विराटनगर । डिजल खपत गरिरहेको उद्योगमा सोलार रूफटप प्रविधि जडान गरी कार्बनोत्सर्जन घटाउन सकिने विज्ञहरूले बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले उद्योगी व्यवसायीबीच सोलार रूफटपका विषयमा छलफलसमेत गरेको छ ।
सरकारको ऊर्जा, जलस्रोत तथ सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा भएको अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले सौर्य ऊर्जा उद्योगका लागि सस्तो वैकल्पिक ऊर्जा भन्दै पर्याप्त विद्युत्् उपलब्ध नभइरहेको अवस्थामा सौर्य ऊर्जाबाट उद्योग सञ्चालन उत्तम विकल्प हुने बताउनुभयो । सौर्य ऊर्जाको प्राविधिक पक्ष विश्लेषण गरी जडान गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्वव्यापीरूपमा भइरहेको वातावरणीय प्रदूषण र त्यसबाट मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यूनीकरणमा समेत सौर्य ऊर्जा उपयोगी रहेको बताउनुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य ऊर्जा संयोजक निरज सापकोटाले नेपाल र जर्मन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रमुख उद्देश्य सौर्य ऊर्जाको प्रवद्र्धनका माध्यमबाट कार्बनोत्सर्जन घटाउनु नै रहेको भन्दै सौर्य ऊर्जाको कार्यान्वयन पक्षमाथि प्रकाश पार्नुभएको थियो । उक्त प्रविधि उद्योग स्वयंले आफ्नै खर्चमा जडान गर्न सक्ने वा अन्य पक्षमार्फत् जडान गराई आफूलाई आवश्यक ऊर्जा किनेर उपयोग गर्न सक्ने उहाँको भनाइ थियो ।
परियोजनाका डेपुटी टिम लिडर खेमराज भण्डारीले सौर्य ऊर्जाको प्राविधिक र आर्थिक पक्षका विषयमा जानकारी दिँदै सौर्य ऊर्जा प्रयोगबाट उद्योगले डिजल खपत घटाउन सक्ने बताउनुभयो । उक्त प्रविधिबाट गुणस्तरीय विद्युत् उपलब्ध हुनुका साथै प्रतियुनिट दर सस्तो पर्न जाने भन्दै उद्योगको खर्च न्यूनीकरणमा समेत सहयोगी हुने उहाँको भनाइ थियो ।
परियोजनाको वातावरणीय र सामाजिक विज्ञ अनुसुया जोशीले सौर्य ऊर्जा वातावरणीय दृष्टिकोणले उपयुक्त हुने बताउनुभयो । एक मेगावाटभन्दा माथिको सौर्य ऊर्जा जडान गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आर्थिक पक्षबाट पनि प्रविधि उपयुक्त भएको बताउनुभयो ।
कार्यक्रममा मोरङ व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधि र विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापकको सहभागिता रहेको थियो ।
पछिल्लो समय विश्वले नै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नवीकरणीय ऊर्जामा जोड दिँदै आएको छ । हालै संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न कोप-२८ ले पनि सन् २०३० सम्म नवीकरणीय ऊर्जाको प्रयोग र उत्पादन दोब्बर बनाउने लक्ष्य राखेको छ । नेपालबाट कोप २८ मा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले पनि नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सोहीअनुसार नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
हालै अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले उक्त जानकारी दिनुभएको हो । उहाँले वैकल्पिक ऊर्जा तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा बदलिएको परिस्थिति तथा समयको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सरकारले ‘नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी विधेयक’ संसद्मा पेश गर्न लागेको बताउनुभएको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले वैकल्पिक ऊर्जालाई नवीकरणीय ऊर्जा केन्द्रित बनाउन नीति बनिरहेको बताउनुभएको छ । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालले कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्न नवीकरणीय ऊर्जाको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउनुभएको थियो । केन्द्रका अनुसार देशभरमा वैकल्पिक ऊर्जाका आयोजनाबाट उत्पादित विद्युत्को जडित क्षमता ८८ मेगावाट पुगेको छ । केन्द्रअन्तर्गत पछिल्लो २७ वर्षमा सञ्चालित विविध अनुदानका योजनामार्फत् लगानी भएका सौर्य तथा लघु जलविद्युत् आयोजनाबाट उक्त विद्युत् उत्पादन भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच