सुनतस्करी र वित्तीय संस्थाहरूदेखि जग्गाजमिन सम्बन्धी अनियमितताका अनेकौं प्रकरण बाहिर आइरहेका छन् । त्यसमा बालमन्दिरको ठूलो परिमाणको जग्गा विशाल ग्रुपले उपयोग गरिरहेको प्रसंग पनि चर्चामा छ । वर्तमान गृहमन्त्रीबाट यसको छानविनका लागि सक्रियताको अपेक्षा हुनु अन्यथा हुँदैन । यद्यपि स्वयं गृहमन्त्रीले उहाँको आफ्नै बारेका शंकाहरूलाई विश्वसनीय हुनेगरी निवारण गर्नु आवश्यक छ । त्यो निवारण गर्नेसँगै विद्यमान अनेक आपराधिक विवादहरू सुल्झाउन आन्तरिक संयन्त्रहरूको सही उपयोग गर्नु जरुरी छ ।
सरकारले गर्नुपर्ने काम अनन्त छन् । यस पहिले पनि यस्ता अनेकौं प्रकरणहरू एकपछि अर्को सार्वजनिक हुँदै आएका हुन् । परापूर्वकालदेखि नै देश सञ्चालनको जिम्मा पाएका व्यक्ति, विभिन्न निकाय देशकै लागि काम गर्दै आइरहेका छन् र आजका मितिसम्म पनि सरकारले तिनै काम नै गरिरहेका छ । आजमात्र होइन भोलिका दिनहरूमा पनि सरकारका कामहरू गरेर सकिँदैनन्, गरिरहनै पर्छ । यो नित्य निरन्तरको कार्य हो । भोलिका दिनमा सरकारले गर्नुपर्ने यस्ता कामहरू नयाँ-नयाँ स्वरूपमा सिर्जना भइरहन्छन् । विभिन्न समयमा बनेका सरकारहरूमध्ये कुन सरकारले राम्रो काम गर्छ भन्ने चाहिँ महत्वको विषय बन्छ र त्यही आधारमा सरकारको मूल्यांकन हुने गर्दछ ।
सरकारको फेरबदलले केही काम प्रभावित हुन्छन् नै तर यस सरकारले पहिलेका सरकारले भन्दा राम्रा काम गरेर देखाउन सक्यो भने सरकारको समीकरण बदलिएको सार्थकता हुन्छ । त्यो हेर्न अहिले नै हतार गरिहाल्नु हुँदैन । निवर्तमान सरकारका गृहमन्त्रीले भ्रष्टाचार र अनियमिमता विरुद्धमा राम्रा कामहरूको सुरुवात गर्नुभएकै हो तर विस्तारै शिथिलता आएको जस्तो महसुस पछिल्लो चरणमा हुन थालेको थियो । लहरो तान्दा पहरो गर्जिने भएका कारण उहाँकै पार्टीबाट समेत उहाँलाई दबाब थियो भन्ने अड्कल र अनुमान हुने गरेका थिए । हाल बनेको सरकारमा उहाँले गृह मन्त्रालय पाउनुभएन । यो उहाँको चाहना हुनसक्छ र सरकार बनाउनेहरूको चाहना पनि हुनसक्छ अथवा मन्त्रालयको बाँडफाँटमा उहाँले गृह नपाउनु भएको पनि हुनसक्छ ।
जे भए पनि उहाँलाई गृह दिइएन, यो उहाँलाई गृहबाट अन्त पठाउने एउटा मौका हो भन्ने अर्थमा सरकार निर्माता र सरकारका मानिससम्म प्रभाव जमाउन सक्ने माफियाहरूकै कारण उहाँ गृहबाट अन्यत्र सर्नुपरेको हुनसक्छ । देख्नका लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई गृह नै दिनुपर्ने भएका कारण नारायणकाजीलाई अन्यत्र पठाइएको हो भन्न सजिलो भएको छ । हाल गृहमन्त्रीका रूपमा रास्वपाका रवि लामिछाने नियुक्त हुनुभएको छ । कुनै चलचित्रको नायकका शैलीमा आउनुभएका उहाँ पहिले पनि छोटो समय गृहमन्त्री बन्नुभएको हो । लगत्तै विभिन्न विवादमा मुछिनुभयो । उहाँको सांसद पद नै नागरिकताका कारण खोसिन पुग्यो र पछि उपनिर्वाचनमा पनि विजयी बन्नुभयो ।
हाल उहाँका सामु पनि अनगिन्ति समस्या छन् । उहाँले नारायणकाजीले सुरुवात गरेका विषयलाई निरन्तरता दिने बताउनुभएको छ । उहाँका सामु सबैभन्दा बढी जग्गा जमिनको दपोट र अनियमिता बढी छन् । तिनमा कति पहल गर्नुहुन्छ र कति सफल बन्नुहुन्छ त्यो भविष्यमा देखिने नै छ । नत्र उहाँ स्टन्टबाजी गर्न र प्रचण्ड नेतृत्वको सरकारको बहुमत पुर्याएर कठपुतली बन्नमात्र आउनुभएको रहेछ भनेर नेपालको राजनीतिक इतिहासले निर्मम समीक्षा गर्नेछ । विवादास्पद छविको भारी बोके पनि आश्चर्यजनक रूपले देखिनु भएका लामिछाने र उहाँको राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको वर्तमानको सम्मान, लगावमा आकर्षण जोगाउन सक्नुभयो भने त्यो ठूलो सफलता मानिनेछ । कुनै पनि पार्टी सरकारमा जानु भनेको पार्टीलाई अधोगतिको मार्गतर्फ धकेल्नु हो भन्ने मान्यता नेपाली राजनीतिको क्षेत्रमा स्थापित बन्दै आएको छ । त्यो मान्यता र स्थापनालाई चिर्ने हो भने शासनमा पुग्नेहरूको छवि शुद्ध हुनुपर्ने र शुद्धताकासाथ पारदर्शी ढंगले कार्य क्षमता देखाउनुपर्ने हुन्छ ।
यस मान्यताकासाथ आपूmलाई उभ्याउन सक्नुभयो भने वर्तमान गृहमन्त्री सफल बन्नुभयो भनेर मान्दा हुन्छ । वर्तमान नेपाल तस्करीको स्वर्ग बन्दै गएको कुरा उच्चपदस्थहरूका छोराछोरीले गरेको हर्कतबाटै पुष्टि हुन्छ । किलोका किलो सुन तस्करीमा पूर्वउपराष्ट्रपतिका छोराहरूको संलग्नताले प्रमाणित गरेको छ । पदीय हैसियतका कारण उनीहरूलाई उन्मुक्ति दिने परम्परामा रवि तगारो बन्न सक्नुहोला कि नहोला ? त्यसबाट उहाँको मूल्यांकन गर्न सकिन्छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अपराधी हालसम्म फेला नपर्नु देशकै लागि लज्जाको विषय हो, यसमा पनि उच्च पदाधिकारीहरूकै आफन्तहरूको संलग्नताका कारण यसलाई ‘डिसमिस’ बनाइएको हो भन्ने शंका व्याप्त छ ।
के वर्तमान गृहमन्त्रीले यसको फाइल पुनः खोल्न निर्देशन दिन सक्नुहोला त ? यसका साथै संघीय राजधानीलगायत विभिन्न ठाउँका जग्गासम्बन्धी अपराधका अनेकौं प्रकरण बाहिर आइरहेका छन् । प्रायः यस्ता सबै प्रकरणमा उच्चपदस्थ वा अत्यन्त प्रभावशाली व्यक्ति वा परिवारहरूकै संलग्नता रहने गरेको छ । त्यस्ता कतिपय व्यक्तिहरू पदीय हैसियतमै रहँदै आएका छन् । उहाँ तिनका विरुद्धमा खरो उत्रिन सक्नुहोला ? तराईमा बिघाका बिघा, उपत्यकाका रोपनीका रोपनी जग्गा ठूलठूलो परिमाण अनियमितता र अपचलनमा पर्दै आएका छन् । तिनको यथार्थ र निष्पक्ष छानविनका लागि उहाँ कतै नढल्किने गरी चट्टान भएर उभिन सक्नुपर्छ । यस प्रकारको भूमिका निर्वाह गर्न सक्नुभयो भने भोलिका दिनमा उहाँको सफलता बढेर जान्छ नत्र सरकारमा जानु भनेको सक्किनु हो भन्ने भनाइले नै पुठ पाउनेछ । यसै पनि उहाँको सामाजिक छवि नागरिक छविमा पर्याप्त धुलो जमेको अवस्था छ । आफूमा लागेको त्यो धुलो साफ गर्दै देखिएको बाहृय धुलोसमेत सफा गर्नुहोस् हाम्रो शुभकामना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच