काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदूत चेन सोङले आज भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।
मंगलबार (हिजाे) मात्र भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । त्यसको भोलि पल्टै आज गृहमन्त्री लामिछानेसँग चिनियाँ राजदूतले पनि भेटवार्ता गर्नुभएको छ ।
नेपालमा चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई) को कार्यान्वयनका विषयमा चिनियाँ पक्षले चासो दिदै आएको छ । अघिल्लो सत्ता गठबन्धनमा सोही विषयमा भएको विवादका कारण समीकरण परिवर्तन भएको भन्ने समाचार बाहिरिएका थिए ।
नेपालले सात वर्षअघि बीआरआईमा हस्ताक्षर गरेको थियो। तर आन्तरिक मतभेदकै कारण उत्त सम्झौता पूर्ण कार्यान्वयनमा आउन सकेको छैन भने छिमकी भारत त्यस सम्झौताको विरोधमा छ ।
नयाँ सत्ता गठबन्धनका अधिकांश दलहरु बीआरआई प्रति नरम छन् । गृहमन्त्री लामिछानेले नेतृत्व गरेको सत्तारुढ रास्वपाले मात्र हालसम्म आफ्नो धारणा सार्वजनिक नगरी रहेको अवस्थामा उहाँहरुबीच भेटघाट भएको हो ।
गत महिनासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सहभागी दल नेपाली कांग्रेसले बीआरआई कार्यान्वयनसम्बन्धी कुनै पनि निर्णय गर्दा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै नेपालले ऋण नभई अनुदानमा आधारित चिनियाँ सहयोगहरूमात्रै लिनुपर्नेमा जोड दिएको थियो।
गठबन्धन सरकारका अर्का उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ नौ दिने चीन भ्रमणमा रहेका बेला चिनियाँ राजदूतको सकृयता बढ्नुलाई चासाेकाे साथ हेरिएकाे छ । नेपालमा सत्ता समीकरणमा परिवर्तन भएपछि नेपालबाट हुन लागेको उच्चस्तरीय भ्रमणका बेला बेइजिङमा बीआरआई कार्यान्वयनको विषय छलफल हुने चर्चा छ ।
भेटमा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदूत सोङले जानकारी दिनुभएको छ ।
मंगलबार गृहमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवले सिंहदरबारस्थित गृह मन्त्रालयमै भेटवार्ता गर्नुभएको थियो ।
उहाँहरुबीचको भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
सो भेटघाटमा दुवै देशबीच रहेको खुला सीमाबीच सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत रहेको बताइएको छ ।
भेटमा राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो।
गृहमन्त्रालयका अनुसार दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय र पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदान उपयोगका लागि प्रक्रियागत सहजीकरण गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाउनु भएको थियो ।
तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्ने गृहमन्त्री लामिछानेले कुरा राख्नुभएको थियो ।
राजदूत श्रीवास्तवलले सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताउनु भएको थियो ।
त्यस्तै, हिजो नै उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले पनि भेटवार्ता गरेका थिए । राजदूत ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने बताउनु भएको गृहमन्त्रालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच