काठमाडौं । प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आज बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल निष्कर्षविहीन बनेको छ ।
सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख ६ दलका सचेतकहरुलाई छलफलका लागि बोलाउनु भएको थियो ।
सभामुखसँगको छलफलमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउनुपर्ने अडान राख्यो । सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा कांग्रेसकी सचेतक सुशीला थिङले आफ्नो पार्टीको पुरानै अडान सुनाउनु भयो ।
यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक थिङले जानकारी दिनुभयो।
सभामुखसँगको बैठक पछि उहाँले भन्नुभयो–‘यसबारेमा कांग्रेसले कुन पोजिसन लिने, सदनको काम कसरी अगाडि बढाउने, संसदीय छानबिन समितिको विषयमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ ।’ गृहमन्त्री लामिछानेले पेश गर्ने राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएको हुनाले २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको उहाँले बताउनु भयो ।
यता सत्तारुढ दल नेकपा एमालेले भने गृहमन्त्री आफैँले सदनमा जवाफ दिने बताईरहँदा कांग्रेसले सदन अवरुद्ध गर्नु गैरराजनीतिक कदम भएको बताएको छ ।
सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकाकी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तोलाले छानबिन समिति आवश्यक नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्रीको बिषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। उहाँहरुले उठाएको बिषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ। त्यसमा उहाँहरुले सहजिकरण गर्नुपर्छ। यति धैर्यता राख्नुपर्छ। संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा माग गरिएको भन्ने आशंका छ।’
यस्तै, रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसको मागको अर्थ नरहेको बताउनु भयो ।
आजको बैठकपछि कांग्रेस भोलिको बैठकमा कार्यतालिका अनुसार अघि बढ्न तयार हुने विश्वास व्यक्त गर्नुभयो ।
'प्रतिपक्ष दलले उठाएको बिषयमा प्रधानमन्त्रीले जवाफ त दिनु भइसकेको छ। तर, अझै उहाँहरुको अडान कामयै छ। हामीले निश्चित कार्यतालिक अनुसार अघि बढाउने बिषयमा छलफल गरेका छौं।' उहाँले भन्नुभयो, 'आज कांग्रेसको सचेतक पनि हुनुहुन्थ्यो हामी राजनीतिक संवाद गर्दै जाने, सदनलाई अवरोध नगर्ने भन्ने बिषयमा छलफल भएको छ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच