लुम्बिनी प्रदेश सरकारद्वारा सिकलसेल थालेसिमिया र हेमोफिलियाका बिरामीलाई निःशुल्क बीमा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रम सुरु गरेको छ ।

प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बीमा कार्यक्रम सुरु गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र सहरी विकास मन्त्री कृष्णा केसीले राप्तीसोनारी गाउँपालिका-३ का आरुस थारुलाई बीमा कार्ड हस्तान्तरण गरी बीमा कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

सिकलसेलका बिरामीलाई उपचारमा थोरै भएपनि राहात होस् भन्ने उद्देश्यका साथ चालू आर्थिक वर्षदेखि प्रदेश सरकारले सिकलसेल, थालेसिमिया र हेमोफिलियाका बिरामीहरुका परिवारलाई निःशुल्क बीमा कार्यक्रममा जोड्न सुरु गरेको स्वास्थ्य मन्त्री खनालले बताउनुभयो ।
उहाँले स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न बीमा कार्यक्रममा सबैलाई जोड्न आवश्यक रहेको पनि बताउनुभयो । ‘विपन्न तथा गरिव परिवारलाई बीमा कार्यक्रममा समेट्न झनै आवश्यक छ उहाँले भन्नुभयो-‘नत्र उपचार अभावमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।’

उहाँले सिकलसेल र थालेसिमिया रोगको अवस्था जटिल जनस्वास्थ्य समस्या भएकाले यसको नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामुलक कार्यक्रमलाई पनि प्रभावकारी ढंगबाट लैजाने प्रतिवद्धता जनाउनुभयो । सिकलसेलका बिरामीको उपचारका लागि बर्दियामा सिकलसेल अस्पताल निर्माणाधिन अवस्थामा रहेकाले त्यसलाई प्रदेश सरकारको मातहतमा रहने गरी संचालन गरिने पनि उहाँले बताउनुभयो ।

उहाँले उक्त अस्पतालका लागि प्रदेश सरकारले ३० लाख बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो । कार्यक्रममा सहरी विकास मन्त्री कृष्णा केसीले सिकलसेल तथा थालेसिमियाका परिवारलाई आर्थिक आर्यआर्जनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।

रोगबाट पीडित परिवारलाई उनीहरुको आयआर्जनमा टेवा पुग्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन आवश्यक रहेको औल्याउनुभयो । आफ्नै निर्वाचन क्षेत्रबाट बीमा कार्यक्रम सुरु गरिएकोप्रति खुसी व्यक्त गर्नुभएकी मन्त्री केसीले यसलाई प्रभावकारी र अझै व्यवस्थित बनाएर लैजानु पर्ने सुझाव दिनुभयो ।

लुम्विनी प्रदेशसभा सदस्य सञ्जु कुमारी थारुले सिकलसेल तथा थालेसिमिया बिरामीलाई उपचार र बीमासँगै आर्थिक आयआर्जनका कार्यक्रमसँग जोड्ने गरी योजना ल्याउन मन्त्री खनालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सिकलसेलका बिरामीलाई आजिवन उपचारको व्यवस्था सरकारले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामीको बीमा गरिएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि गाउँपालिकाले रोगीको पहिचान गर्ने र चेतना जगाउने काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य सन्जु चौधरी, माया पुन, शुशिला नेपाली, मिना सिद्दिकी, स्वास्थ्य मन्त्रालयका सचीव डा जनार्दन पन्थी , स्वास्थ्य निर्देशनालय निर्देशक डा. बिनोद कुमार गिरि, भेरी अस्पताल बिकास समिती अध्यक्ष बिरेन्द्र शाहलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?