रेलका कुरा गर्दा हावादारी भन्नेलाई अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ: अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 3 mins

बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उहाँको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उहाँले बताउनुभयो । नेकपा एमालेले आगामी मङ्सिर चार गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले बताउनुभयो । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले एमाले पार्टी एक ढिक्का भएको बताउनुभयो । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उहाँले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताउनुभयो । “हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ”, ओलीले भन्नुभयो, “अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।” कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

साथै उहाँले सीमा विवादबारे प्रधानमन्त्री शेरबहादुर देउवाले गलत भाष्य निर्माण गर्न खोजेको बताउनु भयो । जनतालाई बन्दुक उठाऊ भनेर सम्बन्ध बिगार्ने कुरा गरेको उहाँले आरोप लगाउनु भयो। अध्यक्ष ओलीले आफ्नो हक वार्ताबाट फिर्ता ल्याउने बताउनु भयाे। उहाँले आगामी निर्वाचनपछि एमालेजस्तो राष्ट्रिय सरकार चाहिले दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?