काठमाडौं । रिपोर्टर्स क्लब नेपालले २६औँ वार्षिकोत्सव मनाएको छ । क्लबले काठमाडौंको एभरेष्ट होटलमा एक विशेष समारोहबीच आफ्नो २६औँ वार्षिकोत्सव मनाएको हो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र विभिन्न दलको नेताहरूले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष ओलीले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले पत्रकार धमला हजारमा मात्रै नभएर लाखौँमा एक भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘रिपोर्टर्स क्लब नेपालले पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा क्लबले अझ धेरै ठूला ठूला योगदान पुर्याउन सकोस् भनेर हार्दिक शुभकामना भन्न चाहन्छु ।’
सम्बोधनको क्रममा ओलीले पत्रकार धमला प्रशंसा गर्ने कुरामा दानवीर भएको पनि सुनाउनुभयो । उहाँले थप्नुभयो, ‘ऋषिजी अरू कुरामा कुन्नि, प्रशंसा गर्ने कुरामा यति दानवीर हुनुहुन्छ । मभन्दा अगाडि बोल्ने वक्ताहरूको प्रशंसा, म आएपछि पनि मैले पनि सुनेँ । यो एउटा उहाँको विशेषता हो । किन कञ्जुस हुने ? खर्च हुँदैन, केही हुँदैन । म पनि ऋषिजीको प्रशंसा गर्न चाहन्छु-उहाँ हजारमा एक होइन लाखौँमा एक पत्रकार हो । उहाँले पैसा भएर क्लब खोलेको होइन नभईकन खोलेको हो । साथीहरूको समूह भएर खोलेको होइन । भएको भनेको क्षमता मात्रै हो । आँट र आत्मविश्वासले काम गरेको पत्रकार हो-ऋषि धमला ।’
उहाँले क्लबले र यसका नेतृत्व ऋषि धमलाले देशको लागि ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो । सम्बोधनको क्रममा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको माघ १९ गतेको ‘कू’को बेलामा क्लबले खेलेको भूमिकाको पनि स्मरण गराउनुभयो । अध्यक्ष ओलीले क्लबद्वारा सम्मानित विभिन्न व्यक्तित्वहरूलाई पनि बधाई दिँदै भन्नुभयो, ‘आज थुप्रै मित्रहरू सम्मानित भएको थाहा पाएको छु । प्रोफेसर गान्धी पण्डित । गायक पनि । सबै सुयोग्य पात्रले सम्मान प्राप्त गर्नुभएको छ ।’
क्लब सबै नागरिकको साझा मञ्च : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिपोर्टर्स क्लबलाई २६औँ वार्षिकोत्सवमा बधाई तथा शुभकामना दिँदै भन्नुभयो, ‘म रिपोर्टर्स क्लबलाई बधाई भन्न चाहन्छु । अझ धेरै सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु । विभिन्न संघर्ष गर्दै क्लब राष्ट्रियस्तरमा नै स्थापित भएको छ ।’ उहाँले विभिन्न राजनीतकि घट्नाक्रममा क्लब साझा मञ्च बनेको बताउनुभयो । उहाँले भन्नुभयो ‘क्लब वास्तवमा सबै नागरिकको साझा मञ्चजस्तै भएको छ ।’
धमला जनताको रुचिको पात्र : प्रधान
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको छ । उहाँले क्लबको २६औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै सभापति धमला देशका नेताहरू र प्रधानमन्त्रीभन्दा पनि जनताको रुचिको पात्र भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘ऋषिजी निर्भिक पत्रकार हो । उहाँ मिसन तयार भएपछि त्यसमा पूरा गरेरै छाड्नुहुन्छ । उहाँले एकपटक चारजना प्रमुख अतिथि बनाउनुभएको थियो । लोकेन्द्रबहादुर चन्द पनि प्रमुख अतिथि, बाबुराम भट्टराई पनि प्रमुख अतिथि, गिरिजाबाबु पनि प्रमुख अतिथि, माधव नेपाल पनि प्रमुख अतिथि । हामीले गिरिजाबाबुलाई नजान भन्यौँ । तर, उहाँले कार्यक्रम गरेर छाड्नुभयो । उहाँमा अद्भुत क्षमता छ ।’
मधेश आन्दोलनको आवाज : सोनल
लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले रिपोर्टर्स क्लब नेपालले देशको संविधान र व्यवस्थाको पक्षमा आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गरोस् भन्ने शुभकामना दिनुभएको छ । क्लबको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘क्लबले विभिन्न आन्दोलनमा संगठित रूपमा जनताको आवाज बनेर भूमिका खेलेको छ । ऋषिजीले जसरी नेतृत्व गर्नुभयो, उहाँलाई म धेरै–धेरै धन्यवाद दिन चाहन्छु । २६औँ वर्ष क्लबको सफलता जसरी भयो, आगामी दिनमा राम्रो भूमिका खेलोस् । अब आगामी दिनमा देशको संघीयता, गणतन्त्र, लोकतन्त्रको पक्षमा पनि काम गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।’ ऋषि धमलाले आफूहरूले गरेको मधेश आन्दोलनको बेलामा पनि मिडियामार्फत आफ्नो कुराहरूलाई स्थान दिएको सोनलले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा आन्दोलनकारी र उपेक्षितको तर्फबाट म ऋषि धमलाजीलाई साधुवाद भन्न चाहन्छु ।’
देशको परिवर्तनको हरेक आन्दोलनमा साथ र सहयोग : धमला
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूले देशको परिवर्तनको हरेक आन्दोलनमा साथ र सहयोग गरेको भन्दै अब देश समृद्धिको एजेण्डा बोकेर पत्रकारितालाई अघि बढाएको बताउनुभयो । क्लबको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति धमलाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘क्लब नेपालले २६ वर्षको यो यात्राको दौरानमा धेरै आरोहअवरोह भोग्यो । सञ्चार क्षेत्रको समस्या समाधान गर्न भूमिका खेलेको छ । देशको हरेक परिवर्तनमा हामीले साथ दिएका छौँ । अहिले प्रधानमन्त्रीज्यूलाई पनि हाम्रो साथ र सहयोग छ । यो देशको व्यवस्था परिवर्तनको लागि मिडियाले साथ दिएको हो । यो देशको सञ्चार क्षेत्र परिवर्तनको पक्षमा छन् ।’ अध्यक्ष धमलाले आफू अहिले शक्तिशाली विभिन्न पाँचवटा मिडियाको सञ्चालकको रूपमा रहेको स्मरण गराउनुभयो । उहाँले रिपोर्टर्स क्लब नेपाल संसद् नहुँदाको संसद् भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं हिम्मत नहार्नुहोस् । तपाईं सर्वसम्मत विश्वासको मत पाएको व्यक्ति पनि हो । तपाईं बाँकी चार वर्ष प्रधानमन्त्री बन्नुहोस् र देश विकास गरौँ । प्रधानमन्त्री किन परिवर्तन गर्ने ? प्रचण्डले पाँचै वर्ष काम गर्नुपर्छ । असम्भव भन्ने छैन ।’ सो क्रमममा उहाँले प्रधानमन्त्री प्रचण्डसमक्ष देश विकासको लागि चाहिने भिजन र विकासको मोडेल सार्वजनिक गर्न आग्रह गर्नुभयो ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता जगन्नाथ खतिवडा, वरिष्ठ पत्रकार हरिहर विरही, जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमन, जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खान, आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रिपोर्टर्स क्लब नेपाल सबै विचारलाई मञ्च प्रदान गर्ने साझा थलो भएको बताउँदै बधाई तथा शुभकामना दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहमा विभिन्न दलका नेता, सांसदहरू, कूटनीतिज्ञहरू र नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच