काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र जटिल मोडमा रहेको भन्दै सबै राजनीतिक दलहरूको साझा एजेण्डा बनेर सुधार नभए दुर्घटना हुन सक्नेतर्फ सचेत गराउनुभएको छ । राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा उहाँले सरकार र राजनीतिक दलहरू संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभई कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउनेछ ।’
महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले सार्वजनिक गरेको अध्ययनअनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै उहाँले अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्नेमा जोड दिनुभयो । सरकारभित्र पनि अन्तरनिकाय समन्वय नहुँदा समस्या बल्झिँदै गएको उहाँको भनाइ थियो । ढकालले भन्नुभयो, ‘सबैले राम्रो काम गरेको भनिरहनुभएको छ तर नतिजा सकारात्मक आएको छैन ।’
मूलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजस्वमा पनि असर परेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैयाँ छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजस्वमा चाप परेको ढकालको भनाइ थियो ।
त्यसैगरी आगामी लगानी सम्मेलनलाई लक्षित गरी तयार पारिएको कानुन सुधारसम्बन्धी व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब एक दर्जन कानुन सुधार आवश्यक रहेको तीन महले सुझाव सरकारलाई बुझाएको छ । सोहीअनुसार प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारी मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई बुझाइसकेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नीति नियमन बनाउँदा सरकारले निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र लिने गरेको गुनासो गर्दै निजी क्षेत्रले दिएका सुझाव नीति नियमनको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने दाबी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच