काठमाडौं । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा निर्माण गरिएको चार सय केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो चार सय केभीको सबस्टेसन उद्घाटन गर्नुभएको हो ।
इनरुवामा चार सय सय र दुर्ई सय २० केभीका दुर्ई सबस्टेसन निर्माण गरिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाबाट उक्त सबस्टेसन निर्माण गरिएको हो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । चार सय र दुई सय केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले करिब चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसन उद्घाटनसँगै सो क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताउनुभयो ।
देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला-ठूला पूर्वाधारको निर्माणले आशाको सञ्चार गराएको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरूपमा आपूर्तिसमेत गरिने भएकाले सो क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रसारण लाइन निर्माणमा वन क्षेत्र प्रयोग, रुख कटान तथा जग्गा अधिकरणमा रहेको समस्या समाधानमा छिट्टै महत्वपूर्ण निर्णय गर्दैछौँ, केही दिनभित्र सुकुम्बासीलाई जग्गा वितरण गर्न र वन विकासविरोधी भएको मान्यता अन्त्य गर्न केही ऐतिहासिक र महत्वपूर्ण निर्णय गर्दैछौँ, मेरो कार्यकालको एक वर्ष पूरा भएको छ, अब विकास र सुशासनका लागि धक्का दिएर काम गरिनेछ ।’
गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले नेपालमा रहेको अपार जलविद्युत््को सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको भन्दै उक्त प्रारम्भिक सहमतिलाई मूर्तरूप दिन छिट्टै नेपालमा भारतीय उच्च अधिकारीहरूको उपस्थितिमा अन्तिम सम्झौतामा हस्ताक्षर गरिने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अघि बढाएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला शहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्ती अँध्यारोमै थिए, अहिले करिब ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ, आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरूपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन अब छिट्टै आउँदैछ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको जलविद्युत् विकासको विगतको ७८ वर्षे इतिहासमा अढाइ सय मेगावाट मात्र विद्युत् उत्पादन भएकोमा हाल एक वर्षमा पाँच सय मेगावाट विद्युत् थपिनुले देश बर्बादीतर्फ नभएर प्रगतितर्फ बढेको तथ्य र तथ्यांकले पनि पुष्टि गरेको दाबी गर्नुभयो । आगामी १० वर्षभित्र करिब ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने विश्वसनीय आधार रहेको उहाँको भनाइ थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबस्टेसन सञ्चालनसँगै प्रदेशका उद्योगी व्यवसायीले बेहोरिरहेको विद्युत्् आपूर्ति समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोशी प्रदेशले निजी क्षेत्रलाई सरकारको अंगका रूपमा राखेर भौतिकरूपमा मात्र नभई मानवीय विकास सुरु गरेको बताउनुभयो ।
संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सबस्टेसन सञ्चालनमा आउनु खुसी र गर्वको विषय भएको भन्दै यसले देशको अर्थतन्त्रमा अहं भूमिका निर्वाह गर्ने बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले सबस्टेसन देशभित्रको विद्युत् खपत र निर्यातका लागि कोशेढुंगा साबित हुने बताउनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीयरूपमा खपत गर्न र देशभित्र खपत गरी बढी भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।’
हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको उक्त सबस्टेसनमा तीन सय १५ एमभिएका तीन थान पावर ट्रान्सफर्मर रहेका छन् । इनरुवा-ढल्केबर चार सय केभी प्रसारण लाइन निर्माणपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच