सरकारी स्वामित्वको सञ्चारमाध्यमहरुका लागि छाता ऐन ल्याउनुपर्नेमा सांसदहरुको जोड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । सांसदहरुले सार्वजनिक सेवा प्रशारण विधेयकलाई छाता ऐनको रुपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल गर्दै संशोधनकर्ता सांसदहरुले यस विधेयकलाई छाता ऐन बनाउनेगरी अगाडी बढाउनुपर्ने बताएका हुन् । उनीहरुले यस विधेयकले सरकारी स्वामित्वका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समेट्नुपर्ने बताउनु भयो ।

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद दामोदर पौडेलले यस विधेयक रेडियो र टेलिभिजनलाई मात्रै एकीकृत गर्नेगरी आएको भन्दै यसले राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई पनि समेट्नुपर्ने बताउनु भयो । उहाँले सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमहरुलाई एकीकृत गर्दै ति सँग सम्बन्धित कानूनहरुलाई खारेज गर्नुपर्ने बताउनु भयो । उहाँले देशलाई बलियो बनाउनका लागि सरकारद्वारा सञ्चालित निकायहरु बलियो हुनुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो - ‘रेडियो र टेलिभिजनलाई मात्रै एकीकृत गर्ने भनेर यो प्रस्तावित छ । राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई पनि हामीले यही अन्तर्गत नै ल्याएर आधुनिकीकरण गरेर, प्रविधिमैत्री बनाएर ल्याउनुपर्ने थियो कि भन्ने मलाई लागेर मेरो संशोधन यसमा छ । यो विधेयक प्रस्तुत गरिरहँदा अहिलेको आधुनिक युगमा सरकारलाई बलियो बनाउने हो भने, नेपाललाई बलियो बनाउने हो भने नेपाल सरकारद्वारा सञ्चालित सबै निकायहरु बलिया हुन जरुरी छ । हामीले गरेका कामको सरकारी सञ्चार माध्यममा आएको सुन्दैनौँ । अरु सञ्चारमाध्यमहरुले लेखेको कुराहरुलाई उदाहरण दिएको सुन्छौँ । नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरुलाई बलियो बनाउनका लागि यो ऐनको नाममा नै सार्वजनिक सेवा सञ्चार ऐन भनेर लग्यौँ भने यसले अरु धेरै काम गर्न सक्छ भन्ने मेरो मान्यता छ । जहाँ हामीले प्रशारण लेखेका छौँ त्यो सबै ठाउँमा सञ्चार भनेर संशोधन गर्नुपर्छ । सरकारको स्वामित्वमा रहेका जतिपनि दृश्य प्रशारण गर्ने, स्वर प्रशारण गर्ने र छापाबाट प्रकाशन गर्ने जतिपनि निकायहरु छन् तिनलाई एकीकृत गर्नुपर्‍यो । तिसँग सम्बन्धित जतिपनि कानूनहरु छन्, तिनलाई खारेज गरेर नयाँ कानून प्रश्तावित गर्नेगरी ल्याउनुपर्‍यो । सकिन्छ भने आम सञ्चारमाध्यमलाई नै छाता संगठनको रुपमा काम गर्नेगरी यो प्रशारण ऐन आउनुपर्थ्याे ।’

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले पनि सरकारी सञ्चारमाध्यमहरुलाई एउटै छाताभित्र राख्ने कानून बनाउनुपर्ने बताउनु भयो । उहाँले सञ्चार माध्यमहरुको दुरुपयोगभइरहेको भन्दै सञ्चार माध्यमले समाजलाई अग्रगमनतिर लिएर जानुपर्ने बताउनु भयो । उहाँले जसको सरकार बनेपनि बनेका विधि, प्रक्रियामाथि घात नहुनेगरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो - ‘सञ्चार माध्यमहरुको दुरुपयोग जुन किसिमले भइरहेको छ, यसले समाजलाई अग्रगमनमा लिएर जानुपर्ने ठाउँमा कता-कता पाश्चात्यतिर लगेर हामीलाई गलत ढंगले सोच्न विवश तुल्याएको छ, त्यतापट्टी सचेत बनाएर एउटा यस्तो कानून आवश्यक छ जसले सबैलाई एउटै छाताभित्र राखोस् । जोसुकै सरकारमा आओस् हामीले बनाएको विधि र प्रक्रियामाथि घात, प्रतिघात नहोस् । लोकतन्त्रलाई समृद्ध र समुन्नत गर्नलाई यसको उपयोगिता त्यति ढंगले होस् ।’

सांसद गौतमले नेपाली भाषा, संस्कृति र सभ्यतामा आक्रमण भइरहेको भन्दै नेपालीको मौलिकता, स्वभाव र स्वरुप गुम्ने अवस्था रहेको बताउनु भयो । उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर विधेयक बनाउनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?