बेलाबेलामा कुनै न कुनै कामबाट चर्चामा आइरहने काठमाडौं महानगरपालिका तथा यसका प्रमुख बालेन साह हाल अर्को प्रसंगबाट चर्चामा आएका छन् । पछिल्लो चरणमा धरहरा क्षेत्रका व्यापारीहरूमाथि ज्यादति गरेको र कबाडी व्यवसायीलाई काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट हटाउने अभियान चलाएको भनेर ती क्षेत्रका व्यक्तिहरू आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह आफैंमा एकजना विशिष्ट क्षमताका मानिस भएको कुरामा दुई मत छैन । उहाँ आफ्नो चुनावी अभियानदेखि नै फरक शैलीमा अगाडि बढ्नुभएको हो । पार्टी प्रणाली विद्यमान रहेको समयको निर्वाचनमा त्यसमा पनि राजधानी शहरमा स्वतन्त्र उम्दवारका रूपमा कुनै पार्टीको समर्थन नपाई उहाँ विजयी हुनुभएको हो, त्यो पनि अत्यधिक बहुमत प्राप्त गरेर ।
त्यसबेला त्यो नै एउटा आश्चर्यको विषय बनेको थियो । उहाँ जसरी विजयी बन्नुभएको थियो पछि त्यही ढंगले कार्य क्षेत्रमा उत्रिनुभयो । बेलाबेलामा साहसिक तथा अलोकप्रिय लाग्ने खालका काम गरेर पनि उहाँ चर्चामा आइरहनु भएको छ । यसो गर्दा कहिलेकाहीँ अनौंठा घटना पनि हुने गर्छन् । महानगरका बासिन्दाले आफ्नै घर कम्पाउण्ड भत्काउन उहाँलाई प्रेरित गरेको र महानगरको डोजर आएर आफ्नो घरजग्गा भत्काउँदा विरोध होइन समर्थन गरिरहेको जस्तो केही घटना पनि देखिने गरेका छन् । यसैगरी उहाँले अवैधानिक रूपमा खोलाकिनार ओगटेर बसेका सुकुम्बासी भनिनेहरूलाई त्यस्ता ठाउँबाट हटाउने प्रयास गर्नुभयो तर तिनको संगठित प्रतिकारका कारण सफल बन्न सक्नुभएन ।
सुकुम्बासी भनिएका मानिसहरूबाट हातहतियारसहित प्रतिकार भयो । उहाँका यस्ता प्रयासमा जनताको पर्याप्त सहानुभूति रहँदै आएको छ । यसका साथै खोला तथा नदीहरू अतिक्रमण गरी घर वा व्यापारिक संरचना बनाएर मानिसहरूले व्यापार गर्दै आएका थिए । कतै-कतै त खोलालाई जमिनमुनि छोपेर माथि बस्ती बसाइएको थियो र त्यस्ता ठाउँहरूमा व्यापार–व्यवसाय गर्नेहरूको संख्या ठूलो थियो । उहाँले छोपिएको खोलाहरू निरन्तरको प्रयासबाट उधिन्ने काम गर्नुभएको छ र त्यसका लागि विभिन्न खालका अफ्ठ्यारासँग सामना गर्दै आउनुभएको छ । पैदल यात्रीहरूका लागि बनाइएको सडकपेटीहरू व्यापारीका अतिक्रमणमा पर्दै आएका थिए । उहाँ महानगर प्रमुख बनेपछि यस्ता अवरोधलाई हटाउँदै लानुभएको छ ।
यही क्रममा हालै सुन्धारास्थित धरहरा वरिपरिको पेटीमा रात्रिकालीन व्यवसाय गर्न नदिने भनेर महानगरपालिकाले तिनीहरूलाई हटाउने सिलसिलामा बल प्रयोग गरेको छ र केही व्यापारी घाइते भएका छन् । हाल व्यापारी र महानगरपालिकाबाट एकले अर्कालाई दोषी प्रमाणित गर्ने प्रयास भइरहेको छ । कसैसँग नडराई निर्भीकताका साथ आँटिलो बनेर अगाडि बढिरहेका युवा बालेन साह बेला बेलामा विवादमा चाहिँ आइरहनुभएको छ । आफ्नी श्रीमती चढेको गाढी ट्राफिक प्रहरीले केही छिन् रोकिदिँदा उहाँले सिंहदरबारमा आगो लगाइदिन्छु भन्नुभएको सन्दर्भ यहाँ स्मरण गर्नु उचित हुन्छ । केही समयसम्म चर्चामा रहेर उहाँको यस्तो अभिव्यक्ति हाल बिस्तारै विस्मृत बन्दै गएको छ ।
पार्टीका नेता, मन्त्री, प्रधानमन्त्रीहरूलाई नै फोहोर भन्ने र सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्ने बालेन साहको चर्चा पुनः चुलिन गएको छ । सर्न केही समय दिएर सूचना गरे पनि तोकिएको समयमा नसरेको भनेर काठमाडौं महानगरपालिका क्षेत्रभित्र कबाडी संकलनको कुनै पनि केन्द्र राख्न नपाइने भनेर उहाँले चेताउनी दिनुभएको थियो, त्यस्ता कबाडी संकलन केन्द्रहरू हटेनन् । त्यस्ता केन्द्रहरूमा महानगरले डोजर चलायो । उहाँले चक्रपथभित्र यस्ता कुनै केन्द्र राख्न नदिने, सकेसम्म महानगरभित्रबाटै हटाउने निर्णय गरेर कबाडी संकलन केन्द्र भत्काउन थालेपछि संकलक आन्दोलित बन्न पुगेका छन् । कबाडी संकलक अधिकांश नेपालको तराईमूलका र भारतीय छन् । यस विषयले संघीय संसद्मा समेत प्रवेश पाएको छ ।
क्षेत्रीय वा जातीय आधारमा गरिएको भेदभावका रूपमा यसलाई विश्लेषण गर्ने प्रयास भएको छ । घरघरबाट निसृत हुने काम नलाग्ने पुराना र फालिनुपर्ने चीजवस्तु घरघर गएर बटुली तिनलाई निश्चित केन्द्रमा संकलन गर्ने अनि त्यस्ता चिज वस्तुको उत्पादन गर्ने कारखानाका लागि कच्चा पदार्थका रूपमा बेच्ने यस्ता केन्द्र छन् । यस्ता संकलक आवश्यकीय छन्, यिनलाई यसरी एकाएक बिथोल्नुको सट्टा वैकल्पिक ठाउँको व्यवस्था गरेर बिस्तारै महानगरबाट विस्थापन गर्नु उचित हुन्छ । यसका साथै सडकमा बसेर व्यापार गरी जीविकोपार्जन गर्दै आएकाका लागिसमेत वैकल्पिक स्थानको व्यवस्था गर्नसके उनीहरूको व्यवसायमा हानी पुग्दैन र महानगर सफा रहन सक्छ । यसतर्फ महानगरपालिकाले सोच्नु उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच