काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बंगलादेशका सिपिङ राज्यमन्त्री खालिद महमुद चौधरीबीच भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बंगलादेश हुने निर्यात भने न्यून रहँदै आएको भन्दै दुई मुलुकबीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
बंगलादेश नेपालको महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै उहाँले द्विपक्षीय व्यापार सम्बन्ध प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो । दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैरभन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेको भन्दै पहलकदमीका लागि मन्त्री भण्डारीले ध्यानाकर्षण गराउनुभएको थियो ।
सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई प्रवद्र्धन गर्ने गरी सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोंगलपोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बंगलादेश सरकारलाई धन्यवाद दिँदै उहाँले सामुन्द्रिक बन्दरगाहको उपयोगमार्फत् पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर-सिंहवाद रेलवे र अन्य पारवहन रुट सञ्चालनका लागि राज्यमन्त्री चौधरीसँग आग्रह गर्नुभएको थियो ।
मन्त्री भण्डारीले दुई देशबीचको व्यापारका लागि काँकडभित्ता-फूलबारी-बंगलाबन्ध रूट प्रयोग हुँदै आएको र नेपाली ट्रकले भारतको फूलबारी भन्सार बिन्दुबाट मात्र बंगलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएको बताउनुभएको थियो ।
विगतमा भएका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले बंगलादेशको जलमार्ग उपयोग गर्नेसम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै उहाँले जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बंगलादेशको धारणाको अपेक्षा गरेको बताउनुभएको थियो । भारतीय प्रसारण लाइनमार्फत् नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापारका लागि भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद् रहेको भन्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानी सुनिश्चित गर्न आग्रह गर्नुभएको थियो ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेकाले बंगलादेशी पर्यटक नेपाल आउनेमा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै आफू बंगलादेश फर्केर उल्लेखित विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभएको मन्त्री भण्डारी जानकारी दिनुभएको छ । राज्यमन्त्री चौधरीले आगामी अप्रिलमा हुने दुई देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखा परेका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच