सरकारलाई सघाउन माधव नेपाल सकारात्मक, जसपाका पुराना माग कायमै

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) वर्तमान सरकारलाई सघाउन सकारात्मक देखिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सकारात्मक देखिनुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष नेपालले सरकारलाई विश्वासको मत दिन सकिने संकेत गर्नुभएको बालुवाटारनिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्ष नेपालले विश्वासको मत दिन आफूहरू सकारात्मक रहेको प्रधानमन्त्री प्रचण्डलाई सुनाउनुभएको थियो ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारलाई समर्थन गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको थियो । जवाफमा अध्यक्ष नेपालले सरकारलाई समर्थन गर्न आफूहरू सकारात्मक रहेको भन्दै उपयुक्त समयमा निर्णय गर्ने सुनाउनुभएको थियो । त्यसका लागि पार्टीभित्र छलफल गरेर निर्णय लिइने अध्यक्ष नेपालले बताउनुभयो । ‘उहाँ (प्रधानमन्त्री प्रचण्ड)ले विश्वासको मत दिनुप¥यो भनेर माग गर्नुभएको छ । हामी यसबारे पार्टीमा छलफल गरेर टुंगो लगाउँछौँ,’ बैठकपछि अध्यक्ष नेपालले भन्नुभयो, ‘सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन । खालि विश्वासको मतको बारेमा कुरा भएको हो ।’

यसअघि सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न बसेको समाजवादीको पोलिटब्युरो बैठक यसबारे निर्णय नै नगरी सकिएको थियो । समर्थन गर्ने र नगर्नेबारे दुईथरि मत देखिएपछि बैठकले निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्ड एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन पहल गरिरहनु भएको छ । अध्यक्ष नेपाललाई पनि पार्टी भित्रैबाट सरकारमा सहभागी हुन दबाब आइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । उहाँलाई तीनजना स्वतन्त्र सांसदको समेत साथ रहेको छ । सरकारलाई समर्थन गरेका सात दलमध्ये चार दल सरकारमा सहभागी भएका छन् भने राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छैनन् । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ भने जसपा र राप्रपाले सरकारमा सहभागी हुन सर्तहरू राखिरहेका छन् ।

पुस २६ गतेसम्म निर्णय गर्छौं : नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे हतार नभएको बताउनुभएको छ । पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरूलाई बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दैै अध्यक्ष नेपालले सरकारको नीति र कार्यक्रम नै स्पष्ट भइनसकेको अवस्थामा समर्थन गर्न हतार गर्न नहुने बताउनुभयो । सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पुस २६ गतेसम्म निर्णय हुने अध्यक्ष नेपालको भनाइ छ । ‘यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्न पाएकै छैनौँ ।

प्रचण्डजीको अनुहार हेरेर ल समर्थन गरिदियौँ भन्दिउँला । अनुहार मात्र हेरेर समर्थन गरिदिनुपर्छ भन्ने सुन्न मन लागेको भए गरिदिउँला,’ उहाँले भन्नुभयो, ‘अनुहारले मात्र हुँदैन, त्यहाँ अनेक नाममा के के गर्छन् थाहा छैन । हामीलाई केही पनि जानकारी छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने हामीलाई केको हतार ? पुस २६ गते विश्वासको मत प्राप्त गर्ने कुरा छ । २६ गतेका दिनसम्म निर्णय गरे भैगो नि ।’

जसपाका तीन सर्त
सरकारलाई समर्थन गरेको जसपाले भने सरकारमा सहभागी हुन सर्त अघि सारेको छ । जसपा राजनीतिक समितिको बैठकले सरकारमा सहभागी हुन तीनवटा सर्त अघि सारेको हो । संघीयता, गणतन्त्र र धर्म निरपेक्षतालाई अस्वीकार गर्ने शक्तिहरू सरकारमा सहभागी भएकाले यी विषयमा अनुकूल हुने गरी सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रममा आए सरकारमा सहभागी हुने जसपाको पहिलो सर्त छ । दोस्रो सर्तमा जसपाले पार्टीले उठाउँदै आएको संविधान संशोधनको विषय, नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति हुनुपर्ने अवस्था देखिए सरकारमा सहभागी हुने जनाएको छ । सम्मानजनक शक्ति बाँडफाँट भए मात्रै सरकारमा सहभागी हुने जसपाले तेस्रो सर्त राखेको छ ।

ती माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने जसपाले निर्णय गरेको छ । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सरकारमा सहभागी हुन पाँच सर्त अघि सारेको थियो । जसमा पुस २७ गते राष्ट्रिय दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिनुपर्नेसमेत सर्त रहेको छ । उसो त नागरिक उन्मुक्ति पार्टीले पनि टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीलगायत बन्दी रिहाइको माग गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?