
म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख पचास हजार आम्दानी गरेका छन् ।
पश्चिम म्याग्दीको म्याग्दीको मालिका गाउँपालिका–७, बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरुले पढाइका अतिरिक्त तरकारी मौसमी तथा वेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् ।
शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीहरुले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा नै मौरीका छ ओटा घार रहेका छन् । विद्यार्थीहरुले मह उत्पादन प्रक्रिया, महको चाका संकलन, मौरीको घारको रेखदेख र मह निकाल्ने सम्पूर्ण प्रक्रिया सिकेका छन् । वर्षमा दुईपटक मह निकालेर स्थानीयलाई बिक्री गर्ने गरिएको शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा ६ वटा घारबाट मौरीपालनको अभ्यास सिकेका विद्यार्थीले अहिले आफ्नो घरमा समेत मौरीको घार राख्न थालेका छन् । विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले गरिएको मौरीपालनलाई तोरी फुल्ने समयमा मौरीको चरन क्षेत्र, वर्षाको समयमा स्थानीय प्रजातिका फूलमा चराउन कसरी लैजाने भन्नेसम्मको समेत अभ्यास विद्यालयमै सिकेपछि विद्यार्थी निकै उत्साहित छन् । मौरीपालनसँगै शिक्षालयले विद्यार्थीको प्रत्यक्ष सहभागिता हुने गरी अरू कृषि कर्म पनि गरेका छन् ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा वाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । यस शिक्षालयमा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो ।
अहिले यहाँ ११ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताउनुभयो । “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेका छौं,” प्राचार्य गर्बुजाले भन्नुभयो ।
विद्यार्थीहरुले उत्पादन तरकारी बिक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने र २५ प्रतिशत चाहिँ विद्यालयले शैक्षिक भ्रमणसहितका कार्यमा प्रयोग गर्ने गरिएको प्राचार्य गर्बुजाले जानकारी दिनुभयो । विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीले नयाँ उत्पादनका लागि तत्काल आवश्यक परेमा विद्यालयले ऋणको सुविधासमेत दिने गरेको उहाँको भनाइ छ ।
‘पढ्दै–कमाउँदै’ गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको प्राचार्य गर्बुजाले बताउनुभयो । “विद्यार्थीले च्याउ, आलु, धान, किबी, महलगायत मौसमी र बेमौसमी तरकारी गरी वार्षिक दुई लाख ५० हजारभन्दा बढीको बिक्री गर्ने गरेका छन्” उहाँले भन्नुभयो ।
कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा लगेर बिक्री गर्ने गरिएको कृषि प्राविधिक शिक्षालयका संयोजक विष्णु सुवेदीले जानकारी दिनुभयो ।
“विद्यार्थीका लागि नयाँ सिकाइमा केन्द्रित छौं। यहाँबाट पढेर गएका सबै विद्यार्थी आत्मनिर्भर छन्। लोभलाग्दो कमाइ गरिरहेका छन्,” सुवेदीले भन्नुभयो ।
उहाँका अनुसार यहाँबाट वार्षिक ६ क्विन्टल च्याउ बिक्री गर्ने गरिएको छ । विद्यार्थीले विभिन्न प्रजातिका फलफूल, तरकारीको बेर्ना बेचेर समेत राम्रो कमाइ गर्ने गरेका छन् । विद्यालयले २० रोपनीभन्दा बढी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ ।
शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा टनेलसँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुन्छ । खेतबारीमा नै पुगेर किसानसँगै अभ्यास गर्दा अझ व्यावहारिक बन्न सहज भएको बागलुङबाट बालविज्ञान पढ्न आएकी सिर्जना विकले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच