नाचघरको स्वर्ण महोत्सव असार ७ गतेसम्म

Read Time = 3 mins

काठमाडौं । सांस्कृतिक संस्थान (नाचघर) ले आफ्नो स्थापना ५०औं वार्षिकोत्सव यही असार ७ गतेसम्म मनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार स्वर्ण महोत्सवको उद्घाटन गर्नुभयो ।

‘सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाले ५० वर्षको इतिहास बनाउनु गौरवको विषय हो’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘५० वर्षको इतिहास र अनुभव बोकेको सांस्कृतिक संस्थानले हाम्रा अमूल्य संस्कृति र सभ्यताको मूल्य एवं मान्यतालाई पुनःस्थापित गर्न योगदान दिने छ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले ५० वर्षको इतिहास र अनुभवबाट सिकेर लोकसंस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लक्ष्य र उद्देश्य निर्धारित नयाँ योजना तथा कार्यक्रमका साथ संस्थान अघि बढ्ने बताउनुभयो ।

स्वर्ण महोत्सवको अवसरमा संस्थानले नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दलाई ‘दीर्घ साधना सम्मान २०७९’, वरिष्ठ रंगकर्मी ओममणि शर्मालाई ‘राष्ट्रिय नाट्य पुरस्कार २०७९’, वरिष्ठ संगीतकर्मी प्रेमदेव गिरीलाई ‘राष्ट्रिय संगीत पुरस्कार २०७९’ र वरिष्ठ नृत्यकार सुरेश मिश्रलाई ‘राष्ट्रिय नृत्य पुरस्कार २०७९’ प्रदान गरेको छ । जनही ५१, ५१ हजार रुपैयाँसहितको सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपतिको हातबाट प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपतिबाटै संस्थानमा कार्यरत वीरेन्द्र हमाल र सुस्मिता तामाङलाई उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्रदान गरिएको थियो । प्राज्ञ अशोक राईको संगीत संयोजन, वीरेन्द्र हमालको नाट्य संयोजन र लोकराज राईको नृत्य संयोजन रहेको स्वर्ण महोत्सव विशेष सांस्कृतिक कार्यक्रमले देश झल्काएको छ । जसमा नेपाली वृन्दावन, विभिन्न समुदायमा निहित लोकनृत्यदेखि मुनामदन एवं कृष्ण लीलासम्म समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?