
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवाको विकास जगतमा एक चर्चित नाम हो, सविन लामिछाने । लामिछानेले विगत एक दशकदेखि युवाका समग्र विकास अनि युवासँग सम्बन्धित बिषयको उठान तथा नीति निर्माण तहमा काम गर्दै आउनुभएको छ । विशेष गरि युवा सशक्तीकरण, युवा सहभागिता, नेतृत्व विकास, द्वन्द व्यवस्थापन तथा शान्ति निर्माणको क्षेत्रमा उहाँको दख्खल छ ।
स्कुल पढ्दा देखिनै उहाँको मनपर्ने बिषय ‘सामाजिक शिक्षा’ थियो जसले गर्दा उहाँ सामाजिक समस्याहरूका विषयमा चासो राख्नुहुन्थ्यो । सानै उमेरमा नयाँ कुरा जान्न खोज्ने तथा धेरै कौतहुलता हुनुभएका उहाँ किताबमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाको बारेमा शिक्षकले पढाउँदै गर्दा कल्पना गर्नुहुन्थ्यो र साथीभाइसँग भन्नुहुन्थ्यो, ‘कुनै दिन धेरै पढेर यस्तै अन्तर्राष्ट्रिय संघसंस्थामा ठूलो मान्छे भएर काम गरेर सामाजिक विकासको काम गर्नेछु ।’
भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मा मध्यम वर्गीय परिवारमा जन्मिनुभएका लामिछाने किशोरावस्था सँगसँगै उहाँले सामाजिक क्षेत्रका विषयमा ज्ञान बटुल्दै जानुभयो । उहाँले सन् २०१५ मा उत्कृष्ट अंक ल्याई सामाजिक कार्य विषयमा स्नातक तहको अध्ययन पूरा गर्नुभयो । यसबीचमा उहाँले विभिन्न संघसंस्थामा आबद्व भएर समुदाय तहको विकासमा लाग्नुभयो ।
सामाजिक विषयवस्तुका लागि विभिन्न सामाजिक अभियान, सडक प्रदर्शन तथा युवा केन्द्रित कार्यक्रमको नेतृत्व गर्न थाल्नुभयो । स्नातक तहको पढाइ सकेपछि लामिछाने केही समय नेपाल पक्षी संरक्षण संघमा आबद्ध हुनुभयो जहाँ उहाँले जीविकोपार्जन विकास, वातावरण तथा जैविक विविधता संरक्षणका लागि युवा सञ्जाल विकास तथा शिक्षा केन्द्रित कार्यक्रम निर्माण गर्नुभयो । त्यस पश्चात् लामिछानेको व्यवस्थता र आबद्वता अझ झांगियो ।
नेपाल मेगा कलेजको सामाजिक कार्य विभाग प्रमुखको रूपमा २०१७ देखि २०२१ सम्म कार्यरत रहनुभएका उहाँले सयौं विद्यार्थीलाई अध्यापन सँगसँगै नेपालको विभिन्न ठाउँमा ग्रामीण समुदाय विकास, बालमैत्री स्कुल पुनःस्थापना तथा शिक्षाका परियोजनाहरूको नेतृत्व गर्न सिकाउनुभयो । यो सँगसँगै लामिछाने २०१८ देखि २०२१ सम्म ‘ग्लोबल युथ पार्लियामेन्ट’ को कार्यकारी निर्देशकका रूपमा रहेर यस संस्थालाई ८६ देशमा स्थापित गर्न विश्वभरि छरिएर रहेका युवाहरूलाई दिगो विकास तथा शान्ति अभियानमा जोड्न सफल हुनुभयो ।
लामिछानेले सन् २०१८ मा नेपाल र श्रीलंकाबाट द्वन्द्व, शान्ति तथा विकास अध्ययनमा स्नात्तकोत्तर गर्नुभयोे । उक्त अध्ययनका लागि उहाँले नर्वे सरकारद्वारा विशेषगरी दक्षिण एसियाका युवाहरूलाई शिक्षा तथा अनुसन्धान सशक्तीकरणका लागि प्रधान गरिने एनओआरएचईडी फेलोशिप र पूर्ण छात्रवृत्ति हासिल गर्नुभयो जसले गर्दा अन्तर्राष्ट्रिय शान्ति निर्माण अनि द्वन्द्व व्यवस्थापनमा उहाँको रुचि थप वढ्यो । विश्वभरि छरिएर रहेका युवाहरूको समग्र विकास तथा युवा समुदायलाई दिगो विकास तथा शान्ति निर्माणमा जोड्ने उहाँको सपना झन् बलियोे हुँदै गयो ।
युवाको क्षेत्रमा लामिछानेले गरेको योगदानको स्वरूप सन् २०१९ मा बंगलादेशमा आयोजित सार्क युवा सम्मेलनमा उहाँ ‘साउथ एसियन युथ लिडरशिप अवार्ड’ द्वारा सम्मानित समेत हुनुभयो । अन्तर्राष्ट्रिय शान्ति र विकास अध्ययन संस्थान थाइल्याण्ड तथा निवानो शान्ति फाउण्डेशन जापानद्वारा प्रधान गरिने ‘द्वन्दग्रष्त क्षेत्रहरूमा युवाहरूको भूमिका’ सम्बन्धित अन्तर्राष्ट्रिय तालिममा एक मात्र नेपाली सहभागीको रूपमा चुनिनुभयो जहाँ उहाँले दिगो शान्ति निर्माणमा विभिन्न देशका युवाहरूलाई सशक्तीकरण गर्ने भन्ने बारे अनुभव अझ बलियो बनाउनुभयो ।
सन् २०२१ मा स्विस सरकार, जेनेवा सुरक्षा नीति केन्द्र तथा संयुक्त राष्ट्रसंघ तालिम तथा अनुशन्धान संस्थानको ‘वरिष्ठ शान्ति निर्माण तालिम’ मा विश्वभरबाट चुनिएका २२ विज्ञहरूमध्येमा एकमात्र युवा नागरिक समाज प्रतिनिधिका रूपमा लामिछाने चुनिनुभएको थियो । युवाहरू विकासका लागि लामिछानेको राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्रा यतिमा मात्र सीमित रहेन् । सन् २०२२ मा स्वीडेन सरकारद्वारा दक्षिण एशिया, मध्यपूर्व र उत्तर अफ्रिकाका युवा नागरिक समाज अगुवा लक्षित प्रतिष्ठित फेलोसिप एसआई लिडर ल्याब २०२२ मा छानिएर उहाँको अभियानलाई थप मजबुत बनायो ।
आफ्नो कामको मूल्यांकन स्वरूप उहाँ सोही वर्ष स्वीडेन सरकारद्वारा प्रदान गरिने एसआई एडभोकेसी ल्याब २०२२ का लागि विश्वभरिका ३५ प्रभावशाली युवा अभियान्ताका रूपमा चुनिनुभएको थियो र २०२३ मा ‘एसआई माष्टरक्लास’ युवा तालिममा ३० प्रभावशाली युवाको रूपमा सहभागी हुनुभएको थियो । यस्तै उहाँले संयुक्त राष्ट्रसंघको यात्रा सुरु गर्नुभयो । सन् २०२२ मा उहाँ संयुक्त राष्ट्रसंघ शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को नेपालस्थित कार्यालयमा युवा विज्ञको रूपमा नियुक्त हुनुभयो र सँगसँगै संयुक्त राष्ट्रसंघ युवा समितिमा युनेस्कोको प्रतिनिधिको रूपमा रहेर काम गर्ने अवसर पाउनुभयो ।
यो जिम्मेवारीको माध्यमबाट लामिछानेले युवा लक्षित कार्यक्रम, युवा सम्बन्धित नीति निर्माणमा तथा शान्ति निर्माणका क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो दक्षता देखाउने मौका पाउनुभयो । युनेस्को मुख्यालय पेरिसबाट केही महिनाअगाडि सदस्य राष्ट्रहरूलाई युवा नीतिनिर्माण तथा युवा विकाससम्बन्धी अभिमुखीकरण गर्ने उद्देश्यले प्रकाशन गरेको ‘ग्लोबल युथ पोलिसी टुलबक्स’ मा विज्ञका रूपमा काम गर्नुभएका लामिछाने भन्नुहुन्छ, ‘आफुले गरेका कार्यबाट विश्वभरि छरिएर रहेको युवा समुदायको उत्थानमा जोडिन पाउँदा अत्यन्त खुशी लाग्छ र हिजो गरेका संघर्षले केही सार्थकता पायो जस्तो महसुस हुन्छ ।’
युवाकै विषयमा कार्यक्रमको उद्देश्यले उहाँले केही हप्ता अगाडिमात्र अमेरिका भ्रमणको अवसर प्राप्त गर्नुभयो । त्यहाँ युवा समुदायको समस्याहरूका बारेमा छलफल गर्न संयुक्त राष्ट्र संघको मुख्यालयमा संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा संयुक्त राष्ट्रसंघ युवा कार्यालयका प्रमुख फेलिप पाउलिएरसँग भेटवार्ता र नेपाल र नेपाली युवाका विषयमा छलफल गर्न पाउँदा आफूलाई औधी खुशी लागेको लामिछाने बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच