काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्यांकलाई उद्धृत गर्दै टोलोन्यूजले भारी हिम वर्षाका कारण पशुधनमा व्यापक प्रभाव परेको उल्लेख गरेको छ । हालैको हिमपातका कारण लगभग दश हजार जनावरहरू मरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सर-ए-पुलका स्थानीय अब्दुल कादिरले भन्नुभयो, ‘व्यापक हिउँ परिरहेको छ । धेरै सडकहरू अवरुद्ध भएका छन् । कुनै पनि आवागमन छैन । आफ्ना पशुधनको क्षति भएकोले स्थानीयहरू निकै चिन्तित बनेका छन् ।’ अर्का बासिन्दा अमानुल्लाहले विशेषगरी सडक अवरुद्ध भएका र भोकभोकै रहेका पशुचौपायाको दुर्दशाबाट प्रभावित भएकाका लागि तत्काल सरकारी सहयोगका लागि याचना गर्नुभयो ।
अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेष गरी पशुधन मालिकहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालय सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ । अधिकारीहरूले बाल्ख, जाज्जान, बडगिस, फरयाब र हेरात प्रान्तका पशुधनीहरूलाई राहत सहयोगका लागि पाँच करोड रकम बिनियोजन गरेको छ ।
कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिवान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताउनुभयो । अवरुद्ध सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकालाई उद्धार गर्न यी समिति सक्रिय रूपमा लागिपरेका छन् ।
अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता एर्फानुल्लाह शराफजोईका अनुसार बडघिस, घोर, फराह, कान्दाहार, हेलमन्ड, जाज्जन र नुरिस्तानजस्ता प्रान्तहरूमा हालैको हिमपातबाट प्रभावित व्यक्तिहरूसम्म पुग्न विभिन्न समूह बनाई उद्धारकर्मी खटाइसकिएको बताउनुभयो ।
भारी हिमपातका कारण सलाङ पासलगायत प्रमुख यातायात मार्ग बन्द भएका छन् र घोर, बडघिस, गजनी, हेरात र बामियानजस्ता विभिन्न प्रान्तहरूमा सडकको पहुँच बन्द भएको छ । सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हकशेनासले विगत दुई दिनदेखि परेको भारी हिमपातका कारण यी मार्गहरू अस्थायी रूपमा अवरुद्ध भएको पुष्टि गर्नुभयो ।
फर्याब प्रान्तका गभर्नरका प्रवक्ता इस्मतुल्लाह मुरादीले प्रान्तमा भारी हिमपातका कारण अधिकांश जिल्लामा सडक बन्द भएको र दुर्गम क्षेत्रका बासिन्दा अलपत्र परेको जानकारी दिनुभयो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच