जुन नेता शासकीय जिम्मेवारी निर्वाहका क्रममा हर्दम निर्वाचन केद्रित हुन्छ उसले कसरी निर्वाचन जित्ने भन्ने एकमात्र चिन्ता गर्छ । निर्वाचनको चिन्ता गर्नेले देश र जनताको चिन्ता गर्दैन । देश र जनताको जसले चिन्ता इमानदारीपूर्वक गर्छ उसलाई निर्वाचनको चिन्ता गर्नै पर्दैन । जो निर्वाचन केन्द्रित हुन्छ उसको चाहना आफ्नामा मात्र केन्द्रित हुन्छ । नेताहरू सरकारमा हुँदा जनता, देशको नेतृत्व गर्दैनन् फगत गुट र पार्टीको गर्छन् ।
नेतृत्वमा रहँदा शेरबहादुर, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल आदि नेताहरू चिन्ता गर्छन् । उनीहरू चिन्तामुक्त छैनन् । चिन्ता आफ्नो पदको, परिवारको आर्थिक समृद्धिको, कार्यकर्ताको त्यसपछि टाढा गए भने पार्टीसम्म पुग्छन् । यिनीहरूलाई देशको चिन्ता भाषणमा मात्रै हुन्छ । यस्तो चिन्ता जनताको आँखामा धुलो छर्न व्यक्त गर्छन् । आफ्नो हितको रक्षा गर्न, पदमा रहन देशको र जनताको चिन्ता गरेको अभिनय गर्छन् । शेरबहादुर, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत देशलाई पालैपालो बर्बाद गर्ने स्वार्थमा वशीभूत नेताहरू के भन्छन् भने म र मेरो पार्टी सत्तामा गएन भने देश बर्बाद हुन्छ ।
नेपाली राजनीतिमा धाँमी र बोक्सीको काम सत्तारुढ हुँदा सबै नेताहरूले कुशलतापूर्वक निर्वाह गरेका छन् । भ्रष्ट नेताहरू आलोपालो शासन गर्छन् । प्रधानमन्त्रीको कुर्सीलाई दुई-चारजना नेताहरूले म्युजिकल चेयर बनाउँदा प्रधानमन्त्रीको पद र कुर्सीको इज्जत, गरिमा र प्रतिष्ठालाई यिनीहरूले लिलाम गरे ।
नेपालीलाई राम्ररी के थाह छ भने हिजो यिनीहरूकै शासनले, व्यवहारले, आचरणले, जीवनशैलीले, कार्यशैलीले देश बर्बाद भएको हो । देशलाई बर्बाद बनाउनेहरूलाई बारम्बार भोट हालेर देशलाई बर्बाद गर्ने भूमिकाका सन्दर्भमा निष्पक्ष र तटस्थ विश्लेषण गर्ने हो भने सामान्य मतदाताहरू कम जिम्मेवार छैनन् । किनकि, अहिले कांग्रेस, एमाले, माओवादीलगायत ठूला-साना दलका नेताहरूको नेतृत्वमा विगत तीनचार दशकयताको शासकीय अत्याचार, कुशासन, नातावाद, ठेकदार, तस्कर र माफियावादको बिगबिगीलाई जान्दाजान्दै, भोग्दाभोग्दै फेरि जनता तिनै पार्टीहरूलाई मतदान किन गर्छन् ? यस विषयमा गम्भीरतापूर्वक प्रवेश नगरीकन वर्तमान कुशासन, भ्रष्टाचार, अनियमितताको उपचार किमार्थ सम्भव छैन ।
नैतिकता, इमानदारी र इन्टिग्रिटी भएको नेताको नेतृत्वमा मात्रै पार्टी व्यवस्था र प्रजातान्त्रिक शासन व्यवस्था सुचारु हुनसक्छ । हिजो आन्दोलनका क्रममा इमानदारीपूर्वक काम गरेका नेताहरू सत्तारुढ हुँदा त्यो इमानदारी, नैतिकता र इन्टिग्रिटीलाई जोगाउन किन अक्षम भए ? अहिलेसम्मका सबै पार्टीहरूको नेतृत्व गर्नेहरू सरकारको नेतृत्वको क्रममा किन असफल भए ? यसको लेखाजोखा, विश्लेषण, समीक्षाका साथै उपचारका सन्दर्भमा चासो चिन्ता, आलोचना गर्नेहरू हुँदाहुँदै उपचारको सूत्र खोज्ने र त्यसको नेतृत्व गर्नेहरूको अभावको लाभ अहिले सबै पार्टीको भ्रष्ट नेतृत्वले पालैपालो लिएको छ ।
नेपाली राजनीतिमा धाँमी र बोक्सीको काम सत्तारुढ हुँदा सबै नेताहरूले कुशलतापूर्वक निर्वाह गरेका छन् । अहिले भ्रष्ट नेताहरू आलोपालो शासन गर्छन् । प्रधानमन्त्रीको कुर्सीलाई दुई-चारजना नेताहरूले म्युजिकल चेयर बनाउँदा प्रधानमन्त्रीको पद र कुर्सीको इज्जत, प्रतिष्ठालाई यिनीहरूले लिलाम गरे । अहिले उच्च पदस्थ हुनुभनेको भ्रष्टाचारको नेतृत्व गर्ने व्यक्ति हो भन्ने पहिचान बनाए । अर्थात् भ्रष्टाचार गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, कुशासन गर्ने र सुशासनको जिम्मेवारी निर्वाह गर्ने द्वैध जिम्मेवारी अहिलेका शेरबहादुर, खड्गप्रसाद ओली पुष्पकमल दाहालले निर्वाह गरेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकआपसमा स्वतन्त्र हुनुपर्छ ।
एकले अर्कोलाई कानुन, नियम, सिद्धान्तविपरीत हस्तक्षेप गर्नु हुँदैन भन्ने प्रजातान्त्रिक प्रणालीको विशेषता हो । तर, हाम्रा पार्टीहरूको नेतृत्वले सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्तिमा, समानुपातिक व्यवस्थाअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूको मनोनयनका साथै संवैधानिक नियुक्तिहरूमा प्रत्यक्ष प्रभाव जमाएका कारण ती निकायहरूमा काम गर्नेहरू स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुन सक्दैनन् । व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाका अधिकारी र पदाधिकारीहरू समेत बहुमत प्राप्त पार्टीको नेताको प्रत्यक्ष, अप्रत्यक्ष नियन्त्रण, हैकममा हुन्छन् । कुशासन र भ्रष्टाचारको नेतृत्व पनि बहुमत प्राप्त दलको नेताले नै गर्छभन्दा अत्युक्ति हुँदैन । यस्तो अवस्था र व्यवस्थामा कुशासन, अनियमितता र भ्रष्टाचार आदि शासकीय विशेषताभित्र पर्छन् । जुन विषय अहिले भ्रष्ट नेताहरूले व्यवहारमा छताछुल्ल अनुवाद गरेका छन् । शासकीय जिम्मेवारी भनेको भ्रष्टाचार गर्ने जिम्मेवारीको पर्यायवाची शब्द बनेको छ ।
प्रजातान्त्रिक शासन र शासकमा निष्पक्षता, तटस्थता, पारदर्शिता, विभेद शून्यताका गुणहरू व्यवहारमा अनुवाद गर्ने गुण, चरित्र, स्वभाव र जीवनशैली आदि अनिवार्य शर्तहरू हुन् । कार्यपालिका र व्यवस्थापिकाका अनियमितता, भ्रष्टाचार र कुशासनलाई खबरदारी गर्ने, दण्डित गर्ने दिशानिर्देश गर्ने, नजिरका माध्यमले र निर्देशनका माध्यमले ती निकायहरूलाई अनुशासित र जिम्मेवार बनाउने निकाय सर्वोच्च अदालत हो । अदालतको नियुक्ति व्यवस्था त्रुटिपूर्ण हुँदा त्यसले न्याय व्यवस्था आफैं त्रुटिपूर्ण बनेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अन्य न्यायाधीशहरूको नियुक्ति गर्दा नै सबै पार्टीहरूले आ-आफ्ना कार्यकर्ता जब नियुक्त गर्न थाले यसले न्यायालयलाई भ्रष्ट बनाए । न्यायालयका फैसलाहरू नेताहरूको आवश्यकता र भावना अनुसार हुँदा न्यायाधीश र न्यायालयप्रति अहिले जनताको विश्वास शून्यप्रायः छ । प्रजातान्त्रमा न्यायालयको शाख गिर्नु भनेको व्यवस्था र शासकको पूर्णअसफलता हो ।
आवधिक निर्वाचनको लक्ष्य र उद्देश्य भनेको एकपछि अर्को निर्वाचनले अक्षम, अयोग्य, भ्रष्ट नेताहरूलाई विस्थापित गर्छ भन्ने मान्यता हुन्छ । तर, हाम्रो प्रणालीले एकपछि अर्को निर्वाचनमा भ्रष्टलाई पुनःनिर्वाचित गर्दा देशमा भ्रष्टाचार, कुशासनजस्ता विषय संस्थागत भएका छन् । निर्वाचनले भ्रष्टहरू र अक्षमहरूलाई पुनःशासकीय हक नवीकरण गर्छ । यसको मुख्यकारण उम्मेदवार छनौटमा नै भ्रष्टहरूका मतियार प्राथमिकतामा पर्छन् । उम्मेदवार छनौटमा भएको कैफियतको परिणाम र परिणति हो वर्तमान भ्रष्टाचार कुशासन र अनियमितता । त्यसैले उम्मेदवारको चयन नै ठीक नहुँदा निर्वाचित पदाधिकारीबाट सुधारको आश मरेको छ ।
यो दुर्भाग्यपूर्ण राजनीतिको सिकार देश र जनता कहिलेसम्म हुने ? यो जटिल प्रश्नको उत्तरको पर्खाइमा जनता छन् । चाहे गठबन्धनका कारणले होस्, चाहे माफिया, तस्कर र गुण्डाहरूकै सहयोगमा किन नहोस् यिनीहरूलाई जनताले भोट दिएका कारणले नै देश बर्बाद गर्ने प्रमाणपत्र नवीकरण गर्दै आएका छन् । देश बर्बाद गर्ने प्रमाणपत्रलाई भजाएर देश बर्बाद गर्ने खेती शेरबहादुर, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल आदिले आलोपालो मिलिजुली गरेका छन् । यिनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चेयरजस्तै बनाएका छन् । यिनीहरूको भिन्नाभिनै पार्टी छ, पार्टीको भिन्नाभिन्नै सिद्धान्त छ तर यिनीहरूको लक्ष्य, उद्देश्य र गन्तव्य भने एउटै छ त्यो हो भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद, परिवारवाद र कार्यकर्तामुखी राजनीति ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थहरूको घर, क्वाटर र कार्यालयहरूमा देखिने भीडमा के आमजनता छन् ? किमार्थ छैनन् । ती सबै भ्रष्ट, तस्कर र मुनाफाखोरले घेरिएका हुन्छन् । उनीहरूलाई सर्वसाधारण जनताको अनुहार नै हेर्ने फुर्सद हुँदैन ।
सबैसँग पार्टीलाई कसरी बलियो बनाउने भन्ने एकमात्र चिन्ता, चासो र हुट्हुटी छ । पार्टी बलियो बनाउने एकमात्र लक्ष्य देश बनाउन होइन निर्वाचन जित्नका लागि मात्र हो । निर्वाचन जितेको अवस्थामा मात्र शक्ति हात पर्छ । त्यसपछि आफ्नाको व्यवस्था गर्न राज्यकोषको दुरूपयोग गर्न सकिन्छ भन्ने छुद्र स्वार्थले संगठनलाई मजबुत बनाउँछन् । जसले निर्वाचनलाई पहिलो प्राथमिकताका साथ पार्टी संगठन गर्छ उसले देशलाई भन्दा पार्टीलाई प्राथमिकतामा राख्छ । जसले देशको मुहार फेर्छु भनेर राजनीति गर्छ उसले जनताको जनजीविकाका विषयलाई प्राथमिकता दिन्छ ।
जहाँ जनताका समस्या सम्बोधन हुँदै जान्छन् त्यस बखत स्वतः जनताको मन त्यस नेता र त्यो पार्टीप्रति बिस्तारै सकारात्मक हुँदै जान्छ । सबै पार्टीहरूले मतदातालाई पार्टीको बधुवा मजदुर बनाएकाले अहिलेको मतदानले लोकप्रियता प्रकट नै गर्न सक्दैन । अहिलेसम्म जति पनि शक्ति र सत्तामा आए सबैले परिवारवाद, पार्टीवाद, नातावादलाई प्राथमिकता दिएका कारण राष्ट्रवादी नेताको अहिलेसम्म सर्वथा अभाव छ । पार्टीहरू बलिया भए परिणामस्वरूप देश दिनानुदिन कमजोर र निरीह बनेको छ । नेताहरू धनी भए भने देश गरिब भयो । गहिराइमा जाने हो भने सबै नेताहरू निःसन्देह स्वार्थी र आर्थिक रूपमा भ्रष्ट प्रमाणित हुन्छन् । देशको प्रधानमन्त्री लगायत लाभका पदमा हुनेहरूको सम्पत्ति छानबिन गर्ने स्वतन्त्र आयोग गठन हुने हो भने सबै जेल जानुपर्ने अवस्था छ ।
हाम्रो दुर्भाग्य मेरो पार्टी र मेरो नेता भनेर तिनै भ्रष्टहरूलाई आदर्श नेता मान्छौं । ती त जनताका नेता होइनन् । शक्तिका, तस्करका, व्यापारीका नेता हुन् । परिवर्तनपछि यहाँ भ्रष्टहरूले बारम्बार प्रधानमन्त्रीको अवसर पाएका छन् । एउटा व्यक्ति पाँच-पाँच पटकसम्म किन प्रधानमन्त्री बन्ने ? अहिले दृश्यमा भएका पार्टीको नेतृत्व गर्नेहरू तीन-तीनपटक प्रधानमन्त्री भइसकेका छन् । अझै प्रधानमन्त्री हुने प्रतिस्पर्धा पाँचपटक प्रधानमन्त्री भइसकेका र तीन-तीन पटक प्रधानमन्त्री भइसकेका भ्रष्टाचारले डुङडुङ गन्हाएकाबीचमात्रै किन हुन्छ ? पार्टीहरूमा राम्रा मनिस छन् उपेक्षित किन छन् ? अहिले पनि मन्त्री छान्नुपर्यो भने यी नेताहरूले स्वच्छलाई छान्दैनन् घुस्याहालाई मात्रै छान्छन् । पार्टी भनेको राजनीतिक संगठन नभएर लाग्छ यो घुस्याहाको संगठन हो ।
अहिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थहरूको घर, क्वाटर र कार्यालयमा देखिने भीडमा के आमजनता छन् ? किमार्थ छैनन् । ती सबै भ्रष्ट, तस्कर र मुनाफाखोरले घेरिएका हुन्छन् । उनीहरूलाई सर्वसाधारण जनताको अनुहार नै हेर्ने फुर्सद हुँदैन । किनकि तस्कर र माफियाहरूले नै अवैध आर्जनका तरिका, विधि, प्रविधिका विषयमा प्रशिक्षण दिएका हुन्छन् । हिजो जनताको आवाज बोल्नेहरू अहिले भ्रष्टहरूको, तस्करहरूको माफियाहरूको प्रशिक्षणले उनीहरू भ्रष्टहरूको, माफियाको उत्थान र कल्याणमा चिन्तन र मनन गरिरहेका हुन्छन् । अहिले कुनै नेताको घरमा तपाईं जानुभयो भयो भने प्रत्येक पाँचजनामा चारजना त तस्कर, दलाल र मुनाफाखोर नै हुन्छन् । त्यसलाई दिनदिनै हुने सुन तस्करीले पुष्टि गरेको छ । ठेकेदारहरू ठेक्का लिन्छन् तर काम अलपत्र पार्छन् ।
अहिलेसम्मका आन्दोलनहरू देश र जनताको अवस्था फेर्ने नाममा भए । व्यवस्था फेरिँदा जनताको अवस्था फेरिएन । फगत नेता, नातागोता र कार्यकर्ताहरूले काँचुली फेरे । अब जनता समग्र देशवासीको काँचुली फेर्ने परिवर्तनको नेतृत्व गर्ने इमानदार नेताको पर्खाइमा छन् किनकि विगतका आन्दोलनपछि भएको परिवर्तनहरूले नेताहरूको मात्रै काँचुली फेरियो नकि देश र जनताको ? (अष्ट्रेलियाको मेलबर्न शहरबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच