✍️ वसन्त श्रेष्ठ
मैले चिनेका ‘पुरु’ आज वरिष्ठ साहित्यकार, पत्रकार र प्राध्यापक पुरुषोत्तम दाहाल भइसकेका छन् । कतिले प्राध्यापकका रूपमा कतिले साहित्यकारका रूपमा र कतिले वरिष्ठ पत्रकारका रूपमा चिनेका पुरुषोत्तमलाई ‘पुरु’ मात्र भनेर सम्बोधन गर्ने विषयले मलाई केहीक्षण आफ्नै मनले दिग्भ्रमित बनाउने यत्न गर्दागर्दै अन्ततः उनलाई मैले पुरुनै लेख्न उचित ठानेँ र यहाँ लेखेँ । उनलाई मैले यस लेखमा ‘पुरु’ भनेर सम्बोधन गरेर ठीक लेखें या लेखिन मलाई थाहा छैन । भनिन्छ, मानिसले पहिलो भेटलाई आत्मसात गरेर त्यसलाई निरन्तरता दिँदै आत्मीयमा परिणत गर्दछ ।
(क) पुरु लेख्नुको आधार :
त्यही आत्मीयताबाट क्रमशः सिर्जित अपनत्वको आत्मबलमा टेकेर उनलाई मैले पुरु लेख्नुको एकमात्र कारण अतीतदेखि आजपर्यन्तको प्रगाढ प्रेम, सद्भाव र सहयोगको पुनर्जागरणको द्योतकमात्र हो भन्दा अतिशयोक्ति पनि नहोला । पछिल्लो पिढीका धेरै पाठकलाई अपाच्य पनि लाग्न सक्ला ? यो लेखाई । तर, मेरा निम्ति उनी र मेरोबीचको प्रथम सम्बन्ध सूत्रको रूपमा रहेको यो पुरु शब्द मेरो लागि कसरी विस्मृत हुन सक्छ र ? जुन समयमा र उमेरमा हाम्रो सम्बन्ध स्थापित भयो उनीसँगको सम्बन्ध यही सम्बोधनबाट नै सुरु भएको हो । त्यसैले यो सम्बोधनबाटै यो लेख सुरु गरे । यो सम्बोधन हाम्रो प्रगाढ सम्बन्धको विशुद्ध निरन्तरतामात्र हो ।
विक्रम सम्वत २०२७ सालमा उनी बाह्र वर्ष र म पन्ध्र वर्षको उमेरमा हाम्रो काठमाडौंको क्षेत्रपाटीमा एउटै घरमा डेरा बस्दा भेट भएको हो । त्यसकालमा म त्रिचन्द्र कलेज पढ्थे । उनी संस्कृत पाठशालामा अध्ययन गर्ने गर्थे । हामी दुवै आ-आफ्नो तरिकाले संघर्षका कठिन पाइला नाप्दै एउटै छतमुनि भविष्यको सुनौलो सपना बोकेर रातहरू काट्ने गथ्र्यौं । हामी दुवै शहरका नयाँ अनि शहर हाम्रो लागि नौलो । त्यसैले संघर्षका ती कठिन दिनहरूमा हामीलाई समस्याले समीप बनायो र सामीप्यताले एकअर्काका परिपूरकका रूपमा परिणत गरेर सहयोगीसमेत बनायो ।
देह टाडा भए पनि सायद मनमा उनी भएर नै होला धेरैतिर उनीसँग ती दिन बिताउन पाएकोमा म आफूलाई गर्बिलो भएको महसुस गर्थे, आवश्यक प्रसंगमा उल्लेख पनि गर्थे । त्यो स्थितिमा देखेको र भेटेको पुरुलाई आज यो स्थिति र अवस्थामा आई पुगेको खबरले म भित्र असीमित खुशी र सन्तोष जहिले पनि उर्लने गथ्र्यो ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ केवल बाह्र वर्षको फुच्चो भए पनि उनमा निहित शालीनता, भद्रता, इमानदारी र तीक्ष्णताको समष्टिगत पुञ्ज विलक्षण प्रतिभाले त्यही समयमा नै उनमा एक व्यक्तित्वको स्वरूप प्रदान गरेको आभाष म र मेरा अग्रजसहित सबैलाई अनुभूत हुने गर्दथ्यो । सोही समयमै उनको प्रतिभाको बारेमा हामीबीचमा यथेष्ट चर्चा चल्दथ्यो । शान्त प्रकृति र थुप्रै जिज्ञाषाले भरिपूर्ण तर्कवितर्कले ठूलाठूला अग्रजको समेत मन जित्न सफल थिए उनी । मेरो पन्ध्र वर्षे नजरले पुरुलाई त्यसकालमा ठम्याएको व्यक्तित्व आज साक्षात हुँदा एकप्रकारको गौरव अनुभूत भइरहेको छ ।
म अमेरिकामा हुँदा नै हो उनको बारेमा पत्रपत्रिका, रेडियो र टेलिभिजनमा सुन्न र देख्न थालेको । देह टाडा भए पनि सायद मनमा उनी भएर नै होला धेरैतिर उनीसँग ती दिन बिताउन पाएकोमा म आफूलाई गर्बिलो भएको महसुस गर्थे, आवश्यक प्रसंगमा उल्लेख पनि गर्थे । त्यो स्थितिमा देखेको र भेटेको पुरुलाई आज यो स्थिति र अवस्थामा आई पुगेको खबरले म भित्र असीमित खुशी र सन्तोष जहिले पनि उर्लने गथ्र्यो । विगतको त्यो स्थितिबाट आजको यो स्थितिमा आइपुग्नका निम्ति सुरुका दिनमा उनले कत्रो संघर्ष र मिहिनेत गरेका थिए त्यो सबै मैले प्रत्यक्ष देखेको थिएँ केही त सँगै भोगेको पनि थिएँ । मैले पहिले देखेको अवस्था र उनको आजको अवस्थामा आकाश जमिनको फरक थियो । उनी हिजोको सानो फुच्चे अरूको काम गर्नुपर्ने व्यक्तिबाट आज एक सम्मानित र प्रतिष्ठित व्यक्तित्वका धनी वरिष्ठ साहित्यकार, पत्रकार र प्राध्यापक पुरुषोत्तम दाहाल भइसकेका छन् ।
(२) अन्तरनिहीत भ्रम :
मन र आत्मामा पुरुप्रति श्रद्धा र माया हुँदाहुँदै पनि विगतका विविध कारणबाट सिर्जित भ्रमले गर्दा उनी अमेरिकामा आउँदा भेट गर्ने र सम्मुख पर्ने आँट गर्न सकिन र अद्यापि सकेको छैन मैले । कतै एकाएक भेट हुँदा मलाईभन्दा उनलाई कस्तो महसुस हुने हो ? यो भ्रम अहंप्रश्न भएर उब्जियो मेरो मनमा । अमेरिकाको कुनै कार्यक्रममा या कतै उनको सम्मुख म उभिँदा उनको गरिमाको, इज्जतको वा गौरवको पर्दामा अतीत सम्झेर कतै आँच आएको उनलाई भ्रम नपरोस् भन्ने हेतुले जानेर पनि कतिपय कार्यक्रमबाट अलग रहेँ । कतिपय सामाजिक कार्यक्रमसमेत मलाई देख्दा उनलाई कस्तो महसुस होला ? भन्ने यी र यस्तै अनुत्तरित प्रश्नले मैले अमेरिकाको कुनै कार्यक्रममा या कतै उनको सम्मुख उभिने आँट गर्न सकिन । यसप्रकारको हीनता म भित्र किन उब्जियो मलाई नै थाहा छैन । तर, यस्तै हीनताबोधलाई वास्तविकतामा अनुवाद गरेर मैले अमेरिकामा उनलाई भेट्ने इच्छा गरिन यो यथार्थ हो ।
काठमाडौंबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय म्याग्जिनका रूपमा परिचित मिलाप मासिक पत्रिकाको एक कार्यक्रममा काठमाडौंको एल्लो पागोडा होटलमा प्राध्यापक पुरुषोत्तम दाहालसँग अचानक आमने-सामने भयो मेरो । आत्म लघुताभासले ग्रसित भएर भेट्न चाहेर पनि नसकेको मेरो अगाडि एक्कासि प्रफुल्ल मुद्रामा ‘वसन्त दाई !’ भन्दै उभ्भिएका उनलाई देखेर किंकर्तव्य विमूढ भएँ म । उनले मलाई गरेको अभिवादन र भेट्न खोजेको उत्सुकतामा झनै अक्क न बक्क भएर जड बन्न पुगें । केहीक्षणपछि मैले आफूलाई रूपान्तरण गर्दै हलो हाय गरेँ र उनको शालीनतामा पानी पानी भएँ । सम्झेँ उनको अमेरिका भ्रमणको समयमा म उनी बसेको शहरभन्दा एकदम नजिक नै थिए । उनको हरेक कार्यक्रमको बारेमा मलाई थाहा हुन्थ्यो । तर, अनायास बिना कुनै उनलाई सूचना उनको सम्मुख देखा पर्न म सधैं हिच्किचाई रहेँ । सधंै सोच्ने गर्थे : कसरी या कुन तरहले मैले उनलाई भेट्न सकूँ । ताकि हामीबीचमा कुनै संकोच र अप्ठेरोपना नहोस । तर, यो अप्ठ्यारोपनको स्थिति त मेरो मात्र पो रहेछ । पुरु त यो स्थिति यो संकोचबाट पहिला नै फुत्किसकेका रहेछन् । उनी त त्यस्तो स्थितिको जञ्जालबाट धेरै पहिला नै उम्किसकेको रहेछन् । कत्रो महानता !
(३) प्रेमपूर्ण भेट खुला सम्वाद
भेटमा हामीले अतीतदेखि वर्तमानसम्मका कुरा गर्न चाहृयौं तर समयाभावले सम्भव भएन । धितमार्ने गरी कुरा गर्न अन्ततः ‘हिमालय टाइम्स’ राष्ट्रिय दैनिक पत्रिकाको कार्यालय मध्य बानेश्वरमा भेट गर्नेगरी आमन्त्रण गरे पुरुले मलाई । पुरुसँगको भेटघाटका लागि सहयोगी बन्ने भए साहित्यकार मित्र खेमनाथ दाहाल । प्रधान सम्पादक पुरुषोत्तम दाहालको निमन्त्रणा मान्न दुई दिनपछि हामी मित्र खेम, म र विद्या पुग्यौ उनको अफिस मध्य बानेश्वरमा । हामी पुग्ने वित्तिकै पुरुले प्रफुल्ल मुद्रामा स्वागत गरे आफ्नै च्याम्बरमा । मैले आफ्नो पुस्तक सप्रेम उपहारमा दिए । मेरो दुईटा पुस्तकको बदलामा उनले चारवटा उनका लोकप्रिय र सर्वाधिक बिक्री भएका पुस्तकहरू मेरो हातमा थमाए ।
उनका भरखरै प्राप्त गरेका कालपात्र (उपन्यास) काला बादलमा उज्याला पाइला (कवितासंग्रह) किस्ती, शान्ता (उपन्यास)लगायत कृतिहरू मैले पल्टाउँदै गर्दा उनले उनको अति महत्वाकांक्षी पुस्तक ‘मेरो पत्रकारिता’ मेरो हातमा थमाउँदै ‘वसन्त दाई यस पुस्तकभित्र कहीं कतै तपाईं पनि हुनुहुन्छ है’ भने । म अचम्भित भएँ । उत्सुकता जाग्यो । उनको पत्रकारिताको ऐतिहासिक पुस्तकभित्र म कसरी अटाएँ छुँ । मेरो व्यग्रता बेस्सरी बढ्यो । तर, पाँच सय पेजको त्यो मोटो पुस्तक छिचोल्ने समय नेपालमा रहँदा पाउँदै पाइन । तर यसपटक नेपालमा रहँदा पुरुसँगको भेटले जीवनका छुटेका अनगिन्ती पानाहरूलाई पुनः बुझ्ने जोड्ने अवसर पाएकोले मैले यात्रा सफल भएको अनुभूत भने अवश्य गरेँ ।
(४) जब म ‘मेरो पत्रकारिता’ भित्र प्रवेश गरेँ :
अमेरिका आइपुगेपछि पुरुको ‘मेरो पत्रकारिता’ भित्र म आफूलाई खोज्न थालें । त्यो आत्मकथा पढ्न थालेपछि धेरै कुरा मनमा खेल्न थाले । वास्तवमा आत्मकथा भनेको के हो त ? मैले क्रमशः यी भनाइलाई आत्मसात गर्दै यो कृति र यी निम्न भनाइमा तादम्यता खोज्न थालेँ ‘आत्मकथा या आत्म वृतान्त जे नाम दिए पनि त्यो कुनै व्यक्तिले जीवनभर भोगेका घटना क्रमहरूको लिखित शृंखला हो । कुनै पनि आत्मकथा पढ्दा उसको जीवनशैली या राजनीतिक विचारसँग सहमत हुनुपर्ने जरुरी छैन’, (ग्रेस फ्लेमिङ्ग), ‘आत्म वृतान्त लेख्नलाई इमानदार हुनुपर्छ । तर, इमानदार हुन् सकिँदैन (बालकृष्ण सम), ‘राजनीतिमा सबैलाई पोशाक चाहिन्छ । तर, साहित्यमा सम्राट पनि वस्त्रविहीन हुन्छन ।’ (विश्वेश्वरप्रसाद कोइराला) । यो कृतिमा यी माथिका सबै भनाइहरूको बिम्ब पाएँ र पुरु इमानदारीका साथ खरो उत्रेको अनुभूत गरेँ मैले ।
अहिले आफैँलाई थक्कथक्क लाग्दै छ । यो पुस्तक मैले पहिला नै अध्ययन गर्न किन प्राप्त गर्न सकिन ? उनीसँगको मेरो सम्बन्ध बारेमा उनले निर्धक्क लेख्नसक्ने आँट कसरी कहाँबाट प्राप्त गरेँ । म हैरान भएँ । म कति निरीह र सङ्कीर्ण रहेछु अहिले थाहा हुँदैछ म आफैँलाई । उसको हृदय कति विशाल र निष्कपट रहेछ म थाहा पाउँदै छु बल्ल ।
विसं २०७३ सालमा प्रकाशित ‘मेरो पत्रकारिता’ पुस्तकमा त उनले हाम्रोबीचको सम्बन्धको बारेमा इमानदारीपूर्वक प्रष्ट लेखेका रहेछन् तर म भने २०७९ सालसम्म पनि त्यही सम्बन्धको अपव्याख्या गर्दै बीचैमा बिलखबन्दमा भौँतारिरहेको रहेछु । अहिले आफैँलाई थक्कथक्क लाग्दै छ । यो पुस्तक मैले पहिला नै अध्ययन गर्न किन प्राप्त गर्न सकिन ? उनीसँगको मेरो सम्बन्ध बारेमा उनले निर्धक्क लेख्नसक्ने आँट कसरी कहाँबाट प्राप्त गरेँ । म हैरान भएँ । म कति निरीह र सङ्कीर्ण रहेछु अहिले थाहा हुँदैछ म आफैँलाई । उसको हृदय कति विशाल र निष्कपट रहेछ म थाहा पाउँदै छु बल्ल ।
(५) आत्मकथाको सही अर्थ :
बजारमा आएका प्रायः आत्मकथामा यस प्रकारको इमानदारीता विरलै भेटिन्छ । आफ्नो अहम्, घमण्ड र विलासिताका कुराबाहेक केही लेखिएका देखिन्नन् । आफ्नो लघुताभाषलाई महानतामा परिणत गर्न बढाइचढाइ झुट र कपोलकल्पित घटनाका फेहरिस्त बनाएर प्रकाशित कृतिहरू केवल दम्भका पोका र मसी र कागजका वरवादीबाहेक अरू के हुन सक्दछन् ? सत्य कुरा लुकाएर झुठ र फरेवका बग्रेल्ती किस्साभित्र रचित कृतिलाई लोभीपापीहरू गोहीको आँसु चुहाउँदै निर्र्लज्ज प्रशंसा गर्दै समाजमा भ्रम सिर्जना गर्न उद्यत् रहन्छन् । तर, यी सबैभन्दा अलग र भिन्न ‘मेरो पत्रकारिता’ पुस्तक रहेको छ । यस पुस्तकमा पुरुले आफ्नो संघर्षका गाथा कतै पनि कहीँ पनि लुकाएको र छोपेको मैले भेटिन । उनको संघर्षको साँक्षी म पनि हुँ । मेरो नाम यस पुस्तकमा समाबेश गर्नु उनको हृदयको विशालता, उनको महानता र सत्यवादी चरित्रको एक जाज्वल्यमान व्यक्तित्व हुन्भन्दा फरक नपर्ला । यस पुस्तकमा उनको प्रारम्भिक कालमा जीवीका र अध्ययनका लागि गरेका उनका संघर्षका कथाभित्र मेरा थुप्रै मित्रहरूको पनि नाम अंकित छ ।
(६) दुःखको पहाडको उकालोमा :
कसरी लेख्न सके होलान उनले यी दुःखका पहाडका समयका नालीबेली । उनले उल्लेख नगर्न पनि सक्थे । तर, घटना र परिस्थितिको जुन उनले यस पुस्तकमा वर्णन गरे त्यसले उनको इमानदारीता र सत्चरित्रको उच्चाइ अग्लाई धेरैमाथि नापे । सबैको मन मुटुमा बस्न सफल बने । त्यसैले मलाई भन्न मन लाग्यो पुरु मेरो नजरमा तिमी एक आदर्श व्यक्ति हौं ।
मेरो कर्मथलो अमेरिका जहाँ म तीन दशकदेखि बसोवास गरिरहेको छु । यहाँ कामको हिसाबले कुनै वर्गीकरण गरिएको पाइँदैन । जतिसुकै ठूलो र सानो ओहदाको कामलाई पनि समान तवरले हेरिने परिपाटी छ । काम नगरेकोलाई भन्दा जुनै काम गर्ने व्यक्तिलाई राम्रो दृष्टिले हेर्ने गरिन्छ । अझ प्रतिष्ठित सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूले आफ्नो विगतका कठीन दिनका संघर्षका, अभावका, आप्रवासी अवस्थाका कुराहरू जनमानसमा प्रष्ट जानकारी दिएर आफ्नो सफलताको इतिहास बताएर लोकप्रियता हासिल गर्ने गर्छन् । जुनसुकै हैसियतका व्यक्तिहरूले सानोभन्दा सानो काम गर्न कुनै हिच्किचाहट देखाउँदैनन् । तल्लो स्तरबाट माथि उठेर माथिल्लो स्तरको हैसियत बनाएका कतिपय प्रतिष्ठित व्यक्तिहरूले आफ्नो विगतका दुःखका दिनहरूको कथा लेखेर पुस्तक पनि लेखेर गौरवान्वित महसुस गर्ने गर्छन् । यहाँको समाजले यी कुरालाई आदर्श मानेका छन् । यो विकसित देशको संस्कार र संस्कृति हो । तर, हाम्रो देशमा अझ यो संस्कार र संस्कृतिको विकास हुन पाएको अवस्था छैन । त्यसैले ती आफ्ना संघर्षका दुःखका कथाहरू लुकाउने गरिन्छन । आत्मकथा या जीवनीमा पनि कोही इमानदार बनेका देखिँदैनन् । समाजले देखेका, बुझेका या जानेका कतिपय प्रबुद्ध वर्ग भनेर जानिएका व्यक्तिका आत्मकथा र जीवनी अध्ययन गर्दा प्रष्ट थाहा पाइन्छ ।
(७) सत्यतथ्यको कसीमा मेरो पत्रकारिता :
तर, यी सबका बाबजुद प्राध्यापक, लेखक तथा पत्रकार पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ पुस्तक सत्यता र यथार्थताको कसीमा लेखिएको एउटा इमानदार पुस्तक हो भन्ने मेरो ठहर छ । तत्कालीन देशको स्थिति परिस्थितिको घटना परिघटनाको चित्रणमा र अवस्थाको बारेमा इमानदारीतापूर्वक प्रेषण गरिएको छ भन्ने मलाई लाग्दछ । रहृयो मूल्यांकन र विचारको कुरा । ती त सबैको आ-आफ्नो मत रहेको हुन्छ । त्यसमा कसैको दुई मत होलाजस्तो लाग्दैन । ‘मेरो पत्रकारिता’ पुस्तक आत्मकथामा मात्र सीमित नरही नेपालको राजनीति र पत्रकारिताको इतिहासको रूपमा संग्रहणीय रहेको छ । यो ग्रन्थ मुलुकको राजनीति उतार चढावकालीन समयका, सामाजिक, आर्थिक र राजनीतिक समग्र विषयका विहङ्गम दृश्य यस ग्रन्थमा समावेश भएको पाइन्छ । उनले भोगेका तीता-मीठा अनुभवहरूको यथार्थ फेहरिस्त पाइन्छन् यस पुस्तकमा । म पुरुलाई साधुवाद दिन्छु ।
म्याग्लुङ बजार, तेह्रथुम ।
(लेखक श्रेष्ठ वरिष्ठ साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को पूर्व अध्यक्ष र नेपाली साहित्य प्रतिष्ठानको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ हाल सपरिवार अमेरिकाको उड्ब्रिज भर्जिनियामा बसोवास गरिरहनु भएको छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच