कांग्रेस महासमिति सदस्य निर्वाचनः देउवा समूहका ६ र कोइराला समूहका ५ बिजयी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । लालबन्दी सर्लाही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको महासमिति सदस्य चयनका लागि भएको मतदानबाट संस्थापन पक्षका ६ र ईतर पक्षका ५ जना विजयी भएका छन् ।

११ जना महासमिति सदस्य चयन गर्न हिजो (शुक्रबार) लालबन्दीस्थित जानकी माध्यमिक विद्यालयमा मतदान भएको थियो । मतदानबाट संस्थापन अर्थात् शेरबहादुर देउवा समूहबाट रेखा जोशी, प्रमोद कुमार बराल, शेष साह दुल्लाह, नवराज अधिकारी, शम्भुलाल श्रेष्ठ र रामबाबु साह विजयी हुनुभएको हो ।

यस्तै, संस्थापन इतर अर्थात् शेखर कोइराला समूहबाट लक्ष्मी प्रधान गोले, पम्फा लामा श्रेष्ठ, योगराज देवकोटा, रामचन्द्र चौधरी र कुशबहादुर विश्वकर्मा विजयी हुनुभएको हो। मतदानमा महिलातर्फ संस्थापन पक्षकी रेखा जोशीले ३६४ मत र संस्थापन इतर पक्षकी लक्ष्मी प्रधान गोलेले ३६३ मत प्राप्त गरी बिजयी भए । प्रतिस्पर्धी संस्थापन पक्षकी कन्चन साहले ३३५ र इतर समूहकी सुशीला कार्कीले ३०६ मत मात्रै प्राप्त गर्नुभएको हो ।

यस्तै, आदिवासी जनजातितर्फ विजयी हुनुभएका संस्थापन पक्षका शम्भुलाल श्रेष्ठले ४२९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी ईतर पक्षका सत्यदेव सिंह दनुवारले ३१४ मत मात्रै प्राप्त गर्नुभयो। प्रत्यक्ष खुल्लातर्फ संस्थापन पक्षका प्रमोद कुमार बरालले ४०७ मत र शेष शाह दुल्लाहले ३७७ मत प्राप्त गरी विजयी हुनुभएको छ।

प्रत्यक्ष खुल्लामा संस्थापन इतर समूहबाट योगराज देवकोटा ३९५, रामचन्द्र चौधरी ३८६ र पम्फा लामा श्रेष्ठ ३९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै, मधेशीमा संस्थापन पक्षबाट रामबाबु साह ४१५ मत ल्याई बिजयी हुँदा उहाँका प्रतिस्पर्धी संस्थापन इतर समूहका सोनेलाल साहले ३१० मत मात्रै प्राप्त गर्नुभयो। खस आर्यमा संस्थापन पक्षका नवराज अधिकारी ४३० मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी संस्थापन इतर समूहका उद्धव प्रसाद पौडेलले २७४ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, दलितमा संस्थापन इतर समूहका कुशबहादुर विक ३५९ मत ल्याएर बिजयी हुँदा उहाँकी प्रतिस्पर्धी संस्थापन पक्षकी जुना परियार ३ मतले पराजित हुनुभएको छ । महासमिति सदस्य निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका शिवकुमार गुर्मछानले ३६६, दीपक अधिकारीले ३४४, सुरेन्द्र प्रसाद न्यौपानेले ३०५ र बासुदेव अधिकारीले २६६ मत प्राप्त गर्नुभएको छ।

क्षेत्र नम्बर १ मा महासमिति सदस्य चुन्न हिजो (शुक्रबार) भएको मतदानमा ८४२ जना क्षेत्रीय प्रतिनिधिमध्ये ७७२ जना उपस्थित भएर मतदान गरेका थिए । हिजो अपरान्ह ४ बजे मतदान सकिएपनि तयारीको काम गर्दा गर्दै मतगणना सुरु गर्न राति ८ बजेको थियो । आज (शनिबार) बिहान साँढे ३ बजे मतगणना सकेर अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

सर्लाहीको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ मा जिल्ला अधिवेशनकै निर्वाचनताका मतदानबाटै र क्षेत्र नम्बर ३ मा केही दिनअघि सर्वसहमतीबाट महासमिति सदस्य चयन गरिसकिएको छ । क्षेत्र नम्बर २ मा निर्वाचन समितिले निर्वाचित महासमिति सदस्यको नामावली केन्द्रमा पठाइसकेको भएपनि केही विवाद देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?