ओखलढुंगा । नेपाली काँग्रेस ओखलढुंगाका नेता प्रकाश कार्कीको डेङगु संक्रमणबाट निधन भएको छ । चिसंखुगढी गाउँपालिका वडा नं ५ निवासी कार्कीको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रुमा निधन भएको हो ।
ज्वरो रुघाखोकीबाट ग्रस्त भएका कार्की घरमै आराम गरेर बस्नु भएको थियो । उपचारको लागि शनिबार बेलुका अस्पताल पु-याईएका कार्कीको आइतबार बिहान करिब १० बजेको समयमा निधन भएको परिवार श्रोतले जानकारी दिइएको छ ।
अस्पतालले उहाँमा डेङगु पोजेटिभ भएको पुष्टि गरेको छ । कार्कीको पार्थीव शरीर आजै बुवा–आमा भएको ठाउँ उदयपुरको घाइघाट लगिएको छ ।
कार्कीको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति तेजेन्द्र खनालले पार्टीको चारतारे झण्डा ओढाएर श्रद्धान्जलि अर्पण गर्नुभएको थियो ।
त्यस्तै जिल्ला समन्वय समिति ओखलढुंगाकी उपप्रमुख तारादेवी कार्की पार्टी कोषाध्यक्ष बिनोद कुमार ताम्रकार, भूमीआयोगका अध्यक्ष पुरुषोत्तम लुईटेल, पार्टी प्रवक्ता प्रदीप बाँनिया, चिसंखुगढी गाउँपालिका सभापति गोपालमान थापा लगायतका नेताहरुको उपस्थितिमा श्रदान्जलि अर्पण गर्नुभयाे । २०२८ सालमा जन्मनु भएका कार्की ५२ वर्षको अल्पायुमै देहत्याग गर्नु भएको छ ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा लाग्नुभएका कार्की पूर्व सांसद बालाराज कार्कीका भाइका छोरा हुनु हाे । कार्की तरुणदल हुँदै जिल्ला कार्यसमिति सदस्य बन्नुभएको थियो । अहिले उहाँ कोशी प्रदेश अधिवेशन प्रतिनिधी हुनुहुन्थ्यो ।
उहाँ गणतन्त्र प्राप्ति पश्चात भएको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा चिसंखुगढी गाउँपालिका वडा नं ५मा निर्वाचित हुनु भएको थियो । शालिन तथा भद्र कम बोल्ने स्वभावकाे उहाँ समाजमा भिजेको नेताको रुपमा परिचित हुनुहुथ्यो । उहाँले बिहे पनि गर्नु भएको थिएन । परिवारको ज्येष्ट सुपुत्रको रुपमा जन्मनु भएका कार्कीका दुईजना भाइ हुनुहुन्छ । बृद्धअवस्थाका बुवा–आमा समेत हुनुहुन्छ ।
कार्कीको निधनले नेपाली कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षति भएको सभापति तेजेन्द्र खनालले बताउनु भयो । कार्कीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिकाको व्यवस्था गर्ने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच