काठमाडौं । गतवर्ष मंसिरमा सम्पन्न आमनिर्वाचनको पूर्व–सन्ध्यादेखि सुरु भएको नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीचको पार्टी एकता बहस टुंगिएको छ । माओवादीसँग पार्टी एकता हुनुको सट्टा पार्टी एकताको विषयमा लामो विवादपछि पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजन भएको छ । ३ चैतमा माओवादी केन्द्रसँग नेसपाका एक अध्यक्ष महिन्द्रराय यादव समूहले बालुवाटारमा गरेको चारबुँदे सम्झौतापछि नेसपा औपचारिक रूपमै विभाजन भएको हो । आफ्नो पार्टी विभाजन हुनुमा सबै दोष अहिले बाबुरामले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुभएको छ ।
गत वर्षको साउन ३१ गते नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनमा बाबुराम र आफूसँगै उभिने कुराको ठूलो अर्थ र महत्व रहेको बताउनुभएको थियो । सन्दर्भ थियो, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँगको भेटवार्ता । माओवादी पार्टी कार्यालयमा लामो समयपछि प्रचण्ड–बाबुरामको भेटले माओवादी धारमा आशाको सञ्चार गरेको थियो । सोही दिन उहाँहरूबीच (गत ४ मंसिर) निर्वाचनमा माओवादी केन्द्रकै चुनाव चिहृनमा प्रतिस्पर्धा गर्ने सहमति भएको थियो ।
प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिहृन, समानुपातिकको साझा सूची र एउटै घोषणापत्र बनाउने मात्रै हैन मंसिरको चुनावपछि पार्टी एकता नै गर्ने सहमति बनेको थियो । बाबुरामको पुनर्मिलनसँगै चितवनबाटै चुनाव लड्ने तयारीमा रहनुभएका प्रचण्ड अन्तिममा गोरखा हानिनुभएको थियो । प्रचण्ड गोरखा हानिनुको पृष्ठभूमिमा हुनुहुन्थ्यो, बाबुराम । सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहनुभएका प्रचण्डलाई बाबुरामले गोरखा–२ छाडिदिनुभयो । मनोनयन दर्ता गर्न प्रचण्डसँगै क्षेत्र नम्बर २ को निर्वाचन कार्यालय जानुभएका डा.भट्टराईले राजनीतिक जीवनको उत्तराद्र्धमा सहकार्यको प्रयास भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । चुनावमा बाबुरामले प्रचण्डलाई खुलेर सहयोग पनि गर्नुभयो । एक–अर्काको खुब तारिफ भयो । प्रचण्डले चुनाव पनि जित्नुभयो ।
०७९ को चुनावमा प्रचण्ड गोरखाबाट जितेलगत्तै बाबुरामले माओवादीसँग पार्टी एकता गर्ने हतारो गर्नुभएको थियो । चुनाव सकेलगत्तै पार्टीका एउटा अध्यक्ष (महिन्द्रराय यादव) बिरामी परेर दिल्ली उपचारका लागि जानुभएको थियो । त्यो बेला डा.भट्टराईले राजनीतिक समितिबाट माओवादीसँग पार्टी एकता गर्न वार्ता समिति बनाउनुभयो ।
नौ बुँदे म्याण्डेड दिएर वार्ता टोली पनि गठन गर्नुभएको थियो । नेसपाको पार्टी एकता संयोजन समितिले प्रचण्ड र बाबुरामबीचको तीतोमिठो मिलाएर मंसिर ५ र ६ गतेको नेसपाको पार्टी बैठकबाट माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्वत निर्णय गरेको थियो । पुसको अन्तिममा माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डकै नेतृत्वमा एकता संयोजन समिति बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्ड नेतृत्वको संयोजन समितिले भट्टराईसँग छलफल गरेर पार्टी एकता गर्ने निर्णय गरेको थियो । तर, दुवैले समिति बनाए पनि काम भने हुन सकेन ।
परिस्थिति परिवर्तन हुँदै गयो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावसम्म आइपुग्दा प्रचण्ड र भट्टराईबीचको दूरी बढ्न थालेको थियो । किनकि डा.भट्टराईले राष्ट्रपतिको आकांक्षा राख्नुभएको थियो । त्यसपछि नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा गठन भयो । मोर्चामा बाबुरामलाई सामेल गराउने विषयमा प्रचण्डले कुनै चासो नै देखाउनुभएन । मोर्चा घोषणामा प्रचण्डले बाबुरामको नामसमेत लिनुभएन । केही समय पार्टी एकताको लागि प्रयास भए पनि पछिल्ला चार महिनामा बाबुराम–प्रचण्ड सम्बन्ध बिग्रियो । डा.भट्टराईले सुरुबाटै कम्युनिष्ट नाम राख्न नचाहँदा पनि एकतामा ढिलाइ भएको बताइन्छ । बाबुरामले समाजवादी नाम राख्ने माग गरेपछि एकतामा माओवादीले खासै चासो नदिएको माओवादी स्रोतको दाबी छ । माओवादीले चासो नदिएपछि भट्टराई अनावश्यक आरोप लगाउँदै हिँड्नुभएको माओवादी नेताहरूको दाबी छ ।
एकताको विषयमा भएको विवादकै कारण भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजन भएको छ । ३ चैतमा माओवादी केन्द्रसँग नेसपाका एक अध्यक्ष महिन्द्रराय यादव समूहले बालुवाटारमा गरेको चारबुँदे सम्झौतापछि नेसपा औपचारिक रूपमै विभाजन भएको हो । पार्टी विभाजनपछि बुधबार अध्यक्ष भट्टराईले पत्रकार सम्मेलन गरेर केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रचण्डले जालसाजी गरेको टिप्पणी गर्नुभएको छ । उहाँले ७० प्रतिशत केन्द्रीय सदस्य र दुईतिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी गर्नुभयो ।
बैठकमा बाबुरामको आत्मालोचना
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीसँग उदार भएकोमा आत्मा आलोचना गर्नुभएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा आफ्नो कमजोरीप्रति सदस्यहरूले प्रश्न उठाएपछि उहाँले आत्मालोचना गर्नुभएको हो । अधिकांश नेताहरूले माओवादीको चुनाव चिहृन लिएको, पार्टीभित्र सल्लाह नगरी प्रचण्डलाई गोरखा २ छाडेकोमा असन्तुष्टि जनाएका थिए । नेताहरूले उठाएको प्रश्नको जवाफ दिँदै भट्टराईले भन्नुभयो, ‘म अलि उदार र आदर्श भएँ । पुराना शक्तिलाई विश्वास गरेँ । आँखा चिम्लिएर गोरखा पनि छोडिदियौँ । माओवादीको चुनाव चिहृन पनि लियौँ । यसमा मैले गल्ती गरेँ । नियतवश गर्न खोजेको होइन । तर, हाम्रो इमानदारी फाइदा उठाउँदै क्यास गरे । यसमा मेरो कमजोरी रहृयो ।’
आठ वर्षपछि बाबुराम र प्रचण्ड मिल्नै लाग्दा किन खटपट भयो त ? भन्ने प्रश्न अहिले चौतर्फी उठेको छ । माओवादीका उपमहासचिव पोखरेलले भन्नुभयो, ‘बाबुरामजीले आफू चुनाव नलडेर प्रचण्डजीलाई आफ्नो जिल्ला गोरखामा लगेर चुनावमा लडाउनुभयो । जिताउनु पनि भयो बाबुरामजीले भित्री रूपमा प्रचण्डजीसँग राष्ट्रपतिको अपेक्षा गर्नुभएको थियो । त्यो पूरा हुन सकेन । यही कारणले प्रचण्ड र बाबुरामबीच राजनीतिक रूपमा दूरी बढेको हो । परिणामस्वरूप पार्टी एकता हुन सकेन ।’
बाबुरामलाई प्रचण्डले राष्ट्रपति नबनाउँदा नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता हुन नसकेको माओवादी नेताहरूको निष्कर्ष छ । डा.भट्टराईको आफ्नै दृष्टिकोणको समस्याले गर्दा उहाँबिनाको पार्टी एकता गर्ने अवस्था आएको उपमहासचिव पोखरेलको तर्क छ । नेसपा अध्यक्ष भट्टराईले भने आफू कुनै पदको आकांक्षी नरहेको स्पष्ट पार्दै भन्नुभयो, ‘हामी सत्य र न्यायको पक्षमा छौँ । यसले देश र जनताका लागि हाम्रो काँधमा ठूलो बोध गराएको छ । पुराना शक्ति भ्रष्टाचार काण्डमा मुछिँदै गएका छन्, यसले जनताको माग पूरा गर्न सक्दैन । ०८४ को चुनावमा नयाँ शक्तिले ठाउँ लिन्छ । हामी वैकल्पिक मोर्चा बनाउँछौँ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.भट्टराईबीच झण्डै चार दशक लामो राजनीतिक सहकार्यको इतिहास छ । सशस्त्र द्वन्द्वदेखि संविधान निर्माणसम्म दुवै नेता एकै पार्टीमा एकै ठाउँ उभिनुभएको थियो । त्यसैकारण पनि यी दुई नेताबीच कुनै पनि बेला एकता, सहकार्य हुनु नौलो होइन । तर, पछिल्ला दिनमा भने बाबुराम प्रचण्डसँग टाढिने, अरू नेता भने नजिकिने गरेका छन् । बाबुरामले गठन गरेको नेसपामा पनि यो दृश्य देखियो । बाबुरामको पार्टीका नेता महिन्द्रराय यादव सहितका नेताहरू माओवादीमा ‘विलीन’ हुन तयार भए । भट्टराई भने माओवादीसँग एकता गर्न तयार हुनुभएन ।
माओवादी शान्ति प्रक्रियामा आएलगत्तै बाबुराम प्रचण्डको छायाका रूपमा देखिनुभएको थियो । दुई नेता एक–अर्कामा यति धेरै नजिक थिए कि प्रायः एकसाथ उस्तै भेषभूषामा देखिन्थे । तर, प्रचण्ड–बाबुरामको सम्बन्ध कहिल्यै एकनाश रहेन । राजनीतिक रूपमा एक ठाउँमा आउँदादेखि अलग हुँदासम्म उहाँहरूको सम्बन्ध आरोह–अवरोहपूर्ण थियो । यी दुई नेताबीच सधैँ अति ‘लभ एण्ड हेट’ सम्बन्ध रहृयो । तत्कालीन जनयुद्धमा मानिसहरूले प्रचण्डको नाम कम बाबुरामको बढी सुन्थे । बाबुरामको चर्चाले झस्किनुभएका प्रचण्डले माओवादीको चौथो राष्ट्रिय सम्मेलनपछि आफ्नो फोटो नै सार्वजनिक गर्नुभएको थियो ।
जनयुद्धकालमा उहाँहरूको सम्बन्धमा कतिसम्म फाटो आएको थियो भने ०६१ माघमा लिवाङ बैठकले बाबुराममाथि कारबाहीको निर्णय गरेको थियो । भट्टराईलाई जनसेनाको नियन्त्रणमा राखिएको थियो । त्यो पनि लामो समय टिकेन, कारबाही फुकुवा भयो । वैकल्पिक राजनीतिले परम्परागत शक्ति ढाल्ने अभिलाषा बोकेर २०७२ मा बाबुराम माओवादीबाट अलग्गिनुभएको थियो । संविधान जारी भएलगत्तै २०७२ असोजमा पत्रकार सम्मेलन गरेर बाबुराम ‘चुहिएको घरमा फर्केर जाने होइन, नयाँ घर बनाउने’ भन्दै एमाओवादीबाट बाहिरिनुभयो ।
माओवादी छाडेर उहाँले नयाँ शक्ति गठन गर्नुभयो । तर, अभियानले राम्रोसँग संगठित आकारसमेत ग्रहण गर्न सकेन । जनता समाजवादीसम्म आइपुग्दा डा.भट्टराईको राजनीतिक आकार बढ्नुको सट्टा संकुचित हुँदै गयो । अन्ततः उपेन्द्र यादवसँगको विवादका कारण जसपामा उहाँ अटाउन सक्नुभएन । उपेन्द्र यादवसँग छुट्टिएर नेपाल समाजवादी पार्टी गठन गर्नुभयो । तर, गठन भएको दुई वर्ष नपुग्दै नेपाल समाजवादी पार्टी पनि विभाजन हुन पुगेको छ । प्रचण्ड र बाबुराम नेतृत्वको पार्टीबीच एकता हुन नसक्नुको कारण पनि दुई नेताबीचको ‘अति लभ र हेट’को सम्बन्धलाई नै हेरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच