काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो । भेटमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पदाधिकारी र कार्यकारी सदस्यको उपस्थिति थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताउनुभयो । विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने भन्दै सिआइआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
यसैबीच अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको भन्दै दुई देशबीचको व्यापार र लगानी प्रवद्र्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने प्रतिनिधिमण्डललाई आश्वासन दिनुभयो । त्यसैगरी उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सिआइआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारणसभामा मुख्य वक्ता हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलमा भारतका छवटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका थिए । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको उल्लेख गर्दै भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएको महासंघले जनाएको छ ।
अध्यक्ष ढकालले महासंघमा रहेको हेल्प डेस्कमार्फत् महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने विश्वास दिलाउँदै आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताउनुभयो । महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ । दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । गत वर्ष महासंघ र सिआइआईले संयुक्तरूपमा भारतमा नेपाल इण्डिया बिजनेस समिट आयोजना गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच