राजनीतिमा जहिलेसम्म मनले होइन मुखले बोल्छन् त्यतिबेलासम्म राजनीति गर्नेहरूको कथनीमा विश्वास गर्ने हो भने निःसंकोच धोखा हुन्छ । मनले जसले बोल्छ त्यसले त्यो काम अवश्य पूरा गर्छ । मुखले जसले बोल्छ उसले ढाँट्छ । अर्थात् बोल्नका लागि बोल्छ । नेपाली राजनीतिकर्मी फगत बोल्नका लागि बोल्छन् । नेपाली राजनीति अहिले ढाँट, छल, घोखेबाज र पाखण्डीहरूको उर्वर क्रीडास्थल भएको छ । फटाहा, लफंगा, तस्कर, माफिया र पाखण्डी राजनीतिको मियो भएका छन् । राजनीतिक व्यक्ति पाँचजनामध्ये चारजना गलत नियतले राजनीतिमा प्रवेश गरेको अवस्था छ ।
अहिले नेपाली राजनीति इतिहासमै बद्नाम छ । कहीँ कसैले ठग्यो, झुक्यायो, छल्यो, धोका दियो, षड्यन्त्र ग¥यो भने अहिले त्यसले राजनीति ग¥यो भनिन्छ । राजनीति शब्द नै ढाँट, छल, हेराफेरि, तस्करी, लुटखसोट, षड्यन्त्र र पाखण्डको पर्यायवाची बन्यो । यो राजनीति र राजनीतिज्ञहरू प्रतिको सामाजिक व्यंग्य हो । अर्थात् नीतिहरूमा सबैभन्दा उत्कृष्ट नीति अहिले किन निकृष्ट नीतिको रूपमा चित्रित हुन्छ ? देशलाई व्यवस्थित गर्ने नीतिप्रतिको जनअविश्वास भनेको राज्यका क्रियाकलापप्रतिको जनअविश्वास हो । त्यो अवस्था भनेको देशको अघोषित संकटकाल हो । अहिले कति बेला के हुन्छ ? सत्ता कसले कहिले कसरी हात पार्छ ?
सत्ताको मूल्य, मर्यादा, उद्देश्य र मान्यताविपरीत कुर्सीका लागि हुने उथलपुथलले देशको अर्थतन्त्रको ढाड भाँच्चियो । पदलोलुपहरूको सत्ताकेन्द्रित खेल र उथलपुथलको बिगबिगी छ । आवधिक निर्वाचनले स्थिरता दिन असफल भएको अवस्थाले अब देश नै असफल हुने हो कि भन्ने डर छ ।
त्यो अनुमान र आकलन नै नहुने र आर्थिक संकटको सामना गर्ने परिस्थिति के संकटकाल होइन र ? दश वर्षे माओवादीको विद्रोहको क्रममा र त्यसपछि नेपाली राजनीतिमा माओवादीको नियमित सत्ता उथलपुथलले निम्त्याएको संकटकालका कारण देशको विकासको र समृद्धिको बाटो बन्दप्रायः छ । ठूला पार्टी कांग्रेस र एमालेको नेतृत्व पुष्पकमल दाहालको सत्ता उथलपुथल चरित्रको सारथी बनेका छन् । पुष्पकमल दाहाल, शेरबहादुर देउबा र खड्गप्रसाद ओलीको सत्ताको छिनाझपटीले दुई दशकको अवधिमा देशमा विकास र समृद्धि होइन अर्थतन्त्रको दूरावस्था, कुशासन र परिवारवाद फष्टायो ।
सत्ताको मूल्य, मर्यादा, उद्देश्य र मान्यविपरीत कुर्सीका लागि हुने उथलपुथलले देशको अर्थतन्त्रको ढाड भाँच्चियो । पदलोलुपहरूको सत्ताकेन्द्रित खेल र उथलपुथलको बिगबिगी छ । आवधिक निर्वाचनले स्थिरता दिन असफल भएको अवस्थाले अब देश नै असफल हुने डर छ । तर सत्ताको त्रिकोणत्मक बाघचाल दिनदिनै चलिरहेको छ । तीन पार्टीका तीन नेताहरूका कारण स्थिरता, विकास, समृद्धि भाषणमा र संविधानका अक्षरहरूमा सीमित हुँदा नेपाली जनताका विकास, समृद्धिका चाहनाहरू अलपत्र परे । तीन पार्टीका नेताहरूको चरित्र, संविधानका कमजोरीहरूले वर्तमान संविधान असफलतातिर मोडियो ।
हिजो राजनीतिमा शिष्टाचार, सदाचारको खेती हुन्थ्यो । अहिले राजनीतिमा अपशब्द, अपराध र भ्रष्टाचारको खेती मौलाएको छ । त्यसैले राजनीतिको मूल्य, मान्यता, सदाचारलाई रामचन्द्र, शेरबहादुर, पुष्पकमल र खड्गप्रसादहरूले लिलाम गरे । हिजो इमानदार, नैतिक र चारित्रिक व्यक्तिहरू राजनीतिमा हुन्थे तर अहिले राजनीति बेइमान, फटाहा, ढाँट, लुच्चाहरूको आश्रयस्थलमात्रै होइन मूल कर्मथलो भएको छ । इमानदारी, नैतिकता वर्तमान राजनीतिमा चरम उपहासको विषय भएको छ । अहिले देशको बेहाल हुनुको कारण राजनीतिक व्यक्तिहरूको कथनी र करनीबीचको अन्तर हो । अब कथनी र करनीको राम्रोसँग हिसाब किताब, जाँचपड्ताल, समीक्षा, विश्लेषण गरेर त्यस्तो क्रियाकलाप अब दण्डित हुने कानुन, नियम नै बन्नुपर्छ । ताकि बोल्नुभन्दा पहिल्यै गम्भीरतापूर्वक सोचोस् अनिमात्र बोलोस् ।
काम गर्नुभन्दा पहिल्यै सोचोस् अनिमात्र काम गरोस् । निर्णय गर्नुभन्दा पहिल्यै सोचोस् अनिमात्र निर्णय गरोस् । यहाँ जे मन लाग्छ त्यही बोल्दा पनि हुन्छ भन्ने दृष्टिकोण विकास भयो । जिम्मेवारीमा हुनेहरू बोलीमा, व्यवहारमा, सोचाइजस्ता सबै विषयमा जिम्मेवार बन्नुपर्छ । जिम्मेवार नहुँदा नैतिक दण्ड हुन्छ भन्ने भएन भने ऊ जिम्मेवार हुँदैन तसर्थ विशेषतः उच्चपदस्थहरूलाई जिम्मेवार बनाउन गर्नुपर्ने उपाय के हुन् अब नागरिक समाजले खोज्नुपर्छ । जे मन लाग्यो त्यो बोल्ने प्रवृत्तिले राजनीतिलाई नै ढाँट, छल, षड्यन्त्रको क्रीडास्थल बनायो । अर्को अर्थमा भन्ने हो भने गैरजिम्मेवार बोली, आश्वासनले राजनीतिमा ढाँट, छल, बेइमानहरू पुरस्कृत, इमानदार दण्डित हुने दुर्भाग्यपूर्ण परिस्थिति विकास भएको छ ।
अहिले मात्रै होन हिजैदेखि नेपालीहरू त्यहीँ धोखा, छलकपट, बेइमानी, लुट र शक्तिको दुरुपयोगको सिकार भएको अवस्थामात्रै छैन अझ त्यो अवस्थाको निरन्तरताको खतरा छ । हाम्रो विकास, समृद्धिको बाधक नै निर्णय, आश्वासन, प्रतिबद्धता अनुसार काम नहुनु हो । आवाज मनबाट होइन फगत मुखबाट निस्केको बोलीको कुनै अर्थ हुँदैन । जहिलेसम्म व्यक्तिले मनको आवाज मुखरित गर्दैन त्यो बेलासम्म कथनी र करनीबीच अन्तर हुन्छ । अर्थात् जे बोल्छ त्यो गर्दैन जे गर्छ मुखले त्यो किमार्थ व्यक्त गर्दैन । भ्रष्टाचार गर्छन्, त्यो सत्यलाई कसैले उद्घाटन गर्दैनन् । त्यसको विपरीत भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर चर्को भाषण, ओठे प्रतिबद्धता गर्नेहहरूको कार्यकालमा थुप्रै भ्रष्टाचारका घटना भए ।
नेपालका अहिलेसम्म भएका प्रधानमन्त्रीहरूको भाषण, बोली, निर्णय, प्रतिबद्धता, आश्वासनलाई र कार्यान्वयन पक्षलाई नियाल्ने हो भने उनीहरूका बोलीहरू, प्रतिबद्धताहरू, आश्वासनहरू मुस्किलले पाँच प्रतिशत पनि कार्यान्वयन हुँदैनन् । बोल्नका लागि बोल्ने कि काम गर्न ? यो प्रश्नको जबाफ के ती प्रधानमन्त्रीहरूसँग छ ? जो बोल्न बोल्छन् तिनीहरू नेपाली जनताका शत्रु हुन् । यो प्रवृत्तिको कटाक्ष नै आजको आवश्यकता र आमनेपालीको चाहना हो । जुन प्रधानमन्त्री सांसदहरू बहुमतबाट चुनिन्छन् उनीहरूले बोलेका कुरा र दिएका आश्वासन कम्तीमा पनि ५० प्रतिशत भन्दा बढी कार्यान्वयन भएको हुनुपर्छ ।
निर्वाचनमा बहुमतको अर्थ कूल मतदातामध्ये ५० प्रतिशत भन्दा बढीको समर्थन वा मत अनिवार्य हुने व्यवस्था फगत निर्वाचनमा विजय हुने आधारमा किमार्थ होइन । यसरी निर्वाचित पदाधिकारीहरूले बोलेका आश्वासन, संकल्प र प्रतिबद्धता कम्तीमा पचास प्रतिशतभन्दा बढी पूरा भएको हुनुपर्छ । त्यो नभए ऊ असफल हो । यस आधारमा सबै प्रधानमन्त्रीहरू असफल प्रमाणित भए । शिष्टाचारविपरीतका अभिव्यक्तिलाई अपराध मान्नुपर्छ । सबै निर्वाचित पदाधिकारीका भाषण आश्वासन, प्रतिबद्धताको लेखाजोखा, विश्लेषण, समीक्षा, समालोचना, अध्ययन, अनुसन्धान अबका दिनमा प्रारम्भ गर्नुपर्छ । देशको प्रधानमन्त्रीजस्तो जिम्मेवार मानिसले कुनै पनि अवस्थामा गैरजिम्मेवार अभिव्यक्ति दिनु हुँदैन ।
गैरजिम्मेवार अभिव्यक्तिलाई रोक्न र सबै जनप्रतिनिधिलाई जिम्मेवार बनाउन पनि उनीहरूका बोली, भाषणमा गरेका प्रतिबद्धतालाई रेकर्ड गर्ने र त्यसानुसार कति प्रतिशत काम भयो सो सार्वजनिक गर्ने प्रबन्ध गर्ने पद्धति विकास गर्न सकियो भने सबैलाई जिम्मेवार बन्न र आफ्नो आश्वाशन अनुसारका काम गर्न बाध्य पार्न सक्छ । बोली, व्यवहारमा शिष्टाचारका दृष्टिकोणले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरूको चरित्रको लेखाजोखा गर्ने अनुसन्धान गर्ने, समीक्षा, विश्लेषण, उनीहरूलाई सतर्कसमेत गराउने प्रबन्धका लागि नागरिक समाजले जिम्मेवारी निर्वाह गर्नुपर्छ । समाजलाई अनुशासित र व्यवस्थित गर्न शिष्टाचारको अहं भूमिका हुन्छ ।
त्यसैले शिष्टाचारविपरीतका अभिव्यक्ति र व्यवहारहरूको लेखाजोखा विश्लेषण, मूल्याकंनको फेहरिस्तलाई सार्वजनिक गर्ने र अहिलेसम्मका प्रधानमन्त्रीहरूको शिष्टाचारको मूल्यांकन प्रतिवेदनका रूपमा सार्वजनिक गरेर अबका दिनमा प्रधानमन्त्री हुने सबैलाई सतर्क बनाउन गर्नुपर्ने उपायहरूका माध्यमले समग्र समाज र वातावरणलाई नै शिष्ट, सुसंस्कृत बनाउन खेल्ने भूमिकासँग सम्बन्धित कानुन र व्यवहार बारे अब अपनाउने नयाँ उपाय अवलम्बन गर्ने गृहकार्य गर्ने दायित्व र भूमिका निर्वाह गर्ने संयन्त्रको आवश्यकता भएको कुरा वर्तमान अवस्थामा उच्चपदस्थको शिष्टाचार र सदाचारमा देखिएको स्खलनले दबाब सिर्जना गरेको छ ।
शिष्टाचार चरित्र, अनुशासन र सदाचारसम्बन्धी सामाजिक दबाबले उनीहरूलाई आफ्ना काम कारबाहीको आत्मसमीक्षा, आत्ममूल्यांकन गर्न नैतिक दबाब दिन्छ । मनमा जे आयो त्यही बोल्ने, हुने नहुने सबै आश्वासन दिने र भ्रम सिर्जना गर्ने जुन चरित्र हाम्रो राजनीतिमा विकास भएको छ त्यसले नेतृत्वलाई गैरजिम्मेवार बनाएको छ । लोकतान्त्रिक शासन व्यवस्था भनेको व्यक्तिमा जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने चरित्र अनिवार्य शर्त हो । अहिले नेतृत्वमा विकसित गैरजिम्मेवार चरित्रको उपचारविना हामीले विकास र समृद्धिका लक्षहरू प्राप्त गर्न सक्दैनौं । यसलाई सुधार गर्न भाषणहरूलाई लिपिबद्ध गर्ने नयाँ संरचना बनाएर भए पनि यस्तो व्यवस्था गर्नुपर्छ । जसलाई जे मन लाग्यो त्यो बोल्ने, प्रधानमन्त्री, मन्त्री, माननीयजस्ता व्यक्तित्वहरूले अपशब्द बोल्ने जुन चरित्र विकास भएको छ त्यसले सबैलाई लज्जित बनाएको छ । दुर्भाग्य समाजमा छाडापनको विकास भयो । सभ्य समाजका लागि यो गम्भीर चुनौती र लज्जाको विषय हो । बहालबाला प्रधानमन्त्रीले सदनमा म हुँदासम्म हलचल, उथलपुथल भइरहन्छ भन्ने वाक्य प्रयोग गर्दा प्रतिनिधिसभामा हाँसोको फोहरा छोड्ने काम जुनभयो त्यसले समाजलाई अनुशासित होइन छाडा बनाउन उत्प्रेरित गर्छ ।
मुखमा देश र जनताको विकास मनमा आफू तथा आफ्नाको विकास भएकाहरूले मनमा भएको आफ्नो, आफ्नाका विकासमा सबै प्रधानमन्त्रीहरू सफल भए तर देश अनि जनताको विकासमा यिनीहरू इतिहासमै असफल र भ्रष्ट प्रमाणित भए ।
नारा दिनेहरूले प्रधानमन्त्रीको पदमा बसेर म बाँच्दासम्म उथलपुथल गरिरहन्छु भन्ने अभिव्यक्तिले कस्तो आदर्श, नैतिकता र इमानदारीको बिरुवा हामी राजनीतिमा रोप्दैछौं ? हामीले प्रधानमन्त्रीलाई समाजमा छाडापन विकास गर्न पक्कै नियुक्त गरेको होइन । देशको संसद्मै म रहँदासम्म हलचल भइरहन्छ र लात्तीले हान्छुजस्ता अपशब्द उच्चारण गर्ने हिम्मत नै राजनीतिमा भएको भ्रष्टाचार, छाडावाद र अनियमितताका अभ्यासहरूले उत्पादन गरेको घमण्ड हो । यो चरित्र वर्तमान प्रधानमन्त्रीमा मात्रै होइन पूर्वप्रधानमन्त्रीहरूमा समेत हुनु देशको दुर्भाग्य हो । समाजलाई अव्यवस्थित र लहडबाजीमा बोल्ने संस्कृतिको विकास गर्न छुट छैन ।
यस्ता शब्द सामान्य नागरिकले त प्रयोग गर्नु हुँदैन भने देशको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूमा भएको त्यो लत वास्तवमा मर्यादाक्रमविपरीतको अभिव्यक्ति हो । सबै पदका सीमा र मर्यादा हुन्छन् । पदमा रहँदा महत्वपूर्ण व्यक्तिले सीमा र मर्यादाको उल्लंघन गर्दा सदनमा कुनै सांसदले नियमापत्ति नगर्नु भनेको हाम्रा सांसदहरूलाई संसद्मा पनि मर्यादित ढंगले बोल्न आउँदैन भन्ने सन्देश दुर्भाग्यपूर्ण हो । संसद्मा प्रधानमन्त्री, प्रतिपक्षी दलका नेताहरू र पूर्वप्रधानमन्त्रीहरू पनि मर्यादित अभिव्यक्ति दिन सक्दैनन् भने हामीले कस्ता मानिसलाई उच्चपदमा पुर्याएका रहेछौं भनेर जनताले धिक्कार्नुपर्ने अवस्था दुर्भाग्य हो । संसदमा सारगर्वित अभिव्यक्ति दिने योग्यता नहुनेहरूद्वारा शासित भएका कारणले हाम्रो विकास र समृद्धि भाषणमा मात्रै सीमित भएको हो भन्ने निष्कर्ष नागरिकले निकाले भने के यसलाई अन्यथा भन्न मिल्छ ?
धैर्य, विवेक, शिष्टाचार, इमानदारी, नैतिकता र साहस नभएको नेतृत्वले विकास र समृद्धि मुखले फलाक्न सक्छन् तर त्यसलाई कार्यान्वयन गर्न किमार्थ सक्दैनन् । मुखमा देश र जनताको विकास मनमा आफू र आफ्नाको विकास भएकाहरूले मनमा भएको आफ्नो र आफ्नाका विकासमा सबै प्रधानमन्त्रीहरू सफल भए तर देश, जनताको विकासमा यिनीहरू इतिहासमै असफल, भ्रष्ट प्रमाणित भए । जो असफल र अयोग्य छ उसकै ठूलो स्वर भने झैँ भ्रष्टहरूबीच आपसमा कोभन्दा को भ्रष्ट भन्ने विवादमा नेपाली राजनीति रुमलिएको छ ।
विकास र समृद्धिको अवस्था भने उचालेको कुकुरले मृग मार्दैन भनेजस्तै छ । राजनीतिमा अर्कोले मोजमस्ती गरेको देखेर मनमा इष्र्या पालेकाहरूबाट भएको कारणले आफ्नो र पारिवारिक हित गर्नु नै यिनीहरूले राजनीतिको गन्तव्य बनाए । अहिले भिखारी राजा र राजा भिखारी भए । भूतपूर्व भिखारीहरूले सत्तामा रहँदा मोजमस्तीको भित्री आकांक्षा पूरा गर्लान् तर जनतासँग गरेका बाचा र प्रतिबद्धता पूरा गर्न सक्दैनन् । किनकि ती ओठे प्रतिबद्धता हुन् न कि मनबाट निस्केका प्रतिबद्धता । नेतृत्वमा हुनेहरूको शब्द शक्तिमा आएको विचलन र ह्रासले नै गरिबी, अभाव र बेरोजगारी सिर्जना भएका हुन् । (अष्ट्रेलियाको मेलबर्नबाट)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच