काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना गर्ने सम्मेलनको तयारी सरकारले तीव्र पारेको हो । ‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा १० वटाभन्दा बढी सत्र र ५० जनाभन्दा बढी वक्ता रहने अनुमान गरिएको छ । सम्मेलनको पूर्व–तयारीका कामसँगै लगानीकर्ता सम्मिलित ‘प्री-इभेन्ट’ आयोजना भइरहेका छन् ।
सम्मेलनमा सहभागी हुन विभिन्न देश, दातृ निकाय तथा विकास साझेदारबाट एक हजार एक सय जनाभन्दा बढी अतिथिलाई निम्ता दिइएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार नेपालका ५६ जना, संयुक्त राज्य अमेरिकाका १५, भारतका १२, चीनका ६, कोरियाका पाँच र स्विजरल्याण्ड, संयुक्त अधिराज्य, जापान तथा पाकिस्तानका समान तीन÷तीन जनाको सहभागिता सुनिश्चित भएको छ । त्यस्तै, नेदरल्याण्ड, बहराइन, युरोपेली संघ, युनेस्को, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त अरब इमिरेट्सका समान दुई÷दुई जनाको सहभागिता सुनिश्चित भएको छ ।
साउदी अरेबिया, फिलिपिन्स, मलेसिया, जर्मनी, रुस, नर्वे, माल्दिभ्स, थाइल्याण्ड, साइप्रस, इजिप्ट, श्रीलंका, अष्ट्रियालगायत देशका लगानीकर्ता पनि सम्मेलनमा भाग लिने सुनिश्चितता भइसकेको बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिनेलगायत काम भइरहेका छन् । लगानी आकर्षित गर्न आवश्यक ठानिएका नीतिगत तथा कानुनी स्पष्टता, ‘सोकेस’का आयोजनाको पूर्वतयारी, सम्मेलनको प्रचारप्रसार तथा अतिथिलाई निम्ता गर्ने लगायतका कामहरू द्रुत गतिमा भइरहेको सरकारको भनाइ छ । लगानी सम्मेलनमा ‘सोकेस’ मा लैजान १२५ वटा आयोजना पहिचान भएका छन् । जसमध्ये तीन वटाको लगानी सम्मेलनका क्रममा परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट-पिडिए) गर्ने तयारी रहेको लगानी बोर्डका प्रवक्ता उपाध्यायले बताउनुभयो । सम्मेलनमा नेपाल-चीनमैत्री औद्योगिक पार्क, माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदै छ ।
त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट-पिआइए)को पनि तयारी छ ।
सम्मेलनमार्फत विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेष्ट-इओआई) माग गरिँदै छ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ ६ वटा, पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटा आयोजना सोकेसमा लगिँदै छ । त्यस्तै, निजी क्षेत्रको लगानीका १८ वटा, निजी क्षेत्रमार्फत लगानी प्रवद्र्धन गर्न खोजिएका १२ वटा र अन्य १२ वटा आयोजना पनि ‘सोकेस’ मा राखिँदै छन् ।
१२ कानुन संशोधनको तयारी
सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको छ । लगानी भित्र्याउन कानुनी जटिलता फुकाउने तयारीमा रहेको सरकार आवश्यक परे कानुन संशोधनका लागि अध्यादेशको विकल्पमा समेत जाने तयारीमा लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभाको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको बताउनुभयो ।
लगानीको वातावरण सुधार गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले वातावरण बनाउन आवश्यक सबै जटिलता फुकाउन सरकार तत्पर रहेको बताउनुभयो । ‘लगानीको वातावरण निर्माणका लागि आवश्यक कानुन निर्माण वर्तमान सरकारको उच्च प्राथमिकतामा छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सम्भव भएसम्म संसद्बाट र नभए अध्यादेशमार्फत नै भए पनि कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्न सरकार तयार छ ।’ लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको उहाँको भनाइ थियो ।
लगानीकर्ता निराश छन् : पूर्व-अर्थमन्त्री महत
पूर्व–अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी लगानी सम्मेलनमा लगानी गर्न आउने तयारीमा रहेका लगानीकर्ता निराश भएको टिप्पणी गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारण सभामा बुधबार सम्बोधन गर्दै उहाँले लगानी गर्न आउने तयारीमा रहेका लगानीकर्ता निराश भएको टिप्पणी गर्नुभएको हो । ‘लगानी सम्मेलनमा भाग लिन मात्र होइन, लगानी गर्न आउने लगानीकर्ता आउँदै थिए । तर, अहिले निराश भएका छन् । विश्वास दिलाउने काम सरकारको हो,’ उहाँले भन्नुभयो ।
यस्तै, कन्ट्री रेटिङमा पनि अहिलेको सरकारले चासो नदेखाएको उहाँले आरोप लगाउनुभयो । आर्थिक वृद्धि र उत्पादनको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने उहाँको भनाइ थियो । ‘वितरणमुखी बाटोमा जाने, सहकार्यको कुरा निजी क्षेत्रसँग गर्ने तर व्यवहारमा नउतार्ने प्रवृत्ति छ । सरकारले पूर्वाधार तयार गरिदिनु पर्छ । नीति बनाइदिनु पर्छ’, उहाँले भन्नुभयो । कुरा गर्ने तर काम नगर्ने परिपाटी जारी रहे अर्थतन्त्रले समातेको सुधारको बाटोसमेत भत्किन सक्ने उहाँले दाबी गर्नुभयो ।
कूटनीतिज्ञसँग प्रधानमन्त्रीको आग्रह- नेपाललाई लगानी गन्तव्य स्थापित गर्न सहयोग गर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबारमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । ‘लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौँ,’ उहाँले भन्नुभयो ।
संघीय सरकारका मन्त्रालयसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच