अवस्था सबल रहेको जनाएको छ । संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यस्तो बताउनुभएको हो । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बनेपामा आयोजित एड्भान्स बैंकिङ तालिम कार्यक्रममा अध्यक्ष केसीले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्न नसकिने अवस्था नरहेको बताउनुभयो ।
बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसमेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणालीमात्रै नभएर अहिले कुनै पनि बैंकमा समस्या नरहेको उहाँको भनाइ थियो । संघका अध्यक्ष केसीले भन्नुभयो, ‘केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् तर बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन । यसबाहेक पाँच लाखसम्मको निक्षेपको बिमा पनि हुने भएकाले पर्याप्त तरलता रहेको अवस्था छ ।’ केसीका अनुसार पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्थामा पुगेको छ । साथै केही बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत र केहीको ८३÷८४ प्रतिशत रहेकाले उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनामा धेरै सहज हो । तर, पछिल्लो समय बैंकको पैसा तिर्नुहुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने पनि उहाँले औँल्याउनुभयो । केसीले भन्नुभयो, ‘केही व्यक्तिले बैंकबाट लिएको ऋण तिर्नुहुँदैन भनेर सडकबाट आवाज उठाएको अवस्था छ, कसैले बोलेको भरमा ऋण नतिर्ने प्रवृत्तिले समग्र अर्थतन्त्रमा त्यसको प्रभाव पर्ने देखिन्छ । एकातिर अन्य देशको तुलनामा नेपालमा सबैभन्दा कम एफडिआई आउने गर्छ, त्यसमा पनि बैंकहरूको कर्जा नतिर्नेलगायत क्रियाकलापले समग्र सिस्टममा असर गर्छ ।’
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको भए पनि समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्र पारदर्शी छ, पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही व्यक्ति र समूहले प्रहार गरिरहनु न्यायोचित हुँदैन, दक्षिण एसियामा नेपालको बैंकिङ क्षेत्र सबल छ । भूकम्प, नाकाबन्दी र कोभिडजस्ता समस्या पनि आए, त्यस्तो परिस्थितिमा केन्द्रीय बैंकले विभिन्न तरिकाले सहज गरिदिएको अवस्था थियो ।’ देशको अर्थतन्त्रलाई सहयोग गर्ने बैंकिङ क्षेत्रलाई प्रहार गर्ने व्यक्तिमाथि कारबाही हुनुपर्ने पनि उहाँले बताउनुभयो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले बैंकिङ संवेदनशील क्षेत्र भएकाले कसैले पनि व्यक्ति लक्षित भई सिस्टममाथि प्रहार गर्न नहुने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच