
काठमाडौं । सरकार परिवर्तनसँगै निजी क्षेत्रबाट फेरि उही पुरानै भेटघाट र फोटो सेसनको क्रम सुरु भएको छ । सरकार परिवर्तनसँगै निजी क्षेत्रका छाता संगठनहरूले खासगरी उद्योग व्यवसायसँग जोडिएका विभागीय मन्त्रालयका मन्त्रीहरूलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराउने गरेका छन् । तर, नेपालमा छिटो-छिटो सरकार परिवर्तन हुने समस्याका कारण निजी क्षेत्रबाट हुने यस्ता भेटघाट, ध्यानाकर्षण फोटो सेसनमै सीमित हुने गरेका छन् । समस्या राम्रोसँग अध्ययन गर्न नपाउँदै मन्त्री वा सचिवहरू फेरिने समस्याले निजी क्षेत्र पीडित छ तर पनि भेटघाटको चक्र चलिरहन्छ । त्यसो त निजी क्षेत्रका छाता संगठनहरूलाई पनि आफूले व्यावसायिक हितमा गतिविधि गरिरहेको देखाउनुपर्ने बाध्यता पनि छँदैछ ।
समस्या राम्रोसँग अध्ययन गर्न नपाउँदै मन्त्री वा सचिवहरू फेरिने समस्याले निजी क्षेत्र पीडित छ तर पनि भेटघाटको चक्र चलिरहन्छ ।
एक कुशल राजनीतिज्ञ वा कुशल उच्चपदस्थ अधिकारीहरू देशको समग्र अवस्थाप्रति अनविज्ञ हुनुहुँदैन र हुँदैनन् भन्ने आमबुझाइ छ । त्यसैले कुशल राजनीतिज्ञ वा कुशल उच्चपदस्थ अधिकारीहरू पद बहालीलगत्तै ‘एक्सन’ मा उत्रिहाल्नुपर्छ । किनभने सत्तामा पुगेपछि मात्रै देशको अवस्थाबारे अध्ययन गर्ने, समस्या पहिचान गर्ने, अनि ‘एक्सन’मा जाने हो भने चरम राजनीतिक अस्थिरता भएको मुलुक नेपालमा त्यो सम्भव छैन । तर पनि अहिलेसम्मका मन्त्री, प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीहरूको चरित्र र कार्यशैली भने कार्यान्वयनमुखी देखिएको छैन ।
यसअघि भेटघाटका शृंखलालाई निरन्तरता दिँदै नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताउनुभएको छ । विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना शहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने उहाँले माग राख्नुभयो ।
सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको भन्दै अध्यक्ष ढकालले त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न, निजी क्षेत्रलाई निर्वाध काम गर्न दिन, अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम नगर्न पनि उहाँले अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । चार वर्षअघि राजस्वले टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेकामा पनि उहाँको गुनासो थियो ।
त्यस्तै, अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने भन्दै बिनाखर्च गर्न सकिने यस्ता विषयमा कन्जुस्याइँ नगर्नसमेत ढकालले आग्रह गर्नुभयो । जुनसुकै पार्टी भए पनि आर्थिक एजेण्डामा एकरूपता हुनुपर्नेमा जोड दिँदै उहाँले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताउनुभयो ।
बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढ्नेतर्पm सचेत गराउँदै बैंक वित्तीय संस्थाको ऋण तिर्नुनपर्ने भनी गलत प्रचारप्रसार भइरहेकोप्रति सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने र कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताउनुभयो । पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायसँग पनि समन्वय गरिने उहाँको भनाइ थियो । गल्ती गर्नेले सजाय पाउने तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न नहुने भन्दै उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, ‘यो मेरो जिम्मेवारी हो, म यहाँहरूलाई हतोत्साही हुन दिन्न ।’
त्यसैगरी नेपाल बैंकर्स संघले पनि अर्थमन्त्री पुनसँग भेट गरी बैंकिङ क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ । सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदानबारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखापरेका चुनौतीबारे जानकारी गराउनुभयो ।
पछिल्लो समय वित्तीय क्षेत्रका बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटनालगायतको विषय औंल्याउँदै आगामी दिनमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक वृद्धिमा सहयोग गर्नलगायत वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ क्षेत्र सदैव तयार रहेको संघले जनाएको छ । अर्थमन्त्रीले पुनले भने बैंक तथा वित्तीय संस्थाको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखापरेका चुनौतीको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच