सीप र दक्षता हो स्थिरताको जनक
नेपालमा राजनीतिक स्थिरता कायम गर्न राजा, राणा र जनता कोही पनि सफल भएनन् । राजा अप्रजातान्त्रिक भएर सम्पूर्ण सत्ता उपभोग गर्न खोज्दा सत्ता छाडेर खुर्मुरिने अवस्थासम्म पुगेको हामी सबैले देख्यौं । राणाले परिवारको अंश लाएका कारणले उनीहरू चिरकालसम्म नेपालको शासनसत्तामा रहिरहन सकेका थिएनन् । राणालाई शासनसत्ताबाट हटाएर जनताको सत्ता ल्याउन २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा नेपाली जनताले संघर्ष गरे । संघर्षको उत्तेजना नसिद्धिँदै जनताको शासन संयन्त्रका विरुद्ध दरबार षड्यन्त्रमा लागेको प्रमाण पठनशील सबै नेपालीले बुझेकै कुरा हुन् । २०१७ सालको घटना राजाले राज्यका विरुद्ध गरेको ‘कु’ हो भन्ने कुरो २०३६, २०४६, २०६२/०६३ का राजनीतिक परिवर्तनले साबित गरिदिए ।
यस अवस्थामा पनि साउनमा आँखा फुटेका लिङ्देन जस्ता राजनीतिकर्मीले अझै पनि राजाको आवश्यक्ता बोध गर्दछन् भने त्यो उनीहरूले बुझ्नुपर्ने कुरो हो । यस रटानले राप्रपालाई एउटा लोकप्रिय पार्टीमा स्थापित हुन धेरै दिनसम्म पनि नदिनसक्छ । नेकपा एमाले र नेपाली कांग्रेसले पनि युगानुकूल राजनीतिक सोच र पद्धतिको अवलम्बनमा ढिलाइ या कन्जुसी गरे भने राजनीतिक परिपाटीले स्थिरता पाउन अझै धेरै समय लाग्नेछ । कांग्रेस र नेकपा एमाले यो देशका पुराना राजनीतिक सहयात्री दल हुन् । दुवैमा पहिला राम्रो र असल चरित्रवान् नेता पनि थिए । बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद, सुशील कोइरालाजस्ता र पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता राम्रा नेता दुवै दलमा थिए ।
अहिले डा.शेखर कोइराला निर्वाचन पद्धति फेर्न सकिन्छ कि संविधानका कतिपय प्रवधान क्रियान्वयनमा असजिलो हुने छन् भने तिनलाई मिलाएर अबका चुनावमा जानुपर्दछ, यसरी सरकार परिवर्तन गरिरहेर देशअघि बढ्न सक्दैन भन्न लागेका छन् । कांग्रेस सभापति र एमाले अध्यक्ष बोलेका छैनन् ।
अहिले दुवै दलका नेता पैसा, सत्ता, सुन, आफन्त, ग्रुप, म भए ठीक अरू कोही पनि बेठीक भन्ने हुँडारे प्रवृत्तिका मात्रै छैनन् दुवै दलका नेता चरित्र आचरणहीन तथा करनी र कथनी भिन्नाभिन्नै भएका चाहिँ दलका प्रमुख स्थानमा रहेका देखिन्छन् । संविधान बनाउँदा यिनले षड्यन्त्र गरेका रहेछन् भन्ने कुरो पनि यिनले बनाएको संविधानको व्यवस्था र चुनावी पद्धतिले कुनै पनि दलको बहुमत आउन नसक्ने गरी व्यवस्था गरेर ‘तँ नेता म नेता यो देशको सत्ता कहिले यता कहिले त्यता’ बनाएका रहेछन् ।
अहिले डा.शेखर कोइराला निर्वाचन पद्धति फेर्न सकिन्छ कि संविधानका कतिपय प्रवधान कार्यान्वयनमा असजिलो हुने छन् भने तिनलाई मिलाएर अबका चुनावमा जानुपर्दछ । यसरी सरकार परिवर्तन गरिरहेर देश अघि बढ्न सक्दैन भन्न लागेका छन् । कांग्रेस सभापति र नेकपा एमाले अध्यक्ष चुँ पनि बोलेका छैनन् । यस अवस्थामा यो भएकै व्यवस्था अनुसारको स्थिरता भनेको १५ दिन ३० दिन र ३ महिनामा सरकार बदलेर सत्तासयर गरिरहनु हो भन्ने दुवैले बुझेका छन् । अतः कांग्रेस जनताका घरदैलामा पुगेर १५औं महाधिवेशनको तयारीमा लागे हुन्छ ।
स्वार्थ र षड्यन्त्रले स्थिरता आउँदैन
अहिले नेपालको राजनीतिमा पार्टीभित्र र पार्टीबाहिर अनेकौं प्रकारका षड्यन्त्र जालझेल आदिको तानावाना बुन्न व्यस्त छन् । दलनायकहरूले आफू कुर्सीमा बसिरहनका लागि आफ्ना आसेपासेलाई अघिसारेर चियापान गराउने, कसैलाई कारबाही गर्ने कसैलाई दलमा न्यून स्थानमा निचोरेर राख्नेजस्ता काम गरिरहेका छन् । प्रजातान्त्रिक कांग्रेसबाट एकजना आएर गिरिजाप्रसाद कोइरालासँग चुनावी प्रतिस्पर्धा गर्दा एक व्यवहार, आज डा.शेखरले सभापतिमा प्रतिस्पर्धा गर्दा अर्को व्यवहार गर्नु सुहाउँदिलो कुरो हो ? हिजो माधव महासचिव हुँदाको एमाले र आज ओली हुँदाको एमालेमा समान व्यवहार देख्ने साउनमा आँखा फुटेका एमालेका कानालाई सहानुभूति प्रकट गर्नुबाहेक मसँग अर्को कुनै विकल्प छैन ।
माओवादी केन्द्र भनेको वनमा बस्ता डा.बाबुराम र प्रचण्ड भन्ने हामी सुन्थ्यौं । सतहमा आएपछि यिनका बीचमा पनि स्वार्थ, कुर्सी र अहंको तुष्टिको व्यवस्थापन गर्न नसकेपछिको अवस्था के भयो ? यसरी आउँछ स्थिरता ? आजकै दिनमा पनि प्रचण्डका कुरा, आचरण र चिन्तनले कहिल्यै स्थिरता कायम गर्नसक्छ भनेर दुनियाँको कुनै मूर्खले कल्पना गर्ला ? यिनको कुशासन, भ्रष्टाचार, ढिलासुस्ती आदिका विरुद्ध केही गर्ने छेपाराको साँधन मुडो कहिले चिरिएर आगो बल्ला ? प्रचण्डका सबै कुरा चाना पखालेजस्ता मात्रै देखिए भनेर जनता भन्न लागे ।
रत्तलचन्दन, सुन, मान्छे तस्करी गराएर भए पनि आफूविरुद्धका बोली बन्द गराउने प्रचण्ड शैली र आफ्नाले गरेका भ्रष्टाचारको रासमा न्यानो तापेर सुत्ने शेरबहादुर अनि आफ्नाले नै गरेका करोडौं–अर्बाैंको घोटालाभित्र तित्रो बोले झैँ ट्याउँट्याउँ मान्छेका कानका कीरा मर्ने गरी दुर्वचन बोल्नु नै ओलीको जन्मसिद्ध अधिकार बनेर नेपालमा स्थिर बनेको देखिन्छ । त्योभन्दा अन्यत्र स्थायित्व यिनले कसैले खोजेका छैनन् । मूर्ख, स्वार्थी, लोभी अनि दम्भीले कहिल्यै पनि राम्रो काम गर्नसक्दैनन् । अहिलेको नेपालका तिनै ठूला दलका नायकहरू लोभी, पाखण्डी, भ्रष्ट, स्वार्थी र आफन्तपरस्त रहेका हुनाले देशका कुनै पक्षमा चाँडै स्थिरता र गतिशील प्रवृत्तिको विकास होला भनेर सोच्न छाडी यिनको विकल्प खोजेर भए पनि व्यवस्थामा परिवर्तन गर्न खोज्नु सामयिक चिनारी हो भन्न सकिन्छ ।
एमालेमा शंकर पोखरेल, प्रदीप ज्ञवालीजस्ता बौद्धिक शालीन चरित्रका धनी पनि ओलीका जुत्तालाई ऐना मानेर बसेका छन् । नमान्दा डा.भीम रावल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीको नियति व्यहोर्नुपर्ने डरले माओवादी केन्द्रको त के कुरा गर्नु र ?
राजनीतिलाई पारिवारिक विरासत बनाउने शन्ठले पनि देश र जनताको भलो गर्ला भनेर कल्पना गर्नु हाय रे नेपाल र नेपालीको नसिव ¤¤¤ । इलाममा बाबुका स्थानमा छोरो आएको हुनाले हामी जित्छौं भन्नु महेन्द्रको मृत्युपछिको वीरेन्द्रको गद्दीआरोहणभन्दा कति फरकछ ? कम्युनिष्टको प्रजातन्त्रको संस्कार कस्तो हुँदोरहेछ ? त्यस क्षेत्रका तमाम अरू एमाले अब कसका गोठाला बस्न जाने भनी गम्भीर बनेर सोच्न विवश भए कि भएनन् ? यस्तै चरित्र, चिन्तनले पद्धतिलाई स्थिर बनाउन सकिन्छ ? एमाले नायक ओलीको गोत्रीय नाति बनेर देखा परेका छन् रवि लामिछाने । ठूला गफ, हीन चरित्र, बहुश्रेयसीको नमुना, सत्तालुब्धता रविका विशेषता हुन् । यस्तै मिल्दोजुल्दो चरित्र, चिन्तन र व्यवहार भएका जति उनका दलमा लागेका देखिन्छन् ।
बहुदल नै बहुविकल्प थियो वानरका हातको नरिवल भयो
बहुदलीय प्रजातन्त्रमा विकल्पै विकल्प हुनुपर्दथ्यो । यसभन्दा अर्को उम्दो र उम्दैउम्दाका जमातले देश भरिनुपर्दथ्यो । आजको खडेरीमा पनि भारतमा जनताले अनेकौं विकल्प भेटेका छन् । नेपाल त रुसजस्तो भयो कि पुटिन कि पुटिनकै चिन्तन र आचरणको अर्को कोही । युक्रेन भने पनि हुने देखियो । जेलेन्स्की जस्ता उरन्ठेउला छिमेकीका रिसले देशमा आगो लाउनेको पनि नेपालमा कमी छैन । राष्ट्रिय स्वतन्त्र पार्टी, रेशम चौधरीकी श्रीमतीको पार्टी, उपेन्द्र यादव र महन्त ठाकुरजस्ता मधेसी जमिन्दारको पार्टी यी एकभन्दा अर्को सौताका रिसले पोइको खुट्टो कटुवा पार्टी हुन् । यिनको संस्कार संस्कृति भनेको सत्ता, शक्ति जनदोहन जनता शोषणमात्र हो ।
जसरी भए पनि सत्तामा जानैपर्ने, षड्यन्त्र गर्नैपर्ने, न दर्शनको चिन्ता न संगठनको चस्का यिनलाई खान र लाउन अनि सान देखाउन पाए पुग्यो । आजसम्मको यिनको चरित्र यसभन्दा उपल्ला श्रीणीको कसैले देखेका छन् भने बताऊन् । हाम्रो संविधानले जोसुकैलाई पार्टी खोल्न, सञ्चालन गर्न पाउने अधिकार प्रत्याभूत गरेको हुनाले यी दल उपयुक्त भएनन् भन्न खोजेको होइन यिनको चरित्र, आचरण र व्यवहार चाहिँ बहुलवादी रोलमोडेलको भएनमात्रै भनेको हो मैले । अहिले पनि बुद्धि भए शेरबहादुर र ओलीले आआफ्ना पार्टीमा शीघ्र चुनाव गराएर या आआफ्नै विश्वासपात्रलाई कावा दिएर भए पनि चरित्र भएका, काम गर्ने क्षमता भएका संस्कार र संस्कृतिका मूर्तिले अवसर पाए यो गन्दगी सफा गर्नेथिए ।
गगनले निकै पहिले गन्दगी सफा गर्न खोजेका हुन् तर परिस्थिति निर्माण गर्नै नसकेर त्यही गन्दगीमा नाक थुनेर बस्न विवश भए । एमालेमा त शंकर पोखरेल, प्रदीप ज्ञवालीजस्ता बौद्धिक शालीन चरित्रका धनी पनि ओलीका जुत्तालाई ऐना मानेर बसेका छन् । नमान्दा डा.भीम रावल, घनश्याम भुसाल र रामकुमारी झाँक्रीको नियति व्यहोर्नुपर्ने डरले । माओवादी केन्द्र भनेको त उम्रँदैका तिनपात के कुरा गर्नु र ? त्यहाँ लुटखसोट र हिंसाबाहेक मानवीय चरित्रका मान्छे नै देखिएनन् ।
यसो भएका कारणले यदि देशको देशमा भएका राम्रा असल कुराको माया ममता र संरक्षण एवं संवद्र्धनको चिन्ता भएका नेका र नेकपा एमालेका कार्यकर्ता मिलेर देशमा नव प्रवर्तन र नवजागृति ल्याउने संकल्पका साथ युवापुस्ता दलको दलदलभन्दा माथि उठेर एक जुट नहुने हो भने कुनै दिन यो देशको नापनक्सामात्रै होइन यसको अस्तित्व नै संकटापन्न नहोला भन्न सकिँदैन । अहिले हुँदै गरेका उपनिर्वाचनमा पनि स्थिर चरित्र भएका, लामो समयदेखि राजनीतिक उकाली–ओरालीको रापताप सहेका मान्छे छानेर भोट दिनुहोला । भूत भगाउँछौं भनेर घण्टी बजाउँदै आएका चटके, साम्प्रदायिक र विधर्मीपोषकलाई चिनेर खुइल्याउने काम भनेको नीरक्षीर विवेकी जनताको नै हो ।
‘जन’ शब्दमा ‘ता’ प्रत्यय लागेर बन्ने यो शब्द अचेल वामपन्थी चिन्तनका सोचका चेपमा परेर जन् (मज्दुर) बनीहारे जीवनका मान्छे भन्ने अर्थको (जन्) मा ता प्रत्यय लागेर जन्ता बनेर घिटिक घिटिक भइरहेको छ । छँदाखाँदाको प्रजातन्त्रलाई यिनकै हीनता बोधका कारणले सुझ न बुझका लक्करठैयाँहरू अचेल लोकतन्त्र भन्छन् । म चाहिँ लोकतन्त्र न प्रजातन्त्र शेबदे, खड्ग ओली र पुकदाको बिर्तातन्त्र देख्छु । आजको देशको समस्या भनेका यिनै तीनजना हुन् । राजनीतिक मञ्चबाट यी तीनजना हराएको महिना दिनमा यो देशका समस्या समाधानका बाटामा लाग्ने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच