सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल(सोफेन) ले विगत लामो समयदेखि खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्दै आएको छ । पानीबिना सरसफाइ सम्भव छैन भने सरसफाइबिना स्वस्थ जीवन सम्भव छैन । त्यसो त पानी सरसफाइका लागिमात्रै सीमित छैन । सिँचाइ, जलविद्युत्, वन्यजन्तुलगायत सबैका लागि पानी अति आवश्यक छ । जीव अनुकूलित वातावरण र पानीकै कारण ब्रहृमाण्डका अन्य ग्रहहरूभन्दा पृथ्वी अब्बल ग्रह मानिएको हो । बहुआयामिक पानीबारे विश्व पानी दिवसका अवसरमा सोफेनका निवर्तमान महासचिव राजिव जोशीसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल(सोफेन) के गर्छ ?
सोफेन भनेको खानेपानी तथा सरफाइ क्षेत्रमा काम गर्ने संस्था हो । खानेपानी तथा सरसफाइ क्षेत्रमा सरकारलाई सपोर्ट गर्ने उद्देश्यका साथ सन् १९९० मा स्थापना भएको सोफेनले खानेपानी तथा सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमका साथै सरकार तथा सरोकारवाला निकायलाई नीतिगत सुझाव दिने, टेक्निकलरूपमा सपोर्ट गर्ने काम गर्दै आएको छ । हामी राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, कार्यशाला पनि आयोजना गर्छौं । हरेक वर्ष मनाइने विश्व पानी दिवस, विश्व शौचालय दिवसका अवसरमा सोफेनले सरोकारवाला निकायहरूसँगको सहकार्यमा नीतिगत बहस पैरवीका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पानी संकट बढ्दो छ, पानी व्यवस्थापनका लागि के गर्न सकिन्छ ?
विभिन्न प्रविधिबाट पानीको व्यवस्थापन गर्न सकिन्छ । हामीले पछिल्लो समय रेन वाटर हार्भेष्टिङ-वर्षात्को पानी संकलन)मा जोड दिँदै आएका छौँ । वर्षात्को पानी संकलन गर्दा छ–सात महिनाका लागि पानीको म्यानेज गर्न सकिने देखिएको छ । वर्षात्को पानी ट्रिटमेन्ट गरेर खानेपानीका रूपमा समेत उपयोग गर्न सकिन्छ । पानी नपरेको समयमा वितरण प्रणालीबाट पानी लिने र पानी पर्ने समयमा रेन वाटर हार्भेष्टिङबाट पानी आपूर्ति व्यवस्थापन गर्न सकियो भने पानीको समस्या हुँदैन । अर्को कुरा, पानी खपतमा मितव्ययिता अपनाउनु पनि पानी उत्पादन गर्नु जस्तै हो ।
वर्षातकाे पानी संकलनमा खासै आकर्षण देखिएको छैन, जार, भूमिगत पानी वा ट्यांकरको पानी किनेर काम चलाउने प्रचलन देखिएको छ । यस्तो हुनु जनचेतनाको कमी वा लगानीको कारण हो ?
लगानी पनि खासै धेरै पर्दैन तर अलि झन्झटिलो मान्ने गरेको देखिएको छ । वर्षात्को पानी संकलनका लागि छुट्टै ट्यांकी चाहिन्छ । ट्यांकी राख्न उपयुक्त स्पेस पनि हुनुप¥यो । काठमाडौंमा दुई, तीन आना, चार आना क्षेत्रमा घरहरू बनेका छन्, त्यस्ता घरहरूमा वर्षात्को पानी संकलनमा समस्या हुन सक्छ । त्यसो त सानो ठाउँ भए पनि छतमा ट्यांकी राखेर वर्षात्को पानी संकलन गर्न नसकिने चाहिँ होइन ।
सरकारी कार्यालय भवन, स्कुल कलेज, हाउजिङ, हस्पिटल, तारे होटलहरूमा त वर्षात्को पानी संकलन सम्भव होला नि, स्पेस पनि धेरै हुन्छ, बढी पानी खपत हुने क्षेत्र पनि हो ?
हो, सरकारी तथा सार्वजनिक भवनहरूमा सम्भव हुन्छ । सिंहदरबार, एयरपोर्टहरूमा पनि गर्न सकिन्छ । त्यसका लागि हामीले लबिङ गर्दै आएका छौँ । टेक्निकल सपोर्ट चाहिएमा हामी सपोर्ट गर्न तयार छौँ । अन्य सरोकारवाला निकायहरूले पनि यसमा घचघच्याइरहेको अवस्था छ । रेन वाटर हार्भेष्टिङ अलाइन्स नै बनेको छ, अलाइन्सले पनि यसमा बहस पैरवी गरिरहेको छ ।
पानीका स्रोतहरू सुक्दैछन् । जलवायु परिवर्तनको असर पनि पानीमै देखिएको छ, यस्तो अवस्थामा समग्र पानीको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि के गर्नुपर्ला ?
त्यसका लागि एकीकृत नीति, योजना र कार्यक्रम आउनुपर्छ । किनभने पानी भनेको त सिँचाइ, जलविद्युत् आयोजना, पशुपालन, वन्यजन्तु, वनजंगल सबैका लागि आवश्यक हुन्छ । जलवायु परिवर्तनको असर नेपालमा मात्रै नभई विश्वव्यापी समस्या हो । समस्या समाधान सामूहिक पहल, प्रयास र लगानीमा जोड दिनुपर्ने हुन्छ ।
सोफेनले विगत ३० वर्षदेखि पानी र सरसफाइ क्षेत्रमा काम गर्दै आएको छ । हालसम्मको उपलब्धिचाहिँ के छ ?
अपेक्षाअनुसारका उपलब्धि नभए पनि धेरै काम भएका छन् । विगतमा रेन वाटर हार्भेष्टिङ भन्ने सुनिदैन्थ्यो । वर्षात्को समयमा गाउँघरतिर भाँडाहरू थापेर राख्ने प्रचलन त थियो । अहिले जस्तो लामो समयसम्म स्टोर गरेर राख्न सक्ने प्रविधि थिएन । ट्रिटमेन्ट प्रविधि पनि थिएन । त्यसमा धेरै सुधार भएको छ । अहिले खानेपानीका विविध स्रोतबाट पानी आपूर्ति भइरहेको अवस्था छ । मेलम्ची पनि पानीको ठूलो स्रोतका रूपमा आएको छ । काठमाडौंमा हाल करिब ३५ करोड लिटर पानीको माग छ । १७ करोड लिटर मेलम्चीबाट आउँछ तर अहिले सबै पानी आएको छैन । करिब १२ करोड लिटर अन्य स्रोतबाट आपूर्ति भइरहेको अवस्था छ । मेलम्चीको पूरै पानी आएपछि पनि जम्मा २९ करोड लिटरमात्रै हुन्छ । मेलम्ची, लार्के र याङ्री गरी कुल ५१ करोड लिटर पानी ल्याउने योजना हो । मेलम्चीलाई पनि निरन्तर पहल तथा प्रयासको उपलब्धि मान्न सकिन्छ । त्यस्तै, स्यानिटेसनसम्बन्धी धेरै ट्रिटमेन्ट प्लान्टहरू हामीले बनाइरहेका छौँ ।
अहिले परम्परागत पानीका स्रोतको अवस्था के छ, इनार सुक्न थालेका छन् नि ?
हो, जलवायु परिवर्तनको असर, जनसंख्या वृद्धि, अव्यवस्थित शहरलगायतका कारण पानीका स्रोत सुक्दै गएका छन् । घर, सडकलगायत कंक्रिटयुक्त पूर्वाधारका कारण जमिनमुनिका पानीका स्रोतहरू रिचार्ज हुन नपाउँदा इनार सुक्ने, पानीका लागि इनार धेरै गहिरोसम्म खन्नुुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले वर्षात्को पानी संकलन, भूमिगत पानीको स्रोत रिचार्ज, उपलब्ध पानीको पुनप्र्रयोगमा जोड दिनुपर्छ । पानी र सफरसफाइ भनेको शान्ति र समृद्धिको इण्डिकेटर पनि हो । जसको घरमा पानी र सरसफाइ व्यवस्था राम्रोे हुन्छ, त्यो घर, परिवार, समाज र देश समृद्ध मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच