
म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रहरुमा सडकको पहुँच पुगेसँगै गाउँगाउँमा पसल राखी व्यपार गर्ने चलन बढेको छ ।
यातायातका साधनहरुमार्फत काठमाण्डौं,पोखरा,चितवन लगाएतका ठूला सहरहरुबाट खाद्यान्न लगाएत उपभोग्य र निर्माण सामाग्री गाउँगाउँमा नै पुग्न थालेपछि बेनीबजार,दरवाङ बजार लगाएत जिल्लाका पुराना बजारको व्यापार घटेको छ ।
उत्तरतर्फ बेनी–जोमसोम र पश्चिमतर्फ बेनी–दरबाङ सडकको ट्याक खुलेर यातायातका साधनहरु संचालनमा आएपछि म्याग्दीको ग्रामीण क्षेत्रको मुहार फेरिएको छ भने शहरी क्षेत्रमा व्यापार व्यवसाय घट्दै गएको व्यापारीहरुले बताएका छन् ।
जिल्लाका करिब एक दर्जन बढी क्षेत्रमा बजार विस्तार हुन थालेको छ । सुगम मानिने सदरमुकाम बेनीबजारदेखि सबैभन्दा विकट मानिने पश्चिम म्याग्दीको गुर्जासम्म बजार विस्तार भएका छन् । सडकसंग जोडिएपछि अब जिल्लाका विकट क्षेत्र पनि सुगममा परिणत भएका स्थानीयले बताएका छन् ।
“अहिले जताततै बजार विस्तार हुँदै गएका छन् । आम नागरिकले सेवा सुविधा पनि पाउन थालेका छन् । सामान्य समान किनमेलका लागि घण्टौँ समय लगाएर बजार धाउनु पर्ने बाध्यतामा रहेका स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाउने सुविधामा छन् ।” मालिका गाउँपालिका १ की टीकामति पुनले बताउनुभयो । जिल्ला सदरमुकाम बेनी बजारेदेखि पश्चिम म्याग्दीको मुनासम्मका दर्जनौँ स्थानमा अहिले साना–ठूला बजार विस्तार भएका छन् । अझै विकास हुने क्रममा छन् ।
२०६३ सालमा ट्याक खुलेको बेनी–दरबाङले म्याग्दीका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका २७ वटा गाउँ र बागलुङ जिल्लाका तमान,बुर्तिबाङ,ढोरपाटन क्षेत्रका ९ वटा गाउँलाई जोडेको छ ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ र मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट त्यसभेगमा जाने १८ वटा गाउँमा ग्रामीण सडक विस्तार भएका छन् । सोही सडकको बेनी–तातोपानी खण्डको ९किलोमिटर सडक ट्याक खुलेको १५ वर्ष पछि कालोपत्र गर्ने काम सुरु गरिएको छ । सडकले जोडेका सिंगा, तातोपानी,वावियाचौर,रणबाङ,तोराखेत,दरबाङ,मुना,धारापानी,ताकम,बिम,मराङ लगायतका स्थान अहिले बजारमा परिणत हुँदैछन् ।
अहिले बजार विस्तार हुन लागेका ठाउँहरू सडक पुग्नुभन्दा पहिला सुनसान थिए । तर, अहिले यहाँ निकै चहलपहल बढेको छ दरबाङका गोपाल सुवेदीले बताउनुभयो ।
सडकले धेरै सहजता प्रदान गर्नुको साथै जीवननै परिवर्तन गरिदिएको धौलागिरि गाउँपालिका ५ का शेरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले यति ठूला घरहरू बने, पसलहरू छन्, पहिला त गाई, भैँसी र भेँडाबाख्राका गोठ हुन्थे, सोँच्दै नसोचको विकास भयो, मैले त हाम्रो पालामा यस्तो विकास होला भन्ने सोँचेको पनि थिएन ।”
त्यसैगरी सडक र बजार विस्तारले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकाका जनता र मुस्ताङीहरुको पनि जीवन शैलीमा परिवर्तन ल्याइदिएको छ । विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेपछि बेनी–जोमसोम सडकमा गाडी गुड्न थाले । बेनी–जोमसोम सडकको क्षेत्रमा रहेका आधा दर्जन बढी ठाउँहरुमा बजार विस्तार भयो । म्याग्दीको बेनी बजार र मुस्ताङको जोमसोम बजारको रौनक थपियो ।
उत्तरी म्याग्दीका विभिन्न गाउँहरुमा भारी बोकेर खाद्यान्न लगाएतका सामाग्रीहरु लैजाने भरिया र खच्चडहरूको ठाउँमा गाडीहरुले ढुवानी गर्न थाले । गाउँगाउँमा बजार विस्तार भएपछि जनतालाई सहज भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
सडक छेउमा वस्ती विस्तार हुने क्रम बढ्दै गएपछि यस क्षेत्रको रौनक नै फेरिएको दानाका होटल तथा पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो । “सडक आएपछि माथि-माथि गाउँबाट मान्छेहरू तल झरेर सडक छेउमा घर बनाउन थाले, पहिला सुनसान हुने ठाउँमा अहिले निकै रमाइलो र चहलपहल भयो ।” शेरचनले भन्नुभयो ।
उहाँले सडकले गाउँ–ठाउँको विकाससँगै सुगमका ठाउँदेखि दुर्गमका गाउँहरू जोडिएको भन्दै यसले गर्दा स्वास्थ्य, शिक्षालगायत धेरै सेवा सुविधा उपभोग गर्न पाएको बताउनुभयो । स्वास्थ्य उपचारको लागि टाढा–टाढा जाने बाध्यता हटेको भन्दै अहिले नजिकै उपचार पाउन थालेको स्थानीयले बताए । “सडक आयो, बजार बन्दैछ, बजारमा ठूला होटल पसलसँगै अस्पताल पनि बनेका छन्, त्यसले गर्दा अब बिरामी परेर डोलामा बोकेर टाढा जानुपर्ने बाध्यता हटे, नजिकै अस्पताल छ, त्यही गएपछि उपचार हुन्छ,” शिखका इन्द्र बरुवालले भन्नुभयो “पहिले न मोटरबाटो न अस्पतालनजिक निकै समस्या थियो, अहिले मोटरबाटो पनि आयो बजार पनि बन्यो र अस्पताल पनि बन्यो,हामीलाई निकै सजिलो भयो ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच