काठमाडौं । नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा. दिव्यश्वरी मल्लको निधन भएको छ । डा. मल्लको शनिबार बिहान निधन भएको हो । ९० वर्षीया डा. मल्ल केही दिनयता बिरामी हुनुहुन्थ्यो । उहाँको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको हो । उहाँ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पूर्वनिर्देशक तथा अध्यक्ष पनि हुनुहुन्थ्यो ।
उहाँले नेपालमा महिलाहरूको स्वास्थ्य क्षेत्रमा अमूल्य योगदान पुर्याउनुभएको छ । उहाँ अप्रत्यक्ष रूपमा राजपरिवारको सदस्य पनि हुनुहुन्थ्यो । राजा त्रिभुवनको ल्याइतेतर्फका ६ छोरीमध्येकी दोस्री छोरी दिव्यश्वरी राज्यलक्ष्मी देवीका रूपमा उहाँको वि.सं. १९९१ असोज ३ गते जन्म भएको थियो । उहाँको जन्मदर्तामा जन्मस्थान सिफल लेखिएको छ भने बुबाको नाममा टिबी शाह लेखिएको छ । टिबी शाह राजा त्रिभुवनको छोटो नाम हो । आमाको नाम भने मेरी रोज लेखिएको छ ।
राजा त्रिभुवनको ब्याइतेतर्फबाट चार छोरी र ल्याइतेतर्फबाट नौ छोरीको जन्म भएको थियो । राजा त्रिभुवनको भित्रिनी (ल्याइते) तर्फबाट जन्मेका तीन छोरीहरूको भने ९० सालको भूकम्पमा वीरशमशेरले बनाइदिएको नारायणहिटी दरबार भत्किँदा पुरिएर निधन भएको थियो ।
भित्रिनीतर्फबाट जन्मिएकी पहिलो छोरीका बारेमा कतै केही उल्लेख गरिएको पाइँदैन । अन्य पाँचमा दिव्यश्वरी राज्यलक्ष्मी, प्रजा राज्यलक्ष्मी, अचला राज्यलक्ष्मी, टीका राज्यलक्ष्मी, विमला राज्यलक्ष्मी हुनुहुन्छ । आमाको सामिप्यतामा मामाघरमा हुर्कनुभएकी उहाँले १३ वर्षको हुँदा बल्ल दरबार हाइस्कुलमा भर्ना हुन पाउनुभएको थियो । त्यहाँ ६ कक्षामा भर्ना हुनुभएकी उहाँले २००८ सालमा मेट्रिक उत्तीर्ण गर्नुभएको थियो ।
मेट्रिक उत्तीर्ण गर्नुभएपछि उहाँले दिल्लीमा गएर आइएस्सी पास गर्नुभयो र त्यहीँ लेडी होर्डिङ मेडिकल कलेजबाट एमबिबिएस गरेर नेपाल फर्कनुभएको थियो । नेपाल फर्किएपछि उहाँले वीर अस्पतालमा महिला वार्ड तथा प्रसूति वार्डमा काम गर्न थाल्नुभयो ।
उहाँले जीवनकाल सधैँ सेवा भावमा नै बिताउनुभयो । अवकाश पनि ढिलो पाउनुभयो । तर, उहाँले जीवनमा कहिल्यै राजपरिवारको सदस्यका रूपमा आफूलाई चिनाउनुभएन । साथै राजपरिवारको सदस्यका रूपमा कतै सुविधा वा सहजता पनि खोज्नुभएन । एक साधारण नेपाली परिवारको महिलाले झँै जीवनलाई संघर्ष र अरूको सेवामा बिताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच