काठमाडौं । धर्म र आस्था आफैँमा संवदेनशील विषय हुन् । धर्मसँगै जोडिएर आउने निष्ठा, नैतिक आचरण र मूल्यले समाजमा आफ्नै ढंगले ‘शासन’ गरिरहेका हुन्छन् । जुनसुकै धर्मका ‘गुरु’ र यसका ‘कट्टर अनुयायी’बाट आम मान्छेले झन् विशेष अपेक्षा गर्छन् । समाजमा यिनको स्थान ‘उच्च’ हुन्छ । उनीहरूलाई आम मानिसले सहजै ‘अति विश्वास’ गर्छन् । सबै गेरु वस्त्रधारीहरू धर्मगुरु होइनन् भन्ने चेत आम मानिसमा छैन । अनि यही विश्वासमा घात गर्दै ‘कथित् धर्म गुरुहरू’ले आपराधिक साम्राज्य फैलाउने गरेका घटना सार्वजनिक भइरहेका छन् । थुप्रै घटनामा कथित् धर्मगुरु, मन्दिरका पूजारी, चर्चका पाष्टरलगायत व्यक्ति हत्या, बलात्कार, ठगीजस्ता जघन्य अपराधसँग जोडिँदै आएका छन् । धर्मकै आडमा धन थुपार्नेदेखि यौन शोषणलगायत हत्या, हिंसासम्मका गम्भीर अपराधमा उनीहरूको संलग्नता देखिन थालेको छ । अपराध कुनै एक धर्ममा मात्र सीमित छैन । जुनसुकै धर्म अवलम्बन गरे पनि धार्मिक गुरुका नाममा स्वार्थ लुट्ने गिरोह बढ्न थालेको छ । धार्मिक आवरणमा हुने आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएका छन् ।
यस्तै, खतरनाक अपराधमा संलग्न कथित् तपस्वी प्रहरीको फन्दामा परेका छन् । आफूलाई ‘लिटल बुद्ध’ बताउने बालयौन दूराचार, हत्या र ठगी घटनाको आरोप लागेका रामबहादुर बम्जनलाई नेपाल प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई मंगलबार बूढानीलकण्ठ नगरपालिकामा पर्ने हात्तीगौँडास्थित आफ्नै घरबाट पक्राउ गरेको हो । बम्जनलाई बुधबार दिउँसो महाराजगञ्जमा पत्रकार सम्मेलन गरी सिआइबीले सार्वजनिक गरेको हो । उनको अपराधपूर्ण यात्राको यसअघि नै पर्दाफास भइसकेको थियो । बाराको हलखोरियामा २०७१ साउनमा आफू बम्जनबाट बलात्कृत भएको भन्दै एक अनुयायीले उजुरी दिएकी थिइन् । त्यसको पाँच वर्षपछि ०७६ माघमा बल्ल जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन । प्रहरीले बम्जनको खोजीका लागि उनका केही आश्रमहरूमा समेत ‘सर्च अपरेसन’ समेत चलाएको थियो, तर भेटिएका थिएनन् । शक्तिकेन्द्रलाई प्रभावित पारेर बारा, सिन्धुलीलगायत ठाउँमा सार्वजनिक सम्पत्ति ओगटेर रजगज चलाइरहेका उनी केही समययता फरार थिए ।
बमजनका आश्रमबाट तीनजना आनीहरू बेपत्ता पारिएका छन् । यस्तै, बमजनका दुई अनुयायी पुरुष पनि आश्रमबाट बेपत्ता छन् । उनी आर्थिक अपराधमा समेत मुछिएका छन् । उनको घरबाट करोडौँ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, उनको विलाशी जीवनशैलीसमेत सार्वजनिक भएको छ । उनले तपस्वीको अवरणमा अपराधपूर्ण व्यापार गरिएको बरामद नगद र महँगा र विलासी जीवनशैलीले देखाउँछ । ‘तपस्वी’को भेषमा विलासी जीवनशैली जिउने गरेको तथ्य पत्ता लागेको छ । बम्जनले करोडौँ मूल्यका गाडी र लाखौँ मूल्यका मोटरसाइकलहरू प्रयोग गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि पाँच करोड मूल्य पर्ने ल्याण्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको थियो । त्यसका लागि तीन करोड रुपैयाँ भुक्तानीसमेत भइसकेको पाइएको छ । पक्राउ पर्नु अगाडिसम्म उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए । जसको मूल्य नेपाली बजारमा दुई करोड ३२ लाख रुपैयाँसम्म पर्छ ।
सिआइबीको ‘अपरेसन ब्लु’, अनि पक्राउ परे बम्जन
खासमा उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । पटक-पटकको प्रयासमा पनि बम्जनलाई सिआइबीले पक्राउ गर्न असफल हुँदै आएको थियो । तर, यसपटक उनी काठमाडौंकै हात्तीगौँडास्थित घरबाटै समातिए । सिआइबीको टोली पक्राउ गर्न घरभित्र छिर्दा उनी चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए । तर, सिआइबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किन दिएन । सिआइबीलाई लगातार चुनौती दिइरहेका उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाइएको थियो । सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ चलाएर बम्जनलाई पक्राउ अभियान चलाइएको थियो । सिआइबी स्रोतका अनुसार बम्जनको अघिल्लो अंग्रेजी अक्षर ‘बी’बाट ब्लु नाम दिइएको हो । यसअघि २०७८ सालमा सिआइबीले अप्रेसन ‘डेडलक’ नाम दिएर बम्जनको खोजी गरेको थियो । सिआइबीले ठूला अनुसन्धानमा अप्रेसनलाई नाम दिने गरेको छ । सिआइबीले उनलाई सार्वजनिक गर्दा उनी सेतो ज्याकेटमा चिटिक्क देखिएका थिए । अब उनलाई सर्लाही पठाएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
घरमा पैसाको चाङ, तीन करोड ३४ लाख रुपैयाँ र १५ मोबाइल बरामद
बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । सिआइबीले घरमा खानतलासी गर्दा तीन करोड ३४ लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ बरामद गरेको हो । यस्तै, र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा पनि बरामद भएको सिआइबीले जनाएको छ । मंगलबार सिआइबीले उनी बसेको बूढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । उनको घरबाट प्रहरीले विभिन्न ब्राण्डका १५ थान मोबाइलसमेत बरामद गरेको छ । बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्राण्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।
पाँच करोडको गाडी किन्न तीन करोड भुक्तानी
बम्जनले पाँच करोड रुपैयाँको गाडी किन्न लागेको खुलेको छ । अनुयायीहरूबाट करोडौँ पैसा उठाएको आरोप झेलिरहेका उनले आफ्ना लागि टोयोटा फच्र्युनर गाडी चढ्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । सिआइबीका अनुसार उनले पछिल्लोपटक प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्च्युनर कार चढ्ने गरेका थिए । त्यसैगरी, उनको प्रयोगका लागि सेतो रङको ल्याण्ड क्रुजर जेडएक्स पनि थियो । बम्जनका लागि ललितपुर महानगरपालिका-२२ बुङ्मती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुका अध्यक्ष ४५ वर्षीय पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइडेट ट्रेडर्स सिण्डिकेट प्रालिको सोरुमबाट पाँच करोड रुपैयाँमा उक्त कार खरिद गर्न तीन करोड भुक्तानी पनि भइसकेको सिआइबीले जनाएको छ । बम्जनको सुविधाका लागि क्रस फायर, ३९० सिसीको केटिएम ड्युक, यामाहा रे जेड आर स्कुटरसहित चारवटा मोटरसाइकल पनि प्रयोग हुने गरेको खुलेको सिआइबीका प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
बम्जनको प्रारम्भिक बयान- म तपस्यामा थिएँ, कुनै अपराध गरेको छैन
बलात्कार गरेको अभियोगमा पक्राउ परेका रामबहादुर बम्जनले आफूले कुनै किसिमको अपराध नगरेको दाबी गरेका छन् । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उनले आफूमाथि लागेका सबै अपराधको आरोप अस्वीकार गरेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार आफूलाई फसाउन सबै गरिएको उनको बयान थियो । ‘यो सबै मलाई फसाउनका लागि, माइनस गर्न गरिएको डिजाइन हो । मलाई माइनस गर्न खोजिएको हो,’ सिआइबीलाई दिएको बयानमा उनले भनेका छन्, ‘मैले यी कुनै पनि अपराध गरेको छैन । मान्छे बेपत्ता बनाएको छैन । बलात्कारजस्ता कुनै पनि अपराध गरेको छैन ।’ बम्जनले आफू योग, ध्यान र साधनामा लागेकाले यस्ता अपराध गर्न सम्भव नै नहुने दाबी गरे । बम्जनले आफू ध्यान गर्ने मानिस भएको भन्दै विदेशी भक्तजन धेरै आफूलाई पैसा दिएको बताए । ‘यो भक्तजनले ल्याइदिएको पैसा हो । मेरा विदेशी भक्तजन धेरै छन्,’ उनले भने ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच