राधिका बुढाथोकी/हिटा
सिन्धुली । सानै उमेरमा विवाह भयो, लेखपढ गर्न पाउनुभएन । हातमा कुनै सीप पनि छैन । कमाउने श्रीमान् बलात्कारको आरोपमा जेल चलान भएको वर्ष दिन बित्यो । यतिबेला उहाँलाई काखका पाँच सन्तानहरूको पेट भर्न मुस्किल परेको छ । उहाँ हुनुहुन्छ, दुधौली नगरपालिका–७ पोखरेमा बस्दै आउनुभएकी २५ वर्षीया ममता सदा ।
दिनभर काम नपाए रात र बिहान भोकै हुने सदा बताउनुहुन्छ । ‘गाउँमा बनिबुतोको काम पनि सधैँ पाइँदैन, काम पाएको बेला पेटभरि खान नपाए पनि भोक मेटिन्छ । ज्याला, मजदुरी नमिल्दा सबैजना भोकभोकै बस्छौँ,’ उहाँले भन्नुभयो, ‘भोकले छोराछोरी रुन्छन् । उनीहरूलाई पेटभरि खुवाउन नसक्दाको पीडाले म रुन्छु ।’
छोरीहरू राधिका, राधा, शिवानी, रीतिका र छोरा देव सदा मंगलबार दिउँसो २ बजे छिमेकीसँग मागेर ल्याएको फुक्को चिउरा तानातान गरेर खाँदै थिए । जेठी छोरी ११ वर्षीया राधिका सदाले भन्नुभयो, ‘हिजो साँझ मागेर ल्याएको चामल थोरै थियो, हामीले खायौँ, आमालाई खाना पुगेन, भोकै सुत्नुभयो ।’
साँघुरो कोठामा एउटा झुल, तन्ना, केही च्यातिएका मैला लुगा र भाँडाकुँडा छरिएका थिए । खाने अन्न केही थिएन । अघिल्लो दिनदेखि बिरामी भएर काममा जान नसकेको सदाले सुनाउनुभयो । ‘चामल नभएर बिहान खाना पकाइनँ, छोराछोरी भोकले छट्पटाएका छन् । मैले यिनीहरूको पेट कसरी भर्नु ?,’ माइती घरमा एउटा कोठा लिएर बस्नुभएकी सदाले भन्नुभयो ।
‘घरमा खाना नपाएको दिन बालबच्चाहरू भोक सहन नसकेर भौतारिने गर्छन्, छिमेकीहरूले पनि एक/दुई दिन पो दिन्छन्, सधैँ नसकिँदो रहेछ । हामी पनि हुनेखाने परिवारका कहाँ छौँ र,’ छिमेकी आशा सदाले सुनाउनुभयो ।
विवाह गरेर गएको घरपट्टिको आर्थिक अवस्था नाजुक छ । खाने गाँस मात्र होइन, बस्ने बासको समेत समस्या भएको र परिवारका सदस्यहरूबाट पनि हेलित भएर माइतीको शरण परेको उहाँले बताउनुभयो । माइती घरपट्टिको आर्थिक अवस्था पनि उस्तै नाजुक छ ।
रोजीरोटीका लागि विदेशिनुभएका बुबाको शव फर्कियो । आमा सुनितादेवी मुसहर अर्काको मेलोमा काम गरेर जसोतसो आफ्नो जीविका धान्दै आइरहनुभएको छ । छोराबुहारीहरूलाई पनि दुःख भएको उहाँले बताउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :